back

कांग्रेसमा प्रधानमन्त्री दाबी गर्ने संख्या बढेपछि अगाडि सरेनन् प्रचण्ड र माधव नेपाल

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म एक सय ५९ सिटको परिणाम आइसकेको छ ।

तीन क्षेत्रमा गणना जारी छ । दोलखा, बाजुरा र स्याङ्जा २ मा भने मतगणना सुरु नै हुन सकेको छैन । दोलखामा १० मतदान केन्द्रमा १५ मंसिरमा चुनाव हुँदैछ । बुथ कब्जा र धाँधली भएको भन्दै एमालेले उजुरी हालेपछि त्यहाँ पुनः मतदान हुन लागेको हो । बाजुराको बुढीनन्दा नगरपालिकामा १० मंसिरमै मतदान भइसकेको छ । अब मतगणना गर्न बाँकी छ ।

अहिलेसम्मको निर्वाचनको नतिजा हेर्दा कुनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिन्न । हंग पार्लियामेन्ट बन्ने भएको छ । निर्वाचनको प्रत्यक्षतर्फ सत्तागठबन्धनले बहुमत त ल्याएका छन्, तर समानुपातिक मतपरिणाम सार्वजनिक नभई सरकार बन्न सक्ने अवस्था छैन । तर पनि प्रमुख दलका नेताहरू प्रधानमन्त्रीको दौडमा लागेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, कांग्रेसभित्र रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा, शशांक कोइराला प्रधानमन्त्रीको दौडमा छन् । बाहिर प्रकट नभए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि प्रधानमन्त्रीको रेसमा छन् । तर, यसपटक उनलाई त्यति सहज भने छैन । यदि कांग्रेसकै नेतृत्वमा सरकार बनेमा दोस्रो कार्यकाल आफूले पाउनुपर्ने उनको दाबी छ । तर, उनले खुला रूपमा बोलेका छैनन् ।

कांग्रेसमा प्रधानमन्त्रीका लागि खासगरी देउवा, पौडेल र थापाबीच रस्साकस्सी छ । सबै नेताले आफू निकटका सांसदहरूलाई भेट्न थालेका छन् । उनीहरूको रायसुझाव लिइरहेका छन् । कांग्रेस पहिलो दल बनेकाले संविधानअनुसार स्वाभाविक रूपमा सरकारको दाबी गर्ने पहिलो अधिकार उसकै हुन्छ । त्यही भएर पनि अन्य दलका नेताहरू अघि बढेका छैनन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त तत्काल वाम गठबन्धनको सरकार बन्न नसक्ने प्रस्ट पारेका छन् । मंगलबार पार्टी कार्यालयमा चुनावी समीक्षा बैठक सकेर बाहिर सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेकै सत्तागठबन्धनले निरन्तरता पाउने बताए । उनले दोलखा, बाजुरा, स्याङ्जामा मत गन्न बाँकी रहेकाले नयाँ सरकार गठनका लागि प्रशस्त समय रहेको बताए ।

कांग्रेस महामन्त्री गगन थापा भने अब कांग्रेसमा अहिलेको पुस्ता प्रधानमन्त्रीका लागि योग्य रहेकाले अबको पाँच वर्षसम्म धैर्य गर्न नसक्ने बताउँछन् । उनले कांग्रेसमा अहिलेकै पुस्ताले प्रधानमन्त्री चलाउनुपर्ने भन्दै त्यसका लागि छलफल सुरु भइसकेको बताए । कांग्रेस नेता रामचन्द्र पौडेल भने अहिले पनि आफूले प्रधानमन्त्री बन्ने अवसर नपाए कहिले पाउने भन्दै अभियान नै अगाडि बढाएका छन् । कांग्रेसभित्रको यस्तो कलहले फेरि पनि प्रधानमन्त्रीमा देउवाले नै निरन्तरता पाउने अवस्था देखिएको छ ।

एमाले अध्यक्ष केपी ओली सत्ता गठबन्धन भंग नगरी प्रधानमन्त्री बन्न सक्ने अवस्थामा छैनन् । तर पनि उनले विभिन्न दलका नेताहरूसँग छलफल अघि बढाएका छन् ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १६:२९ मा प्रकाशित

You can share this post!

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वार्षिकोत्सवको अवसरमा नेपाल टेलिकमले ल्यायो यस्तो अफर

वि.सं.२०७९ माघ २२ आइतवार १८:२१

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज...

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

शुभम् पावरको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

वि.सं.२०७९ माघ २२ आइतवार १७:५२

काठमाडौं । शुभम् पावर लिमिटेडको आइपीओमा १ अर्ब ५० करोड...

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

नापतौल विभागद्वारा १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान

वि.सं.२०७९ माघ २२ आइतवार १७:४१

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल...

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो

वि.सं.२०७९ माघ २२ आइतवार १६:५५

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने...

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आज राजिनामा बुझाउने

वि.सं.२०७९ माघ २२ आइतवार १६:२३

काठमाडौं ।सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै...

रास्वपाले सरकारलाई समर्थन गर्ने,  मन्त्री फिर्ता बोलाउने

रास्वपाले सरकारलाई समर्थन गर्ने, मन्त्री फिर्ता बोलाउने

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...