काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई बैकसहित चार कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले ग्लोबल आएएमई बैंक, बैंक अफ काठमाण्डू, नेशनल माइक्रोफाइनान्स लघुवित्त र नाडेप लघुवित्त वित्तीय संस्थाको कारोबार खुल्ला गरेको हो ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै गत असार २ गतेदेखि दुवै कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।
त्यसैगरी नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने सम्झौता भएसँगै दुवै कम्पनीको असोज २७ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो ।
त्यस्तै नाडेप लघुवित्त वित्तीय संस्थालाई डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गाभ्ने सम्झौता पछि २०७७ पुस १७ गते देखि कम्पनीको शेयर कारोबार रोक्का थियो ।
धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यी चार कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका थिए।
सोही अनुसार नेप्सेले यी चार वटै कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आज देखि फुकुवा गरिदिएको हो । सो कम्पनीहरुको शेयर अब बुधबारदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।
वि.सं.२०७९ मंसिर २० मंगलवार १४:३४ मा प्रकाशित