
काठमाडौं । शुभम पावर लिमिटेडको आइपीओमा करिब ८ लाख जनाको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको आईपीओमा शुक्रबार साढे १ बजेसम्ममा ७ लाख ९३ हजार ७५ जना आवेदकबाट ८९ करोड ८१ लाख ७४ हजार रुपैयाँ बराबरको ८९ लाख ८१ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख ८१ हजार ८८२ कित्ता शेयरको १८.६४ गुणा बढी हो ।
कम्पनीले माघ १८ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आइपीओ जारी गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको सेयर थप गरि सर्वसाधारण लागि छुट्याएको थियो । जसअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।
यो मध्ये १० प्रतिशत अर्थात् ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । ५ प्रतिशत अथवा २९ हजार ३० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ११ हजार ६१० कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।
यसमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
वि.सं.२०७९ माघ २० शुक्रवार १५:३४ मा प्रकाशित