
काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव कार्यक्रम आज (२०७९ माघ २२ गते) सम्पन्न गरेको छ । कम्पनीको १९औं वार्षिकोत्सवको अवसरमा एनटी एनीभर्सरी अफर उपलब्ध गराइएको छ ।
यस अन्तर्गत रु. २९४ मा १० दिनका लागि २० जीबी डाटा, रु.९८ मा ३ दिनका लागि ६ जीबी डाटा र रु.४९ मा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ ।
यसैगरी रु. २०० देखि रु. ४९९ को रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ ।
यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि रु. १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभी सहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फाल्गुन २९ गते सम्मका लागि उपलब्ध गराइएको छ ।
वार्षिकोत्सवकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी र सामुदायिक विद्यालय, धार्मिक, पुरातात्विक, पर्यटकीय स्थल, वसपार्क, एयरपोर्ट, अस्पताल लगायतका महत्वपूर्ण सार्वजनिक स्थलहरु, वृद्धाश्रम र बाल आश्रमहरु, आमा समूहहरु, दैवी प्रकोपबाट प्रभावित सर्वसाधारणहरुलाई कम्पनीका तर्फबाट सहयोग गर्ने कार्यक्रमहरु रहेका पनि उहाँले बताउनु भयो ।
यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक, वरिष्ठ मूर्तिकार श्री ठाकुरप्रसाद मैनालीज्यूलाई सम्मान–पत्र र कम्पनीका विभिन्न सेवाहरु निशुल्क उपलब्ध गराउनुका साथै कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
साथै, आज कम्पनीको १९औं वार्षिकोत्सवको अवसर पारेर कम्पनीद्वारा फाइभजीको परीक्षण (त्भकतष्लन) को शुरुवात समेत गरिएको छ । विभिन्न मोबाइल सेट निर्माता कम्पनीहरुसँग उक्त कम्पनीहरुको सेटमा फाइभजी परीक्षण गर्नको लागि समन्वय भइरहेको छ ।
वि.सं.२०७९ माघ २२ आइतवार १८:२१ मा प्रकाशित