back
NMB ad

सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर   

Kumari bank ad

काठमाडौँ, १० जेठ
सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन ।

मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ । त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत हौसला प्रदान गर्ने धेरै हुनुहुन्छ ।

म कुनै समय विक्षिप्त भइ आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिए । रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर त्यसबाट बाहिर निस्किर आज यो अवस्थामा आइपुग्न साथ दिने सबै मेरो यो सफलतामा म जत्तिकै हकदार हुनुहुन्छ ।

हामी नेपालीहरु सगरमाथा, बुद्ध र गोरखालीको देशका रुपमा विश्वभर परिचित छौँ । यी तीन वटै कुरामा म व्यक्तिगत रुपमा जोडिएको छु । स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौँ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो । तर करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगे । त्यहाँ केही समय सेवारत भए । सेवाकै क्रममा अफगानिस्तान तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगे । फलस्वरुप मेरा घुँडासम्मका दुवै खुट्टा गुमे ।

घाइते भएपछि मेरा पीडाका दिन सुरु भए । शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो । मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन पटक धिक्कारेको छु । अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिए ।

त्यही बेला पीडा भुलाउन रक्सी बाहना बन्यो । करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो । यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो । हरेक दिन रक्सी अनिवार्य जस्तै बन्यो । कतिपटक आत्महत्या गर्ने सोच पलायो अहिले भन्न सक्दिन । तर आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु ? भन्ने सोचले आत्महत्या पनि गर्न सकिन ।

लामो समयसम्म रक्सीको लतमा फसेपनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो । घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो । म आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराए । यो मेरो जीवन परिवर्तन गर्न सहयोगी बन्यो । यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगे ।

एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो । विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो । यसबीच मैले माउन्टेनरिङसम्बन्धी तालिम लिएँ । माउन्टेन प्रशिक्षक भएर काम पनि गरेँ । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बने । तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगे ।

हाइ अल्टिच्युडमा कस्तो हुन्छ ? शारीरिक रुपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो । स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थाले । जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका म जस्तै १२÷१५ जना साथीहरुका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ । यी सबै अनुभवले मलाई इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने पाठ सिकायो ।

मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो । मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ । तर सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो । यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो । सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिन । त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकलियो । तर यसपटक भने सफल भएँ । मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस ? म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ ।

यसअघि मैले मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका हिमाल आरोहण गरिसकेको छु । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि मेरो नाममा छ ।

 आधार शिविरमा १८ दिन    
सगरमाथा आरोहणका क्रममा हामी अप्रिल ५ मा मेरापिक बस्यौँ । दुई पटक मेरापिक चढेपछि हामी सगरमाथाको आधार शिविर पुग्यो । मौसम बिग्रिएकाले आधार शिविरमा १८ दिन बस्यौ । मौसम सफा हुँदै गएपछि दोस्रो आधार शिविरतर्फ लाग्यौँ । त्यहाँ मौसमले साथ नदिएपछि म पहिलो आधार शिविर फर्किए । साथीहरुले त्यहीँ बसेर अन्य व्यवस्थापकीय काममा जुट्नुभो । जब मौसम अनुकुल भयो हामी सगरमाथा चढ्न सक्यौँ । सगरमाथा आरोहणमा निकै ठूलो पीडा भोग्यौँ । समूहका सबै साथीहरु चुचुरोसम्म पुग्न सक्नुभएन । सगरमाथा चुचुरोबाट धेरै फोटो खिच्ने र त्यहाँबाट हिमालहरु हेर्ने सपना भने मौसम बिग्रिएकाले पूरा हुन सकेन ।

अब मैले बाँकी जीवन सामाजिक काममा सक्रियताक साथ बिताउने योजना बनाएको छु । पुरानो उपलब्धिका आधारमा सामाजिक कार्यमा सक्रिय हुनेछु । मलाई जस्तै अवस्था अरुलाई नआओस् भन्ने चाहना छ ।

अब फाउन्डेसनमार्फत सशक्तिकरणमा लाग्ने योजना बनाएको छु । यसमार्फत एकजनाको मात्रै जीवनमा सुधार ल्याउन सकियो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ । अवसरबाट वञ्चित र साहसिक कार्यप्रति रुचि भएकालाई हौसला दिने योजना बनाएको छु ।

ममा अझै पनि खुट्टा गुमाउँदाको पीडा ठूलो छ । युद्धका कारण मैले दुवै खुट्टा गुमाएको छु । युद्धका कारण मेरो जीवनमा परेको असर म भुल्न सक्दिन । त्यसैले विश्वमा अशान्ति मच्चाउनेहरुलाई सगरमाथाको शीरबाट शान्तिको कामना गर्न चाहन्छु ।

कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाउनुभएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगर आरोहण सकेर मङ्गलबार काठमाडौ फर्किएर पत्रकार सम्मेलनमार्फत आफ्नो अनुभव सुनाउनुभएको हो ।

बुढामगरलाई कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड बनाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर बधाई दिनुभयो । बुढामगरले जेठ ५ गते अपराह्न ३ः१० बजे सगरमाथाको सफल आरोहण गरी कृत्रिम खुट्टाको बलमा सगरमाथा चढ्ने पहिलो व्यक्तिका रुपमा विश्व रेकर्ड बनाउनुभएको थियो ।

यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ ।

कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झन्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।

(सगरमाथा आरोहण गरी हिजो काठमाडौँ फर्केपछिको कुराकानीमा आधारित उहाँको अनुभव राष्ट्रिय समाचार समिति (रासस) समाचारदाता सिबी अधिकारीले प्रस्तुत गर्नुभएको हो ।)

वि.सं.२०८० जेठ १० बुधवार १६:५२ मा प्रकाशित

You can share this post!

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

आगामी आर्थिक वर्षका लागि बजेट लेखन समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:५१

काठमाडौँ, १६ चैत : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२...

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४५

काठमाडौँ, १६ चैत : लोकेश बमले उत्कृष्ट ब्याटिङ गरेता पनि...

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय   

वि.सं.२०८० चैत १६ शुक्रवार १९:४१

काठमाडौँ, १६ चैत : सरकारले विकास आयोजनाका लागि राष्ट्रिय वनको...

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...