काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई कम्पनीबीच मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन्।
युनाइटेड इन्स्योरेन्सको एक सय कित्ता सेयर बराबर अजोडको ८२.५ कित्ता हुने गरी अर्थात् १००ः ८२.५को अनुपातमा मर्जर भएका हुन् । अजोड इन्स्योरेन्सले प्रभु इन्स्योरेन्ससँग मर्जर तोडेर युनाइटेडलाई रोजेको थियो ।
हाल युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड छ भने अजोडको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । मर्जरपछि बोनस सेयर वितरण गर्ने र त्यसले पनि नपुगेको पुँजीका लागि हकप्रद सेयर जारी गर्ने कम्पनीको तयारी छ ।
यी दुई कम्पनीबीच २०७९ पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल बिमा प्राधिकरणले यी दुई कम्पनीलाई पुस २९ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो ।
मर्जरपछि अजोडका अध्यक्ष आजाद श्रेष्ठलाई अध्यक्ष बनाउने सहमति भएको छ भने एकीकृत कम्पनीको सीईओ भने श्रवण रावललाई बनाईएको छ ।
वि.सं.२०८० जेठ १४ आइतवार ११:०० मा प्रकाशित