back

प्रधानमन्त्रीको भारत भ्रमण : ऊर्जा व्यापारमा ऐतिहासिक सहमति  

लगानी बोर्ड नेपाल र भारतको एसजेभीएन लिमिटेडबीच आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) आदानप्रदान भएको छ । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एसजेभीएन लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक नन्दलाल शर्माले आ–आफ्नो संस्थाको तर्फबाट पीडीए आदानप्रदान गर्नुभयो । तस्विर सौजन्य : लगानी बोर्डको फेसबुक पेजबाट साभार

रमेश लम्साल  (रासस)
नयाँ दिल्ली, १८ जेठ । भारतले आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको छ । यस्तै, माथिल्लो तामाकोशीलगायतका आयोजनाको बिजुलीसमेत खरिद गर्ने भएको छ । यो आफैँमा महत्वपूर्ण सहमति हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुली व्यापारमा त यो ऐतिहासिक ‘ब्रेक थ्रु’ नै हो । बुधबार भारतको औपचारिक भ्रमणमा आउनुभएका प्रधानमन्त्रीले आज उहाँका भारतीय समकक्षीदेखि यहाँका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुभयो ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको नेपाल बिजनेश समिटलाई समेत सम्बोधन गर्नुभयो । भ्रमणका क्रममा केही ऐतिहासिक र दूरगामी महत्वका विषयमा सहमति र समझदारी भएका छन् । जुन नेपालको समग्र आर्थिक विकास र समृद्धिका लागि कोसे ढुङ्गा सावित हुनेमा कुनै दुविधा नरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

प्रधानमन्त्रीले आज हैदरावाद हाउसमा आफ्ना समकक्षीका बीचमा गर्नुभएको छलफलपछि विभिन्न सात वटा विषयमा सहमति भएका छन् । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली जलविद्युत् आयोजना, रेल्वे लाइनको उद्घाटन, एकीकृत जाँचचौकी, दोधारा चाादनीमा सुक्खा बन्दरगाहको निर्माण, पेट्रोलियम पाइप लाइनको निर्माण र तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) छन् । यस्तै, नेपालले हवाई मार्गका सम्बन्धमा राखेको विषयमा समेत महत्वपूर्ण सहमति भएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

यस्तै, नेपालको बिजुली बङ्गलादेश निर्यात गर्ने विषयमा समेत महत्वपूर्ण समझदारी बनेको छ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको र त्यसमा भारतको सहमतिसमेत खोजिरहेको अवस्थामा आजको सहमति त्रिदेशीय विकासका लागि समेत महत्वपूर्ण परिघटना बन्न पुगेको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग स्पष्ट शब्दमा सीमा समस्या समाधानका लागि आग्रह गर्नुभएको छ । नेपाल र भारतका बीचमा सीमा समस्या छन् । ती समस्या समाधानका लागि दुवै प्रधानमन्त्रीको सहमति छ । प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा नै आफूले आफ्ना भारतीय समकक्षीसँग सीमा समस्या समाधानका लागि अनुरोध गरेको जानकारी दिनुभएको थियो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल ग¥यौँ । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।” भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल र भारतबीचको सम्बन्ध हिमालय जतिकै उच्च रहेको विश्लेषण गर्नुभयो । उहाँले भन्नुभयो, “हामी आफ्नो सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौँ । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौँ ।”

प्रधानमन्त्रीको भारत भ्रमणपछि वर्षौंदेखि थाँती रहेका विषय क्रमशः समाधानको दिशामा अग्रसर भएका छन् । दुई देशका बीचमा नयाँ आधारमा सम्बन्धको सुरुआत भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । आज साँझ प्रधानमन्त्री प्रचण्ड बस्नुभएको होटल आइसी मौर्यमा आयोजित कार्यक्रममा भारतका सङ्घीय मन्त्री पियूष गोयलले पनि नेपाल र भारतबीचको सम्बन्ध सीमा, भूराजनीतिले निर्धारण नगर्ने, बरु हामी एकै परिवारका सदस्य भएको बताउनुभयो ।

नेपाल र भारतबीचको सम्बन्ध ठूलो दाजु र भाइको जस्तो नभई पारस्परिक विश्वास र सम्मानमा आधारित रहेको बताउनुभयो । दुई देशा प्रधानमन्त्रीबीच आज भएको छलफलले नयाँ विश्वास र सद्भावको आधार बनाएको उहाँको भनाइ थियो ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही प्राथमिकतामध्येको समृद्धिको कार्यसूचीलाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नयाँ आयाम थपेको भन्दै नेपालका उद्योगी व्यवसायीसमेत प्रसन्न भएका छन् ।

बिजुली व्यापारमा सम्बन्धमा भएको पछिल्लो सहमतिले नेपालमा ऊर्जाको क्षेत्रमा थप लगानी भित्रने उनीहरुको भनाइ छ । महासङ्घका अध्यक्ष ढकालले पनि बिजुली व्यापारका सम्बन्धमा आजको सहमति आफैँमा महत्वपूर्ण भएको बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणले चालु आवमा नै बिजुली बिक्री गरेर एउटा तथ्य स्थापित गरिसकेको बताउँदै आजको सहमति पछि थप नयाँ आधार तयार हुने र नेपालको समृद्धिको दिन धेरै टाढा नभएको बताउनुभयो ।

यस्तै नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको सन्दर्भ जोड्दै भारतीय प्रधानमन्त्रीले त्यसलाई थप बलियो बनाउने बिताउनुभएको थियो । उहाँले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभएको थियो, “यो सुन्दर क्षणलाई अझ बढी महत्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउनु पर्छ ।” नेपाली उद्योगी व्यवसायी, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर चार दिने भारत भ्रमणमा आउनुभएका प्रधानमन्त्री प्रचण्डको यस पटकको यात्राले नयाँ आयाम थपेको जानकारको टिप्पणी छ ।

वि.सं.२०८० जेठ १९ शुक्रवार ०७:३४ मा प्रकाशित

You can share this post!

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...