back
NMB ad

नेपालको वैदेशिक रोजगार र विप्रेषणको सन्देश

Kumari bank ad

नेपालको अर्थतन्त्र चलायमान बनाउन विप्रेषण (रेमिट्यान्स)को महत्वपूर्ण भूमिका रहेको छ । अर्थतन्त्रको कूल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान करिब ३० प्रतिशत रहेको छ । नेपालका करिब ६० प्रतिशत घरधुरीले विप्रेषणको उपयोग गरिरहेका छन् । संस्थागत माध्यमबाट आर्थिक वर्ष २०७९/८० मा १२ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिएको देखिन्छ । कोभिड–१९ पछि खस्केको विश्वबजार र बेरोजगारीले नेपाललाई अझ बढी मारमा पारेको देखिन्छ ।

नेपालमा श्रम गर्न योग्य श्रम शक्ति ६४.५ प्रतिशत देखिन्छ जुन हाम्रो लागि महत्वपूर्ण हो । अझ प्रत्येक बर्ष ५ लाख बढी युवा श्रम बजारमा प्रवेश गर्दछन् । तर अहिलेको अवस्था हेर्ने हो भने हाम्रो बजारले १ लाख कामदारलाई पनि पूर्ण रोजगारी दिन सक्ने अवस्था देखिँदैन । त्यसैले नेपाली श्रमिकहरुलाई पूर्ण रोजगारीको ग्यारेन्टी नहुँदा र राम्रो रोजगारीको लागि वैदेशिक रोजगारीमा जाने सङ्ख्या ह्वात्तै बढेको छ । आर्थिक वर्ष २०७९/८० को वैशाखसम्मको रेकर्ड हेर्ने हो भने अनुमति लिएर गएकाको सङ्ख्या मात्रै ५० लाख बढी देखिन्छ । आज विदेशबाट पुनः फर्कनेको सङ्ख्या हेर्ने हो भने करिब ७ लाख देखिन्छ ।

नेपालको वैदेशिक रोजगारीको इतिहास निकै पुरानो छ । भारत, बेलायत, सिङ्गापुर लगायतका मुलुकमा सेना र प्रहरी वा अन्य श्रमका लागि नेपाली युवाहरु रोजगारीका लागि जाने प्रचलन पुरानै हो । त्यसो त उतिबेला नेपालमा वैदेशिक रोजगारीभन्दा पनि लाहुर जाने वा मुग्लान जाने नाममा युवाहरु विदेश जाने गरेका थिए । तर वैदेशिक रोजगारीका लागि नै भनेर युवाहरु विदेशी श्रम बजारमा जान थालेको भने करिब साढे चार दशक जति मात्र भएको छ ।

सन् १९९० पछि नेपालमा भएको राजनीतिक परिवर्तनसँगै नेपालीहरुको लागि सहज रुपमा वैदेशिक रोजगारीको अवसर खुलेको हो । श्रम ऐन २०४२ र २०४८ को परिवर्तनसँगै संस्थागत रुपमा वैदेशिक रोजगारमा जान शुरूवात गरिएको देखिन्छ । बिशेषत नेपालमा माओवादी द्वन्द्वको सुरुवातसँगै वैदेशिक रोजगारीमा जाने सङ्ख्या ह्वात्तै बढेको पाइन्छ । स्वीकृति लिएर वैदेशिक रोजगारमा गएकाको तथ्याङ्क हेर्ने हो भने करिब ५० लाख देखिन्छ तर पछिल्लो जनगणनाको तथ्याङ्कअनुसार भारत बाहेकका देशमा वैदेशिक रोजगारमा काम गरिरहकाको सङ्ख्या २५ लाख रहेको देखाउँछ ।

वैदेशिक रोजगारमा पठाउने प्रक्रिया
वैदेशिक रोजगारीमा कामदार पठाउने प्रक्रियाका लागि सरकारले इजाजत पत्र दिएको छ । अहिले करिब ९०० वटा इजाजत प्राप्त कम्पनीहरुले वैदेशिक रोजगार व्यवसाय गर्न सरकारबाट अनुमति लिएर कार्य गर्दै आएका छन् । यससँगै स्वास्थ्य परीक्षण गर्ने, अभिमुखीकरण तालिम दिने, बीमा गर्ने, सीप विकास तालिम दिने र यो व्यवसायसँग जोडिएर सञ्चालनमा रहेका साना ठूला व्यवसाय समेत गर्दा यो क्षेत्र निकै फराकिलो बन्दै गएको छ । यसले उल्लेख्य मात्रामा राजश्वमार्फत राज्यकोषमा टेवा पु¥याईरहेको छ । निजी क्षेत्रमा सञ्चालित म्यानपावर कम्पनी, मेडिकल व्यवसाय, अभिमुखीकरण लगायत क्षेत्रमा करिब एक लाख नेपालीले प्रत्यक्ष वा परोक्षरूपमा रोजगारी पाइरहेको अवस्था छ ।

देशका ७७ जिल्लाबाट वैदेशिक रोजगारीका लागि राजधानी आउनुपर्ने बाध्यताका कारण स्थानीय स्तरदेखि केन्द्रसम्म सार्वजनिक यातायात, होटेल, लज, पिसीओ, फोटोकपी, फोटो स्टुडियोलगायत अप्रत्यक्ष व्यवसाय पनि फस्टाएको छ । वैदेशिक रोजगारीका धेरै राम्रा पक्षहरू पनि छन् । वैदेशिक रोजगारीबाट नेपालमा विप्रेषण आयसँगै विदेश जानेहरूमा ज्ञान, सीपमा वृद्धि हुनुका साथै व्यवहारमा समेत परिवर्तन आएको छ ।

वैदेशिक रोजगार विप्रेषणको सकारात्मक सन्देश
विदेशको आर्जनले पराले झुपडीहरूमा जस्ता पाता टल्किएका छन् । शहरमा घर घडेरी खरिदका साथै आफ्ना बालबच्चाहरूलाई गुणस्तरीय शिक्षा दिने सोचको विकास भएको छ । विदेशमा सिकेको सीप र रकम उपयोग गरी स्वदेशमै आयमूलक व्यवसाय गर्ने संस्कृतिको विकास भएको छ । समग्रमा विदेशमा गएकाहरूमा आर्थिक सवलीकरण क्रमशः वृद्धि हुँदै गएको पाइन्छ । यससँगै विप्रेषण आयबाट मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुगिरहेको तथ्याङ्कहरूले नै बोलिरहेका छन् ।

वैदेशिक रोजगारका विकृति
वैदेशिक रोजगारीमा राम्रा पक्ष मात्र होइन नराम्रा पक्ष पनि त्यत्तिकै धेरै पाइन्छ । वैदेशिक रोजगारीले खासगरी पारिवारिक र सामाजिक जीवनमा नराम्रो असर पारेको छ । समाजमा हुने सम्बन्ध बिच्छेदको घटनाले विकराल रूप लिँदै गएको छ । बाबु आमाको सम्बन्ध बिच्छेदले बालबालिकाहरूको पालनपोषण र शिक्षा–दीक्षा सङ्कटमा पर्न गई उनीहरूको भविष्य अन्योलमा पर्न गएको छ भने बाबुआमाको गलत व्यवहार र खराब आचरणहरूले बालबच्चाको मानसपटलमा नकारात्मक प्रभावसमेत पर्दै गएको छ ।

यस्तै आम्दानीको दुरूपयोगजस्ता घटना लगायत विकृति पनि बढ्दै गएको छ । यससँगै स्थानीय स्तरमा श्रमिकको अभावमा कृषि उत्पादनमा ह्रास आउनुका साथै प्रशस्त जमिन बाँझै बसेको छ । गाउँघरमा बृद्धबृद्धा मात्र हुँदा मान्छे मर्दा लाश उठाउने मानिससमेत पाउन छाडेको छ । विदेशिएका युवायुवतीहरूमा बाहिरी संस्कृतिको प्रभावले गर्दा आफ्नो देशको धर्म संस्कार र संस्कृतिमा धक्का पुगेको पाइन्छ । बाबु आमा र छोराछोरीबीचको सम्बन्ध टाढिँदै जानु, विलासी जीवन विताउनुजस्ता विषय वैदेशिक

रोजगारीका नराम्रा पक्षका रूपमा देखिएको छ ।
त्यस्तै वैदेशिक रोजगारीका क्रममा विदेश जाँदा वा विदेशबाट फर्किदा ठगिने, लुटिने, अपहरणमा पर्ने जस्ता सुरक्षासँग सम्बन्धित समस्या बेग्लै छ । विदेशमा पसिना बगाएर आर्जन गरेको पैसाले परिवारको मुहार हँसिलो बनाउने सपना बोकेकाहरू ठगिने, लुटिने र अपहरणमा पर्ने घटना पनि पटक–पटक हुँदै आएका छन् । राज्यले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन नसक्दा यस किसिमका घटनाहरूले निरन्तरता पाइरहेका छन् । राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित नबनाउने हो भने विकृति, विसङ्गति थप मौलाउँदै जाने र अति भएपछि नियन्त्रण गर्न मुश्किल हुने निश्चित छ । ७० प्रतिशत अदक्ष कामदार जाने गरेको वैदेशिक रोजगार हाम्रो लागि चुनौतिपूर्ण छ । अहिलेको शुन्य लागतको कारण ठगी बढेको छ । विशेष गरेर सरकारले वैदेशिक रोजगारमा जाँदा दक्ष कामदार तयार पार्ने योजना ल्याउनु पर्ने देखिन्छ । त्यसको लागि दक्ष जनशक्ति उत्पादन गर्न ठूलो लगानी र अन्तर्राष्ट्रिय ख्याति प्राप्त तालिम दिने शिक्षालय नेपालमा भित्र्याउन जरुरी छ । वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन सरकारी नीति र नियम प्रष्ट हुनुपर्दछ ।

व्यवसायलाई परेको अप्ठ्यारो र गर्नुपर्ने सुधार
वैदेशिक रोजगारमा जाने कामदारलाई सुलभ र राम्रो सेवा दिनु आवश्यक छ । अहिले शुन्य लागतको कारण ठगी बढेको छ । यसको समाधान एवम् त्यसलाई व्यवस्थित, मर्यादित बनाउन जाने कामदारलाई राम्रो सूचना प्रवाह गर्दै व्यवसायीको सेवा शुल्क निर्धारण गर्नुपर्दछ । व्यवसायीको माग सम्बोधन गरेर जानुुपर्दछ । चर्काे लागतको कारण श्रमिकलाई भार पर्नाले यो क्षेत्र व्यवस्थित हुन नसकेको हो । सरकारले प्रष्ट नीति बनाएर व्यवसायीलाई मर्यादित बनाउन भूमिका खेल्नुपर्दछ । अन्य मुलुकको वैदेशिक रोजगारीमा मानव संशाधन पठाउने कार्य अर्थात् अन्तर्राष्ट्रिय अभ्यास हेरेर नेपालमा पनि अगाडि बढ्नुपर्दछ ।

व्यवसायीलाई पनि कामदारको हितको निमित्त विदेशमा आफ्नो कार्यालय व्यवस्थित गरेर समस्या परेको बेला काम गर्न सक्ने बनाइनुपर्दछ । व्यवसायीलाई जिम्मेवार बनाउनै पर्ने खाँचो छ तर भएका अप्ठ्यारो सरकारले फुकाइदिनुपर्ने देखिन्छ । विदेशबाट कामदारको माग प्रमाणीकरण गर्दा सहजीकरण गर्ने ऐन, नियमहरुलाई प्रभावकारी र समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता छ । अहिले प्रक्रियामा अल्झिरहनु परेका कारण कामदारको समस्या र व्यवसायीको भूमिका कमजोर भएको हो । वैदेशिक रोजगार ऐन २०६४ काम नलाग्ने भइसकेको छ । यसलाई समयसापेक्ष परिवर्तन गरेर सरकारले सहजीकरण गरिदिनुपर्दछ ।

वैदेशिक रोजगारीको जति नकारात्मक टिप्पणी गरे पनि कोभिड–१९ पछि विश्वबजार नै सिथिल भएको अवस्था र देशमा भएको चरम बेरोजगारी समस्यालाई सम्बोधन गर्न अहम् भूमिका छ । यी विषय अन्देखा गर्नुभएन । विश्व बजारको आकर्षक रोजगारीलाई स्वीकृति दिएर सहज ढङ्गले कामदार वैदेशिक रोजगारीमा पठाउने अवस्था हुनुपर्दछ । अहिले प्राप्त विप्रेषणलाई राज्यले लगानी गर्ने स्थिति सिर्जना गर्नुपर्ने देखिन्छ । लगानीमैत्री वातावरणसहितको दीर्घकालीन योजना सरकारको हुनुपर्दछ । बर्षेनी प्राप्त हुने करिब १३ खर्ब रुपैयाँको कम्तीमा पनि २० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्न सक्यौं भने विस्तारै नेपालमै रोजगारीको सिर्जना भएर स्वदेशी रोजगारमा मानिसलाई आकर्षित गराउन पनि सकिन्थ्यो होला ।

निष्कर्षमा वैदेशिक रोजगारीको विकल्प तयार नहुञ्जेल यसको प्रक्रियालाई सहजीकरण गर्नैपर्दछ । सरकारको प्रष्ट नीति नहुँदा विचौलियाले फाइदा लिने र अवैधानिक तवरबाट विदेश जाने क्रम पनि बढिरहेको छ । नेपालकै एअरपोर्टबाट भिजिट भिसालगायत अन्य किसिमका मिलेमतोमा जाने कार्यलाई छानबिन गरि सरकारले इजाजत दिएका संस्थाबाट संस्थागत श्रम स्वीकृत लिएर जिम्मेवार तरिकाले पठाए मात्र नागरिक र राज्य दुवैको हित हुनेछ ।
                                                       भण्डारी वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।

वि.सं.२०८० साउन २७ शनिवार १७:२९ मा प्रकाशित

You can share this post!

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:४५

काठमाडौँ, ११ असार : अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

वि.सं.२०८१ असार ११ मंगलवार १७:३७

काठमाडौं । प्रभु बैँकका कर्मचारीहरुलाई लक्षित गर्दे हरिसिद्धि, ललितपुरमा अवस्थित...

मनप्रिय मनाङ   

मनप्रिय मनाङ   

वि.सं.२०८१ असार ११ मंगलवार १७:१७

रामबहादुर थापा गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला...

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइनेछः अर्थमन्त्री पुन   

वि.सं.२०८१ असार ११ मंगलवार १७:११

काठमाडाैँ, ११ असारः अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको...

आर्थिक विधेयक स्वीकृत   

आर्थिक विधेयक स्वीकृत   

वि.सं.२०८१ असार ११ मंगलवार १७:०४

काठमाडाैँ, ११ असारः प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले...

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

दुई करोड लुटेको आरोपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ   

वि.सं.२०८१ असार ११ मंगलवार १६:५९

काठमाडौँ, ११ असार : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...