back
NMB ad

बेरुजु फछ्र्यौट र आर्थिक पारदर्शिताका लागि लेखा समितिले भूमिका खेल्नुपर्नेमा जोड   

Kumari bank ad

काठमाडौँ, १९ भदौ : बर्सेनि बढिरहेको सरकारको बेरुजु घटाउँदै लैजान र सरकारका आर्थिक गतिविधिलाई मितव्ययी तथा पारदर्शी बनाउन सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको भूमिका महत्वपूर्ण हुनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ । सरकारको आर्थिक कारोबार माथिको निगरानी र वित्तीय अनुशासन पालना गराउन भूमिका खेल्नुपर्ने धारणा लेखा समितिको आजको बैठकमा सांसदहरुले राख्नुभएको हो ।

लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकारी बेरुजु बढ्नाका कारण र यसलाई घटाउनका लागि चाल्नुपर्ने कदमबारे सरकार तथा सम्बन्धित मन्त्रालयमार्फत जानकारी लिनुपर्ने बताउनुभयो । अबका दिनमा लेखा समितिले आफ्ना गतिविधि कसरी बढाउने भन्नेबारे आजको बैठक केन्द्रित छ ।

सांसद योगेशकुमार भट्टराईले सार्वजनिक लेखा समितिले सरकारका आर्थिक गतिविधिमाथि निगरानी गर्ने र आवश्यक पर्दा कारबाहीका लागि निर्देशन दिनसक्नुपर्ने बताउनुभयो । सुशासन र पारदर्शिताको कमीका कारण अहिलेको व्यवस्थाप्रति जनतामा वितृष्णा जागिरहेकाले जनताको विश्वास जित्नका लागि समितिले भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । राष्ट्रिय मान्यता पाएका दलका आम्दानी र खर्च हेर्न पाउने अधिकार पनि लेखा समितिलाई दिइनुपर्ने सांसद भट्टराईको भनाइ थियो । गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) का आर्थिक क्रियाकलाप पारदर्शी हुन नसकेको र उनीहरुले गर्ने खर्च सरकारी लेखा प्रणालीमा आउन नसकेकामा लेखा समितिले यो विषयलाई गम्भीर रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

सांसद डा अमरेशकुमार सिंहले आर्थिक पारदर्शिता कायम गर्ने विषयमा लेखा समितिको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । दशकौँदेखि फछ्र्यौट हुन नसकेका बेरुजुलाई छुट्याएर त्यसलाई टुङ्ग्याउनतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ ।

सांसद तारा लामा तामाङले सरकारका कामकाजमा आर्थिक अनुशासन पालना र पारदर्शिता कायम गर्नका लागि लेखा समितिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । जनताको सो अपेक्षा पूरा हुन नसकेको उहाँको भनाइ छ ।

सांसद सञ्जयकुमार गौतमले लेखा समितिको यो कार्यकाल बेरुजु फछ्र्र्याैट गर्ने र वित्तीय सुशासन कायम गर्नेमा सफल हुने अपेक्षा राखेको बताउनुभयो ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले लेखा समितिको पहिलो बैठकमै केही सांसद अनुपस्थित भएको र उपस्थित भएका सांसद बैठक अवधिभर बस्न नसकेको प्रसङ्ग उठाउनुहुँदै समितिका कामको प्रभावकारितामाथि प्रश्न उठाउनुभयो । त्यस्तै विकास आयोजनाको प्राविधिक लेखा परीक्षण हुनुपर्ने उहाँको भनाइ छ । बैठक नियमित हुनुपर्ने र समितिका कामको प्रभावकारिता देखिनुपर्ने सांसद बाँस्कोटाले बताउनुभयो । लेखा समितिमा परेका सबै उजुरीमाथि छलफल गर्नेभन्दा पनि कुन उजुरीउपर समितिमा छलफल गर्ने भन्ने प्राथमिकता निर्धारण गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद अच्युतप्रसाद मैनालीले हालसम्म देखिएको सरकारको बेरुजु घटाउँदै लैजाने र नयाँ बेरुजु थपिन नदिने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

सांसद श्यामकुमार घिमिरेले अहिले नेपालले सङ्कलन गर्ने कूल राजस्वभन्दा कम देखिनु लज्जास्पद विषय रहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयले औँल्याएका सबै विषयमाथि समितिमा छलफल गर्नेभन्दा पनि बढी अनियमिता र अपारदर्शी देखिएका विषय छनौट गरेर समितिले काम गर्नेपर्ने उहाँको भनाइ छ ।

सांसद हरि ढकालले सिंहदरबारभित्रै बेथितिको पराकाष्ठा देखिने गरेको बताउनुभयो । बीमा संस्थान, विशालबजार कम्पनी, खाद्य व्यवस्था व्यापार कम्पनीलगायत सरकारी लगानीका संस्थानको लेखा परीक्षण हुन नसकेको, बिग्रेर कवाडी अवस्थामा पुगेका सवारीसाधन सिंहदरबारभित्र थन्किएको तर ती सवारीसाधनको इन्धन सुविधा तथा मर्मतसम्भार खर्च भने भुक्तानी भइरहेको देखिएको उहाँको भनाइ छ । यस्ता समस्या समाधानका लागि लेखा समितिले सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने सांसद ढकालले बताउनुभयो ।

सांसद रामकृष्ण यादवले बेरुजु फछ्र्यौटका लागि समितिले सक्रियताका साथ काम गर्नुपर्ने र सबै विषयगत मन्त्रालयलाई बोलाएर बेरुजु बढ्नुको कारणबारे जानकारी लिनुपर्ने धारणा राख्नुभयो ।

समितिका पूर्वसभापति भरत शाहले सरकारले गर्ने खर्चमाथिको निगरानी गर्ने जिम्मेवारी सार्वजनिक लेखा समितिको रहेको उल्लेख गर्नुभयो । संसारका अरू देशले जोखिममा आधारित लेखापरीक्षण गर्ने गरेकामा नेपालमा पनि यो लागू हुनुपर्ने र जहाँ बढी समस्या छ त्यहाँ लेखापरीक्षण बढी केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

सङ्घीय संसद् सचिवालय सचिव डा रोजनाथ पाण्डेले गैरसरकारी सङ्घसंस्थाले गर्ने बजेट खर्च सरकारको वार्षिक बजेटमा परेको तर सरकारी कोषमा नपर्ने गरेको बताउनुभयो ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका विषय, सार्वजनिक वित्तको लेखापरीक्षण तथा समितिमा पर्ने उजुरीका विषय सार्वजनिक लेखाले प्रभावकारी रूपमा हेर्नुपर्ने बताउनुभयो । सरकारको आय–व्यय तथा वित्तीय विवरणलाई मूल आधार बनाएर आर्थिक अनुशासन कायम गर्नका लागि लेखा समितिले काम गर्नुपर्ने उहाँको भनाइ छ । अहिले रु साढे नौ खर्बभन्दा बढी बेरुजु रहेकामा त्यसलाई घटाउनका लागि लेखासमितिले महत्वपूर्ण भूमिका रहनुपर्ने सचिव अर्यालको सुझाव छ । महालेखा परीक्षक कार्यालयका पछिल्ला दुई प्रतिवेदन लेखा समितिमा छलफल नै हुन नसकेको र ती प्रतिवेदनले औँल्याएका बेरुजु फछ्र्यौट हुन नसकेको उहाँले बताउनुभयो ।

वि.सं.२०८० भदौ १९ मंगलवार १४:४४ मा प्रकाशित

You can share this post!

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन, राष्ट्रिय झण्डा आधा झुकाउने

वि.सं.२०८१ साउन ९ बुधवार १८:३८

काठमाडौं । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन...

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

सौर्य एयरलाइन्स दुर्घटना : १८ जनाले गुमाए ज्यान (सूचिसहित)  

वि.सं.२०८१ साउन ९ बुधवार १८:२७

काठमाडौँ, १० साउन : सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाले...

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

जुलाई २२ विश्वकै सबैभन्दा तातो दिनको रूपमा रेकर्ड   

वि.सं.२०८१ साउन ९ बुधवार १७:५०

पेरिस, ९ साउन : युरोप, एसिया र उत्तर अमेरिकाका अधिकांश...

ज्योति विकास बैंकको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंकको १६औं वार्षिकोत्सव समारोह सम्पन्न

वि.सं.२०८१ साउन ९ बुधवार १७:४५

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको...

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

टेलिकमद्वारा उच्च गतिको एफटीटीएच इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुबिधा

वि.सं.२०८१ साउन ९ बुधवार १७:३९

काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च...

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव   

वि.सं.२०८१ साउन ९ बुधवार १६:५१

काठमाडौँ, ९ साउन : राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आएको विद्युतीय...