back

नेपाली पर्यटनको आँखी झ्याल : परिवेश, भविष्य र गर्नुपर्ने काम

Kumari bank ad

हरिशरण न्यौपाने
नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको खानी हो । बहुजाति, बहुभाषिक, रोचक अनौठा रितिरिवाज, चालचलन, संस्कार, भेषभुषा, आफ्नै छुट्टै मौलिक कला, जैविक र भौगोलिक विविधता भएको राष्ट्र हो नेपाल । विश्वको सर्वाेच्च शिखर सगरमाथा.(८,८४८.८६ मी.) र सबैभन्दा होचो केचनकवल(७० मी.) उचाइका भूभाग नेपालमै अवस्थित छन् । अर्काे संसारमा शान्तिको ज्योति छर्ने शान्तिका अग्रदूत गौत्तम बुद्ध जन्मिएको देश हो नेपाल । दन्तेलहरझै हिउँले ढाकिएका अग्लाहोचा हिमाल र हिश्रृङ्खलाहरु, छाँगा, झरना, नदीनाला, संसारकै उच्च स्थानका हिमताल, अग्लाहोचा हरिया पहाड, जंगल, चारकोशे झाडी, डाँडाकाँडा, भिरपाखा, लेकवेशी, कुनाकन्दरा, खोच, गल्छी, उपत्यका, जडिबुटी, अन्न भण्डारका फाँटहरु लगायत अनेक सम्पदा यहाँ रहेका छन् । संसारकै सबैभन्दा उच्च हिमश्रृङ्खला नेपालमा छन् ।

जंगल सफारी, ट्रेकिङ, हाइकिङ, पर्वतारोहणसँगै बन्जी, र्याफ्टिङ, रक क्लाइम्बिङ, क्यानोइङ, स्काइ साइक्लिङ, प्याराग्लाइडिङ, बोटिङ लगायत साहसिक पर्यटनका विविध गतिबिधि नेपालमै छ । धार्मिक सम्पदाहरू लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, पाथिभरा, स्वर्गद्धारी लगायत उत्कृष्ट गन्तव्य यहीँ रहेका छन् । पाइला पाइलामा भेटिने यस्ता अनेकौं स्रोत र सम्पदाहरुलाई शब्दमा व्याख्या विश्लेषण गर्नै सम्भव बन्दैन । विश्व सम्पदा सूचिमा सूचिकृत १० उत्कृष्ट सम्पदाहरु नेपालमै छन् । नेपालका ७७ वटै जिल्ला कुनै न कुनै रुपमा पर्यटकीय हिसाबले प्रसिद्ध छन् । ७५३ वटै पालिकामा कुनै न कुनै महत्वपूर्ण गन्तव्य र सम्पदा छन् । पाहुनाप्रतिको आतिथ्य संस्कारको भावना नेपालको जस्तो उत्कृष्ट संसारमै अन्त कहीँ पनि छैन ।

दक्षिण एसियामा अवस्थित नेपाल क्षेत्रफलका हिसाबले सानो होला तर आफैंभित्र शुन्दर, शान्त र विशाल छ । आकारले सानो भएपनि नेपालमा संसारका सबै देशका विशेषता पाइन्छ । उत्तरतर्फ संसारमै आफूलाई अग्रस्थानमा स्थापित गर्न लागेको चिन र बाँकी तीनतिर संसारमै उदाइरहेको अर्काे राष्ट्र भारत अवस्थित छ । यी दुई देश विश्वको सबैभन्दा धेरै जनसंख्या भएका पहिलो र दोस्रो देशहरु हुन् । वोल्डोमिटरको पछिल्लो तथ्याँकअनुसार भारतको जनसंख्या १ अर्ब ४३ करोड १४ लाख रहेको छ भने चीनको जनसंख्या १ अर्ब ४२ करोड ५५ लाख रहेको छ । आकार र जनसंख्याका साथै विश्वको शक्ति राष्ट्रको हिसाबले पनि दुई ठूला राष्ट्रको बीचमा रहेको नेपाल एक भूपरिवेष्ठित देश हो ।

यहाँ पहिलो पटक सन् १९५० मा संयुक्त राष्ट्र संघको प्रतिनिधिका रूपमा नेपाल भ्रमण गर्न आएका टोनी हेगनले एक दशक लामो घुमघाम गरी ‘नेपाल–द किङ्डम इन दि हिमालय’ पुस्तक प्रकाशनमा ल्याएर नेपालको जनजीवन, जाति, भाषा, धर्म र भौगोलिक अवस्थाको बारेमा विस्तृतरुपमा अध्ययन गरेको र नेपाललाई विश्व सामु चिनाउने शुरुवाती प्रयास गरेको पाइन्छ । १४,००० किलोमिटर पदयात्रा गरेका हेगनको आगमन नेपालमा पर्यटनको शुरुवात मान्न सकिन्छ । त्यसअघि निरंकुश राणा शासनका कारण नेपाल विदेशीका लागि बन्द थियो । २९ मे १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको दिन अर्थात् सफलतापूर्वक आरोहण गरेको खबर संसारभर सञ्चार भएदेखि नै संसारका आरोहीहरूका लागि नेपाल जीवनमा एकपल्ट पुग्नैपर्ने गन्तव्यको रूपमा परिचित भयो । त्यसपश्चात् नेपालको बारेमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्न थालेको देखिन्छ । शुरूमा हिमाल आरोहण, पदयात्रामा आउने पर्वतारोही नै नेपालका प्रथम पर्यटक हुन् । प्रजातन्त्र आएपछि नेपाल सरकारले विदेशीलाई पर्यटक भिसा दिएर स्वागत गर्न थालेको पाइन्छ । समयक्रमसँगै पर्वतीय र साहसिक पर्यटनमा नेपाल संसारकै उत्कृष्ट गन्तव्य बनेको छ ।

आनन्दको अन्तिम स्वर्ग नेपाल
यता विश्व नै यतिबेला धेरै व्यस्त दैनिकीमा चलिरहेको छ । कामका लागि मानिसहरु दिनरात मेसिनजस्तै घोटिएका छन् । जतिबेला पनि तनाव र चिन्तामा मात्रै मानिसहरु कुदिरहेका छन् । यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र छोडेर केही समय भएपनि आफूलाई ताजा बनाउन मानिसहरु अलि टाढा सुन्दर, रमणीय एवं आनन्दीत स्थान निस्कन चाहिरहेका छन् । विश्वको त्यही फरक भूगोल नेपाल नै आनन्दको अन्तिम स्वर्ग हो । हिमालका सुन्दर दृष्यको अवलोकसहित यहाँका गाउँ र गाउँले परिवेश मुख्य गहना हुन् । हाम्रो पुरानो चलन साँझमा घरमा बास बस्न आएको बटुवालाई बास दिने चलन आज होमस्टे अर्थात् घरबासमा परिणत भएर पाहुनाको सेवामा तल्लिन छ ।

घरमा पाकेको कुरा खान दिने, घरको सफा कोठाको सफा विस्तारामा सुत्न दिने, घरका परिवारका सदस्य जस्तै व्यवहार गर्ने लगायत त्यो घर, परिवार र समाजको संस्कारसँग परिचित हुने अवसर नेपालको ग्रामिण पर्यटनले दिनेछ । सँगै महँगा र ठूला आरामदायी सुबिधा लिनसक्ने तारे होटलबाट मज्जा लिने अवसर पनि नेपालमा छ । तर गाउँको सानो झुप्रो घरमा बसेर त्यहाँको जनजीवनसँग साक्षात्कार हुँदै खानु र बस्नुमा बेग्लै आनन्द छ । विदेशीका लागि यो एक नयाँ पाठशाला नै हो । देशभरको समानुपातिक विकासमा यसले ठूलो टेवा दिइरहेको छ । अहिले स्वास्थ्य सेवा, सुरक्षा, सञ्चार, यातायात, विद्युत्, पानी लगायत पूर्वाधारमा पनि नेपाल अब्बल बन्दै गएको छ जुन पर्यटकका लागि नभइ नहुने आवश्यक पूर्व सर्तहरु हुन् ।

पर्यटनकोे परिवेश
सन् २०१९ को अन्त्यतिर विश्वव्यापीरुपमा देखा परेको कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भयो । घुम्नुपर्ने मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा जानमै प्रतिबन्ध भएपछि पर्यटनको विकास हुने कुरै भएन । व्यापार, मनोरञ्जन, अध्ययन, अनुसन्धान, दृष्यवलोकनका लागि पर्यटकको रूपमा घुमफिर गर्ने मानिसहरू घरको चौघेरा र सीमित भूगोलमा थुनिए । यसले विश्वकै पर्यटन क्षेत्र तहसनहस भयो । कोभिड–१९ अगाडि नेपालमा पर्यटक आगमनको संख्या प्रतिवर्ष ११ लाख ९७ हजारसम्म पुगेको थियो । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने घोषणा भयो । तर महामारीका कारण पर्यटन क्षेत्र ध्वस्त भयो ।

मानिस नै विश्वमा रहने कि नरहने भन्ने त्रासका बीच पनि केही पर्यटक नेपाल आइरहे । किनकि नेपाल साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य हो । विश्वव्यापी कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । अहिले कोभिडपूर्वको अवस्थामा नेपालको पर्यटक आगमनको संख्या पुग्ने देखिएको छ । सबैमा उत्साह र वातावरणमा सुधार भएका कारण यो सम्भव हुने देखिएको हो । नेपाल सरकारले पनि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाउने घोषणा गरेको छ । सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना सरकारको छ । त्यसतर्फ नेपाल अग्रसर बन्दैछ ।

पर्यटनको भविष्य र गर्नुपर्ने काम
२००७ सालपछि मात्र विदेशी पर्यटकका लागि नेपाल खुल्ला भएको सात दशकभन्दा बढी समय भइसकेको छ । यो अवधिमा नेपालको पर्यटन क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । विदेशी मुद्रा आर्जन र रोजगारी प्रवद्र्धनका हिसाबले नेपालको पर्यटन महत्वपूर्ण क्षेत्र हो । नेपाल विकासको लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पर्यटनले नै महत्वपूर्ण योगदान दिन सक्ने कुरामा दुइमत छैन ।

राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको महत्वपूर्ण भूमिका रहेका कारण सरकारले यसलाई प्रमुख प्राथमिकताप्राप्त क्षेत्रमा राखेको छ । तापनि नेपालको पर्यटनले अपेक्षा गरे अनुरूप गति लिन भने सकेको छैन । संधैको राजनीतिक अस्थिरता, २०५२ देखि चलेको दश वर्षे द्धन्द, भूकम्प, कोरोना महामारी, राजनीतिक सत्ता लुछाचुँडी, विश्वव्यापी आर्थिक संकट लगायतले नेपालको पर्यटन क्षेत्रको विकासमा वाधा उत्पन्न भइरहेको छ । यसले पर्यटन सम्पदाहरूको विकास र गुणस्तर अभिवृद्धि गर्ने कार्यमा अवरोध मात्रै सिर्जना गरिरहेको छ । पर्यटनलाई योजनाबद्ध र दिगो तवरबाट विकास गर्ने लक्ष्य नै आजको आवश्यकता हो ।

विश्वव्यापीरूपमा परिचित नेपालको पर्यटनको छबिलाई ब्राण्डिङ गर्ने, पर्यटन व्यवसायमा सुविधा तथा सेवाहरू विस्तार गर्नका लागि लगानी आकर्षित गरी व्यवसायिक विकासको वातावरण सुधार गर्ने, पर्यटन क्षेत्रमा काम गर्ने मानव संसाधनको क्षमता, गुणस्तर, सङ्ख्या र कार्यसम्पादन सुधार गर्ने, आवास, बसाइ, खाना, सुरक्षा र सार्वजनिक क्षेत्रका सेवाहरूमा सुधार ल्याई नेपालको पर्यटनको गुणस्तरमा सुधार गरी पर्यटकको अनुभवलाई फराकिलो पार्ने काम हामीले गर्नुपर्दछ ।

त्यस्तै सडक सञ्जालसहित आवश्यक पर्यटन पूर्वाधार विकासका लागि स्पष्ट नीति तथा कार्ययोजना तयार पारी केन्द्र तथा प्रदेशहरुको समन्वय मार्फत त्यसको कार्यान्वयनको वातावरण मिलाउने, नेपालको विविध मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरी दिगो पर्यटन विकासमार्फत आय र रोजगारीका अवसरहरू सिर्जना गर्नतर्फ लाग्ने, प्रदुषणरहित पर्यटनको विकास, कार्यान्वयन गरेर पर्यावरण अनुकुल पर्यटन र यस सम्बन्धी असल अभ्यासहरूलाई प्रवद्र्धन गर्ने काम गर्नुपर्दछ । पछिल्लो समय आन्तरिक पर्यटन पनि उत्तिकै विकास भएर गएको छ । यसले गोजीमा थन्किएर रहेको रकम बजारमा आएर अर्थतन्त्र चलायमान हुनुका साथै विदेशतिर खर्च हुन जाने रकम नेपालमै खर्च हुन थालेको छ । त्यसैले बाह्य पर्यटकका साथसाथै आन्तरिक पर्यटनप्रति पनि उत्तिकै ध्यान दिनु आवश्यक छ ।

निष्कर्ष
अन्तमा नेपाल पर्यटनको हिसाबले संसारकै उत्कृष्ट गन्तव्यमा पर्दछ । विश्वव्यापी कोरोना महामारी नियन्त्रण भएपछि सीमित भूगोलमा थुनिएका मानिसहरू निस्फिक्री घुम्न निस्कने चाहनालाई मध्यनजर गरेर यसलाई नेपालले अवसरकारुपमा व्यवस्थित गर्न सक्नुपर्दछ । सडक सञ्जाल, एयर कनेक्टिभिटी, पर्यटकीय सवारी लगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासमा मुख्यरुपमा लगानी बढाउनुपर्दछ । सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्दछ । पर्यटकका लागि नेपाल आउने विशेष योजनाहरू सार्वजनिक गर्दै उनीहरूलाई आकर्षित गर्नैपर्दछ । समय समयमा पर्यटनसम्बन्धी विभिन्न घोषणा एवं कार्यक्रमहरु गरिराख्नुपर्दछ । देशभित्र रहेका पर्यटन क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्वहरुको संरक्षण गर्दै प्रवद्र्धनमा उनीहरुको साथ सहयोग लिन सक्नुपर्दछ । स्थिर किसिमका नीतिनियम ल्याएर झन्झटीलो प्रक्रियालाई सहजीकरण गर्नुपर्दछ ।

करका झन्झटहरु हटाएर प्रबिधिको प्रयोगमा जोड दिनुपर्दछ । नयाँ–नयाँ गन्तव्य र सम्पदाहरुको खोज, अध्ययन अनुसन्धान गर्दै राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रचारप्रसार र प्रवद्र्धनमा लाग्नैपर्दछ । पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि राज्यले लगानी बढाउन आवश्यक छ । विश्वभरका पर्यटक नेपाल आउन लालयित छन् । अहिलेको परिवेश र पूर्वाधारसहित सुबिधा दिनसक्ने क्षमताका हिसाबले छिमेकी देश चीन र भारतका पर्यटकलाई ल्याउने प्रमुख रणनीतिक योजना नेपालको हुनुपर्दछ ।

नेपाल सरकार, पर्यटन मन्त्रालय, पर्यटन व्यवसायी र संसारको विभिन्न कुनामा रहेका नेपालीहरूले आफ्नो–आफ्नो ठाउँबाट सक्दो पहल गरी नेपालमा पर्यटन विकासका लागि योगदान पु¥याउनु पर्ने आजको आवश्यकता देखिन्छ । सबै एकजुट भएर अगाडि बढ्ने हो भने नेपालको पर्यटन क्षेत्रको भविष्य उर्वर छ । नेपालको समृद्धि पर्यटनबाट सम्भव छ । नेपालमा पाइने विविध हावापानी, वनस्पति तथा पशुपंक्षीका कारण नेपाललाई तेस्रो ध्रुवको देश पनि भनिन्छ । अतः तेस्रो ध्रुवको देशबाट एकैचोटी संसार चिहाउन नेपाललाई पर्यटकीय आँखी झ्यालको रुपमा विकास गरिनुपर्दछ ।

न्यौपाने पर्यटन पत्रकार संघ(जाट–नेपाल)का महासचिव हुन् ।

वि.सं.२०८० असोज १० बुधवार १३:३५ मा प्रकाशित

You can share this post!

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

गरिमा क्यापिटलले ल्यायो “सित्तैमा’’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:३८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी...

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

नेशनल लाईफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना

वि.सं.२०८० फागुन १० बिहीवार १८:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आज ३६...

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुर्याउन स्मार्ट बोर्डहरू हस्तानतरण

वि.सं.२०८० फागुन १० बिहीवार १८:११

काठमाडौं । ज्योति विकास बैंकले विदुर नगरपालिका वडा नं. ०५,...

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

‘केपी ओली कप’ विजेतालाई  ११ लाख  प्रदान गरिने  

वि.सं.२०८० फागुन १० बिहीवार १८:०४

काठमाडौँ, १० फागुन : यही फागुन ११ देखि १९ गतेसम्म...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्   

वि.सं.२०८० फागुन १० बिहीवार १७:०८

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा...

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

राष्ट्रिय खेलाडीहरुको उपस्थितिमा कान्तिपुर स्कुलको खेलकूद सप्ताह सम्पन्न

वि.सं.२०८० फागुन १० बिहीवार १६:५६

काठमाडौँ । धुम्बाराहीस्थित कान्तिपुर इङ्लिस हाईस्कुल (केईएचएस)मा खेलकूद सप्ताह सम्पन्न...