काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १६.०६ प्रतिशत र कुल आम्दानी ३.४४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा २१.६९ प्रतिशत घटेको छ भने कुल खर्च २.५७ प्रतिशत घटेको छ।
कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ, विशेष जगेडामा १ अर्ब ६५ करोड, महाविपत्ती कोषमा १३ करोड ५१ लाख, रिटेन्ड अर्निङ्गमा २६ करोड ११ लाख र अन्य इक्विटीमा ५८ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७ पैसा बढेर १९ रुपैयाँ ६० पैसा पुगेको छ। समिक्षा अवधिमा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपेयाँ ४९ पैसा रहेको छ।
वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८ मा प्रकाशित