
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको कुल आर्जित बीमाशुल्क १२३.९६ प्रतिशत, कुल आम्दानी ९०.५८ प्रतिशत, कुल दाबी भुक्तानी ९४.६१ प्रतिशत र कुल खर्च ८८.८१ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ३ रुपैयाँ ५७ पैसा बढेर १२ रुपैयाँ ४१ पैसा पुगेको छ। समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ।
कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ । शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ, विशेष जगेडामा ९२ करोड ११ लाख रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७७ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित रहेको छ।
वि.सं.२०८१ वैशाख ३० आइतवार १०:३७ मा प्रकाशित