काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक बोलाएको छ । सभा, भिष्वा, वीरगंज (पर्सा) मा असार १८ गते मंगलबारका दिन बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।
सभाले संस्थापक समूहका सेयरधनीहरुबाट ३ जना सञ्चालक र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावली संशोधन गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार ४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, असार ३ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
वि.सं.२०८१ जेठ २९ मंगलवार १०:२३ मा प्रकाशित