
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार बैंकले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६६.९३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७८ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ११.४२ प्रतिशत, कुल सञ्चालन आम्दानी ७.०८ प्रतिशत र सञ्चालन मुनाफा ५३.०८ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्ष ५२ करोड २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, गत आर्थिक वर्षमा घटेर ३० करोड ४० लाख रुपैयाँमा सीमित भएको छ। जसका कारण खुद नाफा र सञ्चालन मुनाफा बढ्न पुगेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ३७ पैसा बढेर १८ रुपैयाँ ३८ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ४८ पैसा रहेको छ।
गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य मुनाफा ३० करोड २९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको छ ।
वि.सं.२०८१ साउन ९ बुधवार ०९:५७ मा प्रकाशित