
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
प्रकाशित विवरण अनुसार लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत, अन्य सञ्चालन आम्दानी ८१.९४ प्रतिशत, कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ लाख रुपैयाँ रहेको लघुवित्तको सम्भावित जोखिमबापतको व्यवस्था, गत आर्थिक वर्ष ९ लाख ७३ हजारमा सीमित भएको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ। हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ रहेको छ।
वि.सं.२०८१ साउन १० बिहीवार १०:११ मा प्रकाशित