back
NMB Ad

सातगाउँले जात्राका अवसरमा मङ्गलबार नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा

Royal Enfield Inside Page Banner

 काठमाडौँ : सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मङ्गलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ ।

कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आइतबारको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिनुभयो । सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ । चन्द्रागिरि नगरपालिका–१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ ।

काठमाडौँको पश्चिमी भेगका सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुङ्गलका शक्तिपीठ र भैरवलाई सन्तान मानिन्छ । आमालाई भेट्न हरेक वर्ष मार्गशीर्ष शुक्ल नवमीका दिन सन्तानहरू आउने विश्वासअनुसार यही मङ्सिर २५ गते मङ्गलबार बिहानै सबै गाउँको रथ बल्खु सम्बद्ध गुठियार र गाउँलेले बाजागाजासहित ल्याउने छन् ।

सातगाउँले यात्रा हेर्न उपत्यकाका सबै ठाउँका नेवार समुदायका मानिस बल्खु पुग्ने गर्छन् । सोही दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा र पाँगाको दुई स्थानमा विष्णुदेवी र बालकुमारी रथयात्रा हुने परम्परा रही आएको छ ।

आमा विष्णुदेवीलाई भेट्न सन्तानबीचमा उछिन पाछिन भएको किंवदन्तीअनुसार रथयात्राको क्रम चल्ने स्थानीयवासी रश्मिला श्रेष्ठ बताउनुहुन्छ । भेटघाट सुरु भएको वर्ष क्रमअनुसार जेठी छोरी मानिने मच्छेगाउँकी देवीको रथ पुग्नुपर्नेमा आमा भेट्नका लागि कान्छी छोरी अर्थात् सतुङ्गलकी देवी बिनाश्रृङ्गार बल्खु पुगेकी थिइन् भन्ने भनाइ रहेको छ ।

मच्छेगाउँकी देवी भने श्रृङ्गारसहित केहीपछि पुग्दा बहिनी पहिले नै पुगिसकेको देखेपछि आमातर्फ पिठ्युँ फर्काएर बाहिरै बसेको भन्ने भनाइ पनि यहाँका बुढापाकाले सुनाउने गरेका छन् । यसैकारण बल्खुमा सतुङ्गलकी देवीको रथ बिनागरगहना पहिल्यै पु¥याउने गरिन्छ । मच्छेगाउँकी देवीको रथ मन्दिर बाहिरै फर्काएर राखिन्छ । रथ पु¥याएपछि दिनभर पूजाआजा गरी पुनः सम्बद्ध गाउँमा जात्रासहित फर्काउने परम्परा रही आएको छ ।

जात्राको मुख्यस्थान बल्खुको नाम पनि शक्तिपीठसम्बन्धी किंवदन्तीसँग जोडिएको छ । राजधानीको पश्चिममा रहेकी तान्त्रिक देवी ‘लुङ्टीअजिमा’ इन्द्रायणी देवीको पीठमा बाला चतुर्दशीका दिन हवन (होम) गर्दा भँगेरा, सर्प, परेवा, आदिको जोडी हवन गरिएकामा एक वर्ष हवन गरी चढाएका एक जोडी परेवा बाहिर उडी गएका थिए । तिनै परेवा बसेको ठाउँलाई नै बखु भनिएको स्थानीय वृद्ध मङ्गल महर्जन बताउनुहुन्छ । परेवा उडेर कीर्तिपुरको पश्चिमतर्फ (हाल बल्खु) गएपछि त्यहाँ परेवा आहुति दिन छोडिएको जनविश्वास छ ।

नेपाल भाषामा ‘बखु’ को अर्थ परेवा हुन्छ । उडेर हराएका परेवा त्यस क्षेत्रमा धेरै समयसम्म खोज्दा पनि भेटाउन नसकिएकाले ‘बखु मदु’ (परेवा नभएको) स्थान भन्न थालिएको र पछि अपभ्रंश भई यस ठाउँलाई बल्खु भनिएको जानकारहरू बताउँछन् । यहाँ वरपरका सबै नेवार बस्तीमा विष्णुदेवी, इन्द्रायणी, ब्रह्मायणी, माहेश्वरी, कुमारी, बाराही, सिंहिनी, ब्याघ्रिनी, गणेश, भैरव, अष्टमातृकाको पूजा गरिन्छ ।

सातगाउँले जात्रा स्थानीय नेवार समुदायको प्रमुख पर्व भएकाले सातै गाउँमा घरको सरसफाइ, पाहुना पासाको आगमन र पूजाको तयारी सुरु भइसकेको छ । नेपाल भाषामा मुःय भनिने मन्दिरमा राखिएको रथलाई रथयात्रा सुरु हुने मण्डपमा ल्याई सरसफाइ र रङरोगन गरिन्छ । साथै अतिथिको स्वागत र परम्परागत नेवारी खाना पकाउने काम घरघरमा हुने गरेको छ । सिङ्गारिएको रथमा देवीदेवताको प्रतिमा राख्ने र सबै गाउँलेबाट पूजा गराएर सिन्दूरे जात्रासहित बल्खुमा लगिन्छ ।

वि.सं.२०८१ मंसिर २४ सोमवार ०६:२८ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार २०:५६

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ७ सोमवार २०:४९

काठमाडौँ :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

वि.सं.२०८१ माघ ७ सोमवार २०:३७

 बागमती  : बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ...

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...