back
Kumari Bank

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

Nepal Bank

काठमाडौँ :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी अपेक्षितरुपमा बढ्न नसक्नु चिन्ताको विषय रहेको बताउनुभएको छ ।

कृषि विकास बैंक लिमिटेडको आज यहाँ आयोजित ५८औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री पौडेलले बैंकहरुमा निक्षेप सङ्कलन राम्रो देखिए पनि कर्जा प्रवाह बढ्न नसक्नु गम्भीर विषय रहेको बताउनुभयो । “पछिल्लो दिनहरुमा बैंकको बचत बढेको छ तर कर्जा अपेक्षित रुपमा बढेको छैन । यो चिन्ताको विषय हो । हामीले उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने सम्भावित क्षेत्रमा बैंकको लगानी बढाउँदै जानुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो ।

उहाँले कृषि विकास बैंकलाई थप व्यावसायिक र प्रतिस्पर्धी भएर काम गर्नसमेत निर्देशन दिनुभयो । “बैंकको सञ्चालक समिति, व्यवस्थापन र कर्मचारीको सामूहिक प्रयासबाट बैंक प्रतिस्पर्धी बन्दै गएको छ । तर हामी यसैमा रमाएर बस्ने होइन । अझै राम्रो, अब्बल र प्रतिस्पर्धी बैंकका रुपमा अगाडि बढ्नुपर्छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरुले अपेक्षित प्रगति गर्न नसकेको तितो अनुभव हामीसँग छ । यसकारण बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध जीवन्त हुनुपर्छ ।” कृषि विकास बैंक जुन उद्देश्यले स्थापना भएको हो त्यो प्राप्त गर्ने कुरालाई सर्वोच्च प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरु सुधार हुँदै गएको र अर्थतन्त्र लयमा फर्किन थालेको बताउनुभयो । यद्यपि, बैंकहरुले कर्जा असुलीमा केही समस्या भोगिरहेको उहाँले स्वीकार गर्नुभयो ।

“मुलुकको वर्तमान आर्थिक तथा वित्तीय सूचकहरु हेर्दा समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ । बाह्य क्षेत्रमा सन्तुलन छ । बाढीपहिरोका कारण मुद्रास्फीति व्यवस्थापनमा केही चाप देखिए पनि समग्रमा वाञ्छित सीमाभित्रै छ । बैंकमा तरलता पर्याप्त छ । ब्याजदर घटेको छ”, गभर्नर अधिकारीले भन्नुभयो, “गतवर्षको तुलनामा भन्दा सरकारी राजस्व बढेको छ । आयात–निर्यात बढ्न थालेको छ । पछिल्लो समय पुँजी निर्माणसँग सम्बन्धित सामानहरुको आयात बढेको छ । यसकारण हामी निरुत्साहित हुनुहुँदैन । हाम्रा सकारात्मक पक्ष धेरै छन् ।”

बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा भने केही समस्या देखिएका कारण यसले खराब कर्जा बढाएको उहाँको भनाइ थियो । “अर्थतन्त्र लामो समय शिथिल भएका कारण र पछिल्लो समय केही अराजक गतिविधि गर्ने तथा ऋण नतिर्ने भनेर अभियान चलाउने व्यक्ति र समूहका कारण कर्जा असुलीमा समस्या भएको छ । यसले दीर्घकालमा कति असर पार्छ भने कुरामा हामी सजग छौँ”, गभर्नर अधिकारीले भन्नुभयो ।

कृषि विकास बैंकको व्यवस्थापन र कार्यक्षमता अब्बल रहेकोसमेत गभर्नर अधिकारीले बताउनुभयो । नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने नेतृत्व कृषि विकास बैंकले गरिरहेको उहाँको भनाइ थियो । बैंकिङ प्रणालीबाट कृषि क्षेत्रमा भएको लगानीमा यो बैंकको मुख्य योगदान रहेको गभर्नर अधिकारीले बताउनुभयो । वित्तीय समावेशीता प्रवद्र्धन, ग्रीन फाइनान्स, प्रविधिप्रयोग लगायतका विषयमा बैंकले राम्रो गरिरहेको उहाँले बताउनुभयो ।

बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले दिगो बैंकिङ र वित्तीय स्थायित्वका लागि प्रचलित कानुन र नियामक निकायको निर्देशनको सही पालना, जोखिम व्यवस्थापन, प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र कर्जाको गुणस्तर कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्नुभयो । आधुनिक बैंकिङ सुविधा, संस्थागन सुशासन, सुरक्षित तरिकाले सूचना प्रविधिको उच्चतम प्रयोग, लगानीमैत्री नीतिलगायतका माध्यमबाट व्यवसाय विस्तार र गुणस्तरीय सेवा प्र्रवाहमा विशेष ध्यान पु¥याएको उहाँको भनाइ छ ।

नेपालको ग्रामीण तथा कृषि क्षेत्रको विकासमा सहयोग गर्ने प्रमुख उद्देश्यका साथ विसं २०२४ माघ ७ गते रु पाँच करोड अधिकृत पुँजीसहित कृषि विकास बैंकको स्थापना भएको थियो । बैंकले कृषि र कृषिमा आधारित उद्योग व्यवसायको विकास एवं कृषिको आधुनिकीकरण, औद्योगीकरण, यान्त्रीकरण र व्यवसायीकरणका लागि सरल र सुलभ कर्जा प्रदान गर्दै आएको छ ।

अहिले बैंक ५१ प्रतिशत सरकारको र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्वमा रहेको छ । बैंकले हालसम्म एक लाख ५१ हजार कर्जा ग्राहकमा करिब रु दुई खर्ब छ अर्ब कर्जा लगानीमा रहिरहेको छ । त्यसैगरी करिब २० लाख ३४ हजार निक्षेपकर्ताको रु दुई खर्ब ५९ अर्ब निक्षेप परिचालन गरिरहेको छ ।

बैंकको अधिकृत पुँजी रु २५ अर्ब, जारी पुँजी रु १९ अर्ब २८ करोड ६४ लाख ५१ हजार तीन सय छ । संस्थापक शेयरधनी नेपाल सरकारको ५१ प्रतिशतले हुन आउने रु सात अर्ब छ करोड ६१ लाख ६४ हजार तीन सय ९३ र सर्वसाधारण समूह शेयरधनीको ४९ प्रतिशतले रु छ अर्ब ७८ करोड ९० लाख ५९ हजार नौ सय सात कायम हुनेछ ।

यसैगरी बैंकको पुँजीकोषको अवस्था सुदृढ र मजबुत देखिएको छ । गत वर्ष १३ दशमलव ७५ प्रतिशत रहेको पुँजीकोष अनुपात गत मङ्सिरसम्ममा १३ दशमलव १४ प्रतिशत छ । हाल बैंकको शेयरधनी सङ्ख्या करिब तीन लाख रहेको छ ।

आगामी दिनमा बैंकले कोषको लागत कम गर्ने, खर्च घटाउने, न्यूनतम सञ्चालन खर्च कायम गर्ने, निष्क्रिय कर्जा अझै घटाउँदै लैजाने, नयाँ र योग्य जनशक्ति बजारबाट भित्र्याउनेलगायत काम गर्दै जाने योजना रहेको बैंकका प्रवक्ता एवं कम्पनी सचिव हिमलाल पौडेलले जानकारी दिनुभयो ।

वि.सं.२०८१ माघ ७ सोमवार २०:४९ मा प्रकाशित

You can share this post!

लागत नजिक अण्डाको मूल्य   

लागत नजिक अण्डाको मूल्य   

वि.सं.२०८२ असार २० शुक्रवार १६:५४

नारायणगढ (चितवन) : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको...

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

वि.सं.२०८२ असार २० शुक्रवार १६:४८

वीरगञ्ज : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो...

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २० शुक्रवार १६:२७

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल   

वि.सं.२०८२ असार २० शुक्रवार १६:०४

काठमाडौँ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर...

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने   

वि.सं.२०८२ असार २० शुक्रवार १५:५९

काठमाडौँ : आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई...