back
NMB Ad

परम्परा धान्न जहाँ कन्या–कन्याबीच विवाह हुन्छ !   

बलबहादुर ओली  
त्रिवेणी (रुकुम पश्चिम) : आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन् । त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला । परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो । परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन् ।

हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या–कन्याबीच विवाह हुने परम्परा छ । यसपटक पनि दुई गाउँका किशोरीका बीचमा विवाह सम्पन्न भयो । साँख गाउँको बीचमा दह छ । यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ । यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बीचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन रहेको छ । यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी पदमा ओलीले बताउनुभयो । उहाँका अनुसार यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ । अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो । यो क्रम हरेक वर्ष आलोपालो हुने गरेको ओलीले बताउनुभयो ।

‘किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ । यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ । अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या–कन्याबीच विवाह सम्पन्न गरेका थिए ।

विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ । दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रूपमा यो नाच उनै पापिनीहरुले नाच्छन् । लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ । पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो ।

साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ । हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन् । हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन् । परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ । पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ । यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ । “गाउँको चालचलन धान्ने कन्या पापिनी हुनु परेको छ, यो उहिलेकै चलन हो,” स्थानीय अगुवा पूर्णबहादुर बुढाले भन्नुभयो ।

‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ । माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आउनुभएको छ । हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन् । आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताउनुभयो । हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन् ।

वि.सं.२०८१ माघ २२ मंगलवार १६:१६ मा प्रकाशित

You can share this post!

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

घामले छालामा पार्ने असर र सनस्क्रिनको महत्व

वि.सं.२०८१ चैत १४ बिहीवार ११:०४

सह प्रा.डा. मधु ज्ञवाली सूर्यको प्रकाश स्वास्थ्यका लागि आवश्यक भए...

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:४४

काठमाडौं : नेपाली पिउने पानी उद्योगमा नयाँ आयाम थप्ने लक्ष्यसहित...

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

सुनको भाउमा भारी वृद्धि, तोलाको कति पुग्यो ?

वि.सं.२०८१ चैत १४ बिहीवार १०:३३

काठमाडौं। साताको पाचौ कारोबार दिन सुनको भाउ बढेको छ ।...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

वि.सं.२०८१ चैत १४ बिहीवार १०:२६

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित...

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१९

काठमाडौँ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर   

वि.सं.२०८१ चैत १४ बिहीवार १०:१३

वीरगञ्ज (पर्सा) : पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले रु पाँच करोड...