
काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) ले आगामी सिजनका लागि सी-श्रेणी खेलाडीहरूको ड्राफ्ट सम्पन्न गरेको छ। यस ड्राफ्टमार्फत सातै टिमले आफ्नो टोलीका लागि नयाँ युवा खेलाडीहरू अनुबन्ध गरेका छन्। लिगमा नयाँ प्रतिभा ल्याउने उद्देश्यले भएको यस छनोट प्रक्रियाले युवा खेलाडीहरूलाई अवसर प्रदान गरेको छ।
सी-श्रेणी खेलाडी ड्राफ्टमा कुल ९४ खेलाडी सर्टलिस्ट गरिएका थिए, जसमध्ये २७ खेलाडीहरू छनोट भएका छन्। पोखरा थन्डर्स एफसीले ड्राफ्ट अघि नै एक खेलाडीलाई कायम राखेको थियो। प्रत्येक टिमले चारजना खेलाडी अनुबन्ध गरी आफ्नो टोलीलाई सशक्त बनाएको छ। ड्राफ्ट निष्पक्ष हुनका लागि लटरी प्रणाली अपनाइएको थियो, जसमा स्नेक ढाँचाअनुसार टिमहरूलाई पालैपालो छनोटको मौका दिइएको थियो।
ड्राफ्टको पहिलो चरणमा बुटवल लुम्बिनी एफसीले सुमन श्रेष्ठलाई छनोट गरेको थियो भने धनगढी एफसीले अमृत श्रेष्ठलाई अनुबन्ध गर्यो। एफसी चितवनले विवेक गुरुङलाई टिममा समावेश गरेको छ भने झापा एफसीले सृजन दानीलाई छनोट गरेको छ। काठमाडौं रेजर्स एफसीले भरत चौधरीलाई टिममा भित्र्याएको छ भने ललितपुर सिटी एफसीले मनोज राईलाई टिममा राखेको छ। पोखरा थन्डर्स एफसीले भने नरेन चौधरीलाई ड्राफ्ट अघि नै कायम राखेको थियो।
दोस्रो चरणमा बुटवल लुम्बिनी एफसीले निङ्साङ लिम्बुलाई अनुबन्ध गर्यो भने धनगढी एफसीले रोहन खड्गीलाई टिममा भित्र्यायो। एफसी चितवनले शिशिर चौधरीलाई छनोट गरेको छ भने झापा एफसीले एरोन थापालाई टिममा समावेश गरेको छ। काठमाडौं रेजर्स एफसीले मौसम लुंगेली मगरलाई टिममा ल्याएको छ भने ललितपुर सिटी एफसीले पवन शाहीलाई अनुबन्ध गरेको छ। पोखरा थन्डर्स एफसीले गौरव श्रेष्ठलाई टिममा राखेको छ।
तेस्रो चरणमा बुटवल लुम्बिनी एफसीले खेमराज श्रेष्ठलाई टिममा समावेश गरेको छ भने धनगढी एफसीले हरिशराज बठिट्टालाई अनुबन्ध गरेको छ। एफसी चितवनले विशाल स्याङ्तेनलाई टिममा राखेको छ भने झापा एफसीले श्याम मुर्मुलाई टोलीमा समावेश गरेको छ। काठमाडौं रेजर्स एफसीले पुस्कर खड्कालाई टिममा ल्याएको छ भने ललितपुर सिटी एफसीले दिपेश घलेलाई अनुबन्ध गरेको छ। पोखरा थन्डर्स एफसीले सकल रेग्मीलाई टिममा राखेको छ।
चौथो चरणमा बुटवल लुम्बिनी एफसीले मनिष सेडाईलाई टिममा भित्र्याएको छ भने धनगढी एफसीले सन्तोष महतलाई अनुबन्ध गरेको छ। एफसी चितवनले प्रदीप भण्डारीलाई टिममा समावेश गरेको छ भने झापा एफसीले अभिषेक गुरुङलाई टिममा राखेको छ। काठमाडौं रेजर्स एफसीले पेम्बा दोर्जे लामालाई टिममा भित्र्याएको छ भने ललितपुर सिटी एफसीले अनिश क्षेत्रीलाई अनुबन्ध गरेको छ। पोखरा थन्डर्स एफसीले प्रविणकुमार सुनारलाई टिममा राखेको छ।
सी-श्रेणी ड्राफ्ट पूरा भएसँगै, सातै टोलीले आफ्नो युवा खेलाडीहरू टिममा समावेश गरेका छन्। यस प्रक्रियाले लिगमा नयाँ उर्जा थपेको छ। एनएसएल आयोजक समितिले सी-श्रेणी खेलाडीहरूको लागि तलब दायरा रु. १ लाखदेखि रु. १.५ लाखसम्म निर्धारण गरेको छ। टोलीहरू अहिले आफ्ना खेलाडीहरूसँग सम्झौताका लागि वार्तामा जुटेका छन्।
वि.सं.२०८१ फागुन २६ सोमवार १२:११ मा प्रकाशित