
काठमाडौं। विशाल बजार कम्पनी लिमिटेडको यही फागुन २८ गते आयोजना हुने भनिएको साधारण सभा अदालतको आदेशपछि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि कम्पनीको साधारण सभा रोकिएको हो।
गत माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले पाँच वर्षको साधारण सभा एकैपटक डाक्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार फागुन २८ गते बिहान ११ बजे काठमाडौंको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा सभा आयोजना गर्ने तयारी गरिएको थियो। तर, सेयरधनी सुनिलकुमार शाक्यले कम्पनीको निर्णय सेयरधनीहरूको हित विपरीत भएको भन्दै उच्च अदालतमा रिट दायर गरेपछि अदालतले साधारण सभा रोक्न आदेश दिएको हो।
उक्त मुद्दामा निवेदकले माग गरेअनुसार हुनु नपर्ने भए १५ दिनभित्र कारण खुलाउन समेत उच्च अदालतले आदेश जारी गरेको छ ।
सेयर बजारकै सबैभन्दा धेरै बजार पुँजीकरण भएको यस कम्पनीले विगत १० आर्थिक वर्षदेखि साधारण सभा गर्न सकेको छैन ।
वि.सं.२०८१ फागुन २७ मंगलवार १९:४० मा प्रकाशित