back
NMB Ad

समस्याको चाङमा अटोबजार

चालु पुँजी कर्जा मार्गदर्शन जुन नियतका साथ आयो, त्यसअनुसार कार्यान्वयनमा जान नसक्दा समग्र कर्जा प्रवाहको शृंखला नै बिग्रियो

आकाश गोल्छा
वरिष्ठ उपाध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

समग्र अर्थतन्त्रको ‘पर्फर्मेन्स’ यतिबेला निराशाजनक छ । यस परिस्थितिमा अटो क्षेत्रचाहिँ धेरै राम्रो हुनुपर्छ भनेर अपेक्षा पनि गरिएको हुँदैन । अटो क्षेत्र पनि समस्यामा नै छ । तथापि, सन् २०२४ को सुरुवातदेखि भने केही सुधार आएको छ ।

विश्वव्यापी कोभिड–१९ महामारीअघि नेपालको अटो बजारमा यति ठूलो उतारचढाव थिएन । अलिअलि तरलता अभावको समस्या हुन्थ्यो, फेरि व्यवस्थापन हुन्थ्यो । कुनै गाडी अलि बढी बिक्थे, कुनै कम । त्यसमै थोरै–थोरै संख्या तलमाथि हुन्थ्यो । कुनै नयाँ ब्रान्ड आउँदा त्यसले केही बढी बजार हिस्सा लिन्थ्यो । कुनै अस्वाभाविक परिवर्तन हुँदैनथ्यो ।

कोभिडपछि बजारमा उथलपुथल नै आएको छ । कोभिडका बेला सन् २०२० मा बजार घट्नु स्वाभाविक थियो, घट्यो । सन् २०२१ को मध्यबाट बजार अलि सुधारियो । कोभिडको समयमा सवारी साधन किन्न चाहेर पनि नकिनेकाहरुले कोभिडपछि किने । ब्याजदर पनि न्यून थियो । अटो बजारले त्यसबेलासम्मकै उच्च संख्यामा कारोबार गर्न सक्यो । अटोमात्र नभएर अर्थतन्त्रका सबै सूचक राम्रा थिए ।

‘वर्क फ्रम होम’ र ‘स्कुल फ्रम होम’का कारण पनि हुनसक्छ, विश्वबजारसँगै नेपालमा कम्प्युटरको व्यापारले नयाँ उचाइ लिएको थियो । आयात बढेको थियो । उद्योगधन्धा राम्रो क्षमतामा सञ्चालन भएका थिए । साना तथा मझौला व्यवसाय पनि फस्टाएको थियो । त्यसपछि नेपालको अर्थतन्त्र अप्रत्यासित ढंगले आरोलो लागेको हो ।

कसरी लाग्यो ओरालो ?
कोभिडका कारण अर्थतन्त्र थिलोथिलो भएको थियो । नेपाल राष्ट्र बैंकले त्यसको प्रतिकूल प्रभावबाट अर्थतन्त्रलाई बाहिर निकाल्न पुनर्कर्जा र ब्याज अनुदानमा सञ्चालित सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई खुकुलो बनाइदियो । कोभिडबाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि ‘व्यवसाय निरन्तरता कर्जा’को सुविधा दिइएको थियो ।

कर्जाको माग बढ्दै गयो । बैंकहरुको लगानी क्षमता बढाउन कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) खारेज गरी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरियो । कर्जा प्रवाहमा दिइएको सुविधाका कारण बैंकहरुले हौसिएर लगानी गरे भने उद्योगी व्यवसायीले पनि घटेको ब्याजदरसँगैको सुविधाजनक कर्जा अन्धाधुन्ध लिए । त्यसबेला राष्ट्र बैंकले २० प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको थियो भने कर्जा विस्तार २८.१८ प्रतिशत भएको थियो ।

समष्टिगत मागमा कुनै समस्या थिएन । उपभोग बढेको थियो । आयात पनि उच्च दरमा बढ्यो । बढ्दो आयात र अन्य विविध कारणले विदेशी मुद्रा सञ्चितिमा गिरावट आउन थाल्यो । कोभिडपछि श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशले पनि विदेशी मुद्रा सञ्चितिको समस्या खेप्नुपरिरहेको थियो ।

लगातार विदेशी मुद्राको सञ्चिति ओरालो लाग्न थालेपछि सरकार आत्तियो । राष्ट्र बैंक सतर्क हुन थाल्यो । त्यसपछि आयातमा प्रतिबन्ध लगाउन थालियो । कर्जा प्रवाहमा पनि कडाइ गर्न थालियो । चालु पुँजी कर्जा मागर्दशन जारी भयो । मार्गदर्शनमार्फत चालु पुँजी कर्जाको सीमा निर्धारण गरियो, कर्जा नवीकरणको नयाँ व्यवस्था गरियो, कर्जा सुरक्षणसम्बन्धी व्यवस्था गरियो ।

सुविधा र सहुलियतका कारण गतिशील बनिरहेको उद्योग व्यवसाय यी सबै नीतिगत व्यवस्थाले सुस्ताउन थाले । राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति बढ्न थालेपछि कतिपय नीतिहरुमा तत्काल दुई–तीन महिनाभित्र नै पुनरावलोकन गर्नुपथ्र्यो तर गरेन । राष्ट्र बैंकले न्यूनतम ६ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चित हुनुपर्छ भनेको छ, त्यो पनि एक डलर विदेशबाट नआउँदाको अवस्थाका लागि तोकिएको सीमा हो ।

त्यसरी डलर आयात ठप्प भएको अवस्था थिएन । कोभिडको समयमा थप युवा वैदेशिक रोजगारीमा जान पाएनन् । त्यसका कारण रेमिट्यान्स सन् २०२१ मा कम भित्रिएको थियो । त्यसको असर सन् २०२१ को अन्त्यदेखि र २०२२ को सुरुवातदेखि देखियो । सन् २०२२ को सुरुदेखि युवा जाने क्रम बढ्यो, मध्यदेखि रेमिट्यान्स आप्रवाह पनि बढ्न थाल्यो ।

तर, राष्ट्र बैंकले लामो समय आयातमा प्रतिबन्ध लगायो । आयात प्रतिबन्ध पनि राज्यले बढी कर पाउने वस्तु महँगा गाडी, बाइक, अल्कोहललगायतमा लगाइएको थियो । विदेशी मुद्रा ३ प्रतिशतमात्र खपत गर्ने यस्ता वस्तुको कर संकलनमा १० देखि १२ प्रतिशतसम्म योगदान छ । यो तथ्यांकले विदेशी मुद्रा सञ्चितिमा सुधार आउनुमा आयात प्रतिबन्धको कुनै भूमिका छैन भन्ने स्पष्ट गर्छ । यसले सरकारको राजस्व संकलन थप प्रभावितचाहिँ भयो ।

बाह्य हिसाबले लामो समयको आयात प्रतिबन्ध र आन्तरिक हिसाबले कर्जा प्रवाहमा भएको कडाइ, दुवैतिर गलत भइरहेको थियो । ढिलो गरी आयात प्रतिबन्ध हटाइए पनि कर्जा प्रवाह प्रक्रियालाई अहिलेसम्म सहज बनाइएको छैन । फलस्वरुप, समग्र उद्योम व्यवसायसँगै डिजेल, पेट्रोल गाडीको व्यवसाय अहिले पनि सहज हुन सकेको छैन ।

फलतः अहिले देश नै आर्थिक मन्दीमा गएको छ । सरकारले पूर्वाधारमा खर्च गर्न सकेको छैन । पुँजीगत खर्च हुन नसकेपछि सिमेन्ट, स्टिललगायतका उद्योगधन्धा कम क्षमतामा चलेका छन् । हेवी इक्युपमेन्ट कम बिक्री भएको छ । ट्रक, टिप्पर कम गुडेका छन् । माग कम भएपछि ढुवानी कम भएको छ ।

निजी सवारी साधन अथवा कारहरु पनि मानिसले बढी कमाएपछि र बढी खर्च गर्नसक्ने भएपछि नै खरिद गर्ने हो । मानिसको कमाइ पनि अहिले घटेको छ । गाडी कम चलेपछि पार्ट्सहरु स्वतः कम खपत हुन्छ । बाइकमा पनि त्यस्तै हो । बाइक बढी प्रयोग गर्ने उमेरका २० देखि ३० वर्षका अधिकांश युवा विदेशमा छन् ।

आकाश गोल्छा वरिष्ठ उपाध्यक्ष, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल

कर्जा नीति
कर्जा नीतिले साना तथा मझौला व्यवसायी सबैभन्दा बढी प्रभावित भए । अटो कर्जामा गरिएको कडाइले अटोबजार प्रभावित भयो । चालु पुँजी कर्जा मार्गदर्शन जुन नियतका साथ आयो, त्यसअनुसार कार्यान्वयनमा जान नसक्दा समग्र कर्जा प्रवाहको शृंखला नै बिग्रियो ।

बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालु पुँजी प्रकृतिका कर्जाको औचित्य, प्रभावकारिता तथा सदुपयोगिता सुनिश्चित होस् भन्ने अभिप्रायले मार्गदर्शन जारी गरिएको हो । यसले एउटा प्रयोजनका लागि भनेर कर्जा लिने अनि अर्को काममा खर्च गर्ने प्रवृत्तिमा रोक लगाएको छ । यथार्थमा, मार्गदर्शनले जथाभावी कर्जा दिन र लिन रोकेर वित्तीय अनुशासन कायम गर्न खोजेको छ । त्यसकारण मार्गदर्शन धेरै राम्रो छ ।

कर्जाको पुनःसंरचना, पुनर्तालिकीकरणका कुराहरु त्यसमा छन् । तर, त्यो व्यवस्था धेरैले बुझेनन् । बैंकका माथिल्लो तहका कर्मचारीले बुझे पनि अधिकांश शाखाका, अधिकांश कर्मचारीले बुझेका थिएनन् । यही अन्योलका बीच बैंकहरुले व्यापारी व्यवसायीबाट धमाधम साँवाब्याज असुल्न थाले । जति पैसा संकलन हुन्छ, बैंकले त्यो साँवाब्याजका रुपमा कटाइदिन थाल्यो, नयाँ कर्जा दिएन । त्यसपछि उसले व्यापार नै गर्न सकेन । समस्या विकराल बन्दै गयो । व्यवसायीहरु झन् झन् फस्दै गए ।

यसको अर्थ मार्गदर्शन कार्यान्वयनको प्रारम्भिक चरणमा गलत भयो । नयाँ कुरा कार्यान्वयनमा ल्याउँदा तालिम दिनुपथ्र्यो । समय दिएर ल्याउनुपथ्र्यो । ल्याइसकेपछि पनि बृहत् ढंगले स्पष्ट पार्ने काम गर्नुपथ्र्यो तर त्यसो गरिएन । जसका कारण बैंकका कर्मचारीदेखि व्यापारी व्यवसायीसम्म अतालिने स्थिति आयो । त्यसले उल्टो क्षति भयो । हामी यस विषयलाई लिएर राष्ट्र बैंकसम्म पनि गयौँ ।

उदाहरणका लागि एक जना व्यवसायीको ५ करोड रुपैयाँको सीमा थियो, उनले ५ करोडको सीमा प्रयोग गरिरहेका थिए । चालु पँुजीसम्बन्धी नयाँ मार्गदर्शन आएपछि उनको नयाँ सीमा तीन करोडमा झारियो । त्ससपछि बैंकले उनलाई ऋण घटाउन आग्रह ग¥यो र सबै संकलनबाट ऋण चुक्ता गर्दै गयो । अन्ततः उनीसँग नयाँ सामान किन्नका लागि कुनै रकम बाँकी रहेन, जसका कारण उनको व्यवसाय अझै घट्दै गयो ।

अटोमोबाइलमा पार्ट्सहरुमा असाध्यै धेरै (हजारौँ) भेराइटी हुन्छ । कुनै सानो सामान सकियो भने अर्डर गर्नुको विकल्प हुँदैन । चार–पाँच महिनाको उधारो पनि गएको हुन्छ । मौज्दात पनि आठ–दस महिना बसेको हुन्छ । यता बैंकले संकलन भएको पैसा खिचिसकेको थियो । त्यसपछि मगाउन मिलेन, सामान मगाउन नसकेपछि बेच्न सक्ने कुरा नै आएन । आम्दानी प्रभावित भयो । उसको व्यापार चक्र बिग्रियो ।

तर, बैंकहरुले पहिल्यै बुझेर ‘तिम्रो टर्नओभरले भ्याउँदैन, यो दुई करोडलाई टर्म लोन बनाऊ र १० वर्षको अवधिमा तिर’ भनेर पुनर्तालिकीकरण गरिदिएको भए यो समस्या आउने नै थिएन । यो व्यवस्था थियो, मार्गदर्शनमा । तर, कर्मचारीले यो प्रावधान छ भनेर थाहा पाउँदासम्म ‘लिमिट’ घटाइदिइसकेको थियो, व्यवसायी अप्ठ्यारोमा परिसकेका थिए ।
कतिपयले सीमाभित्रको पैसा अलग ठाउँ (जग्गा, सेयर)मा हालेको थियो होला । त्यसलाई पनि टर्म लोनमा पुनर्तालिकीकरण गर्ने अवसर दिइएन । रातारात जस्तो स्रोत नै घटाइदिएपछि व्यवसाय त समस्यामा पर्ने नै भयो । यो कुनै एउटा व्यवसायमा मात्र थिएन, हरेक व्यवसायी यसैगरी प्रभावित भए ।

अवैध कारोबार
नेपाली व्यवसायीले खुला सीमाको समस्या पनि खेपिरहेका छन् । भन्सार नतिरीकन अवैध ढंगले भारतबाट जति पनि सामान आइरहेको हुन्छ । त्यो सामान काठमाडौंसम्म पनि केही आइपुग्छ । सीमा क्षेत्रका व्यवसायी यसबाट ठूलो मर्कामा परेका छन् किनकि त्यो सामानसँग भन्सार तिरेर ल्याएको सामानले प्रतिस्पर्धा गर्न सक्दैन ।

वैध ढंगले व्यवसाय गर्नेहरु निरुत्साहित भएर धेरैजसो अवैधतिर लागिरहेका पनि होलान् । यसले त दोहोरो नोक्सानी भइरहेको छ । एउटा देशले राजस्व गुमाइरहेको छ, अर्को वैध काम गर्नेहरु समस्यामा परेका छन् ।

अरु समस्या
भन्सार कर, मूल्यांकन र वर्गीकरणमा स्पष्ट छैन । फरक–फरक भन्सारमात्र होइन, एउटै भन्सारमा पनि एउटै सामान हिजो एउटा हिसाबले मूल्यांकन भइरहेको हुन्छ, आज अर्कै हिसाबले हुन्छ । भन्सारले ‘उस्तै उस्तै छ, यतिले फरक पर्दैन’ भनेर पठाइदियो भने राजस्व अनुसन्धान विभागले पछि ‘तिमीले गलत गरेर भित्र्यायौ’ भनेर दुःख दिन्छ ।

ईभीको वर्गीकरणमा केही अघि देखिएको समस्या पनि यस्तै हो । हामी ‘परीक्षण गर्ने मेसिन किन्न र प्राविधिक जनशक्तिमा पनि सहयोग गर्छौं’ भनिरहेका छौँ तर सरकारले चासो दिएको छैन । फलतः अनावश्यक भ्रम फैलाउनलाई सजिलो भएको छ । म त भन्छु– गाडी आयातमा ९९.९९ प्रतिशत समस्या छैन, सबै व्यवसायीले घोषणा गरेको किलोवाट ठिक छ ।

त्यति ठूलो कम्पनीले गलत लेखेर पठाउँदै, पठाउँदैन । त्यस्ता विश्वविख्यात कम्पनीका लागि नेपाल धेरै सानो बजार हो, त्यस प्रकारको गलत गरेर उसलाई कुनै लाभ हुँदैन, बरु करोडौँ मूल्यबराबरको ब्रान्ड भ्यालु गुम्न सक्छ । यसमा ऊ धेरै सतर्क हुन्छ । भएको के हो भने भन्सार जाँच गर्ने निकाय अलग छ, किलोवाट जाँच गर्ने अलग छ, कर लगाउने अलग छ, अनुसन्धान गर्ने अलग छ । धेरै निकाय भएपछि समस्या त भइहाल्छ । उनीहरु एक ठाउँबाट गर्न तयार छैनन् ।

गलत गरेर सामान भित्र्याएको भए पाँच प्रतिशत थपेर किन्न सक्ने कानुनी प्रावधान छ तर कर्मचारीले त्यो प्रावधानको उपयोग गर्दैनन् । सरकारले किनेर लिलाम गरे हुन्छ । अर्को पटकदेखि अवैध हो भने अवैध गर्ने व्यवसायी पनि हच्किन्छ । सिस्टम बस्छ, वैध व्यवसाय बढेर जान्छ, राजस्व बढ्छ ।

अबको अटो बजार
विद्युतीय सवारी साधन (ईभी)मा फाइनान्सिङ केही सहज छ । त्यसले ईभीको बिक्री बढाएको छ । अटो क्षेत्रका लागि यो राम्रो कुरा हो । सवारी आयातकर्ताहरु अधिकांशले ईभी आयात गर्न थालेका छन् । आगामी वर्षहरुमा सबैले ईभी ल्याउन थाल्छन् ।

कोभिडअघि बजारमा खास उतारचढाव थिएन । कोभिडपछि बढी नै घट्ने–बढ्ने भयो । सन् २०२० मा ह्वात्तै घट्यो, २०२१ मा बढ्यो, २२ मा घट्यो पनि प्रतिबन्ध पनि लाग्यो । सन् २०२३ देखि बजार सुध्रिन थाल्यो । ईभीले गति लियो ।

सरकारले ईभीमा कर बढाउँदै लगेको छ । तथापि, मानिसले ईभी रुचाइरहेका छन् । अब ईभीको बजार हिस्सा ठूलो भइसकेको छ । भविष्यमा पेट्रोल गाडी बन्द हुँदैन तर ईभीको बजार नै माथि हुन्छ । ईभी ६५–७० र पेट्रोल ३०–३५ को हाराहारीमा रहन्छ । यसको अर्थ अटोबजारमा ईभीले नै महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । ईभीको बजार बढ्नुमा आकर्षक मोडल, क्षमता, फिचरहरु र इन्धनको बचतलगायतले मुख्य भूमिका खेलेको छ ।

ईभी आउँदा सुरुवाती चरणमा विभिन्न समस्या देखिएको थियो । चार्जिङ स्टेसनको कुरा थियो । दक्ष जनशक्तिकै कुरा थियो । विस्तारै चार्जिङ स्टेसनहरु पनि थपिँदै गएका छन् । चार्ज गर्न नपाइएला कि भन्ने स्थिति ठूला सहरबजार र सडक क्षेत्रमा छैन । आगामी दिनमा चार्जिङ स्टेसनको समस्या हट्छ । अटोबजारले अब गति लिने विश्वास छ ।

(नाडा अटोमोवाइल एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको यो लेख इमान जर्नल २०८१ बाट साभार गरिएको हो ।)

वि.सं.२०८१ फागुन २८ बुधवार १६:०५ मा प्रकाशित

You can share this post!

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त आवश्यक : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१७

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास...

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

भूकम्पको एकदशकः अझै सकिएन साततले दरबारको पुनःनिर्माण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:१०

रामहरि न्यौपाने त्रिशूली (नुवाकोट) : गोरखा भूकम्पको १० वर्षपछि पनि...

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

सिंहदरबार गेटबाटै फर्कियो शिक्षक महासंघ, मन्त्रीसँगको वार्ता भाँडियो, यस्तो छ कारण

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १७:०२

काठमाडौं : शिक्षामन्त्री रघुजी पन्तसँग औपचारिक भेटका लागि सिंहदरबार पुगेको...

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:५४

चितवन : साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर...

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

शिक्षकमाथि सरकारको पुनः आग्रह : “विधेयक छलफलमै छ, वार्तामा बसौं”

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:०८

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको आन्दोलनलाई लिएर...

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण   

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १३:५८

काठमाडौँ : नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको...