
काठमाडौं । आज चैत १ गते, शुक्रबार, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।
कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४२२ जना आवेदकहरुले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन ११९.८५ गुणा बढी हो । मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जसमा १९ हजार ५७७ जनाले मात्र शेयर हात पारेका छन्। बाँकी १८ लाख ६२ हजार ८४५ जनाको भने हात खाली भएको छ । सोमध्ये भाग्यमानी ३ जनाले भने थप एक कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्।
लघुवित्तले गत फागुन १८ गतेदेखि २१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता शेयर निष्काशन गरेको थियो।
एफपीओको नतिजा हेर्नका लागि :
१. बिक्री प्रबन्धकको वेबसाइट : https://www.nmbcl.com.np/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
वि.सं.२०८१ चैत १ शुक्रवार १०:४५ मा प्रकाशित