
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका छन्। नेप्सेमा सीईओ नियुक्ति प्रक्रियाअनुसार गठित सिफारिस समितिले पाँच जनाको नाम छनोट गरी अन्तर्वार्ताका लागि अघि बढाएको हो।
सिफारिस समितिले सार्वजनिक गरेको सूचीअनुसार चुडामणी चापागाईं, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल अन्तर्वार्ताका लागि सिफारिस भएका छन्। नेप्से सीईओ पदका लागि १० जनाले आवेदन दिएका थिए, जसबाट उत्कृष्ट पाँच जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको हो।
सीईओ छनोट प्रक्रियाअनुसार सर्टलिस्ट भएका उम्मेदवारहरूको अन्तर्वार्ता लिइनेछ। अन्तर्वार्तापछि योग्य र सक्षम उम्मेदवारलाई बोर्डको सिफारिसमा नियुक्त गरिनेछ।
नेपालको पूँजी बजारको स्थायित्व, प्रविधिगत सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा समग्र सेयर बजारको दीर्घकालीन विकासमा नयाँ सीईओको महत्वपूर्ण भूमिका रहनेछ।
नयाँ नेतृत्वले नेप्सेमा पारदर्शिता, प्रविधि मैत्री प्रणाली र सेयर बजारको विश्वसनीयता बढाउन कस्ता नीतिगत सुधार ल्याउनेछन् भन्ने चासो अहिले लगानीकर्ता तथा सरोकारवालामाझ छ। सीईओको छनोट प्रक्रिया छिट्टै टुंगो लाग्ने नेप्सेले जनाएको छ।
वि.सं.२०८१ चैत ३ आइतवार १०:३९ मा प्रकाशित