
काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण अन्तिम चरणमा पुगेसँगै अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा सुरक्षा र व्यवस्थापनमा कडाइ गरेको छ।
अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले जानकारी दिनुहुँदै भन्नुभयो, “बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा सुझाव लिने कार्य सम्पन्न भइसकेको छ। अहिले तयारीका कार्यहरू व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाइँदैछ, त्यसैले मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो।”
गत वैशाख महिनासम्म सार्वजनिक र सरोकारवालासँग सहज छलफल र परामर्शको वातावरण उपलब्ध गराइएको थियो। तर हाल आन्तरिक तयारी र अन्तिम मस्यौदा निर्माणमा केन्द्रित अर्थ मन्त्रालयले सिमित पहुँच नीति कार्यान्वयनमा ल्याएको हो।
संघीय संसदको आगामी बैठकमा, जेठ १५ गते, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसबर्ष बजेटमार्फत राजस्व वृद्धि, खर्चको अनुशासन, उत्पादनमुखी नीति, र संघ–प्रदेश–स्थानीय सरकारबीच समन्वयमा जोड दिइने अपेक्षा गरिएको छ।
वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:०३ मा प्रकाशित