
काठमाडौँ : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा योजनाअन्तर्गत २० लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण गरेको छ। चितवनको भरतपुर–३ निवासी महेश बानीयांलाई कलेजो प्रत्यारोपणपछि बीमा रकम प्रदान गरिएको हो।
बानीयांले २०७७ सालको चैत्र महिनामा रिलायबलको हाकिमचोक शाखा, भरतपुरबाट १५ वर्षको अवधि रहने २० लाख रुपैयाँको जीवन बीमा पोलिसी लिएका थिए। उनले केवल तीन किस्ता बीमा शुल्क तिरेको अवस्थामा, २०८० वैशाख २ गते सामान्य स्वास्थ्य परीक्षणका क्रममा कलेजोमा गम्भीर समस्या पत्ता लागेको थियो।
थप उपचारका लागि उनलाई काठमाडौँस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकको सल्लाह अनुसार २०८१ पौष १५ गते उनको कलेजो प्रत्यारोपण गरिएको थियो। झण्डै ४० लाख रुपैयाँ खर्च लाग्ने यस्ता उपचारमा बीमा कम्पनीबाट प्राप्त रकमले आर्थिक राहत मिलेको बीमित बानीयांले बताएका छन्।
संपूर्ण उपचारपछि आवश्यक कागजात पेश गरेपछि बीमालेख बमोजिम रिलायबलले छोटो समयमा नै रकम हस्तान्तरण गरेको हो। रकम हस्तान्तरणका लागि २०८२ जेठ ७ गते हाकिमचोक शाखामा आयोजना गरिएको विशेष कार्यक्रममा शाखा प्रमुख राजकुमार दाहालले २० लाखको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बीमित बानीयांले यस्तो कठिन समयमा बीमा कम्पनीले देखाएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै बीमाको महत्त्वलाई अझ गहिरो रूपमा बुझेको बताए। उनले आफैं जस्तै अन्य व्यक्तिहरूलाई पनि समयमै बीमाको पहुँचमा ल्याउने संकल्प व्यक्त गरे।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले बीमाको सामाजिक तथा आर्थिक सुरक्षा पक्षमा प्रकाश पार्दै जोखिमको क्षति न्यूनीकरणका लागि स्वस्थ अवस्थामा नै बीमा गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।
वि.सं.२०८२ जेठ ९ शुक्रवार १४:३४ मा प्रकाशित