
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा निर्माण गरिन लागिएको ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि करिब १ अर्ब ३६ करोड रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन गर्ने सहमति भएको छ।
सो सहमतिपत्रमा एभरेष्ट बैंकका तर्फबाट कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
मनाङ जिल्लाको नासोँ गाउँपालिकामा अवस्थित यो आयोजना बुंगल पावर कम्पनी लिमिटेडले प्रवर्द्धन गरेको परियोजना हो। आयोजनाको निर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित चाइनिज ठेकेदारलाई इपिएस’ मोडलमा जिम्मा दिइएको छ। आयोजनाबाट उत्पादित विद्युत् मनाङको धारापानीस्थित सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
यस आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद सम्झौता वैशाखमा सम्पन्न भइसकेको छ। आयोजना सम्पन्न भएपछि वार्षिक ४४.४६३ गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
पंजाब नेशनल बैंक, भारतसँगको संयुक्त साझेदारीमा सञ्चालित एभरेष्ट बैंकले हालसम्म करिब १४ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। बैंकका देशभर १३२ वटा शाखा, ४ एक्सटेन्सन काउन्टर र ७ वटा प्रादेशिक कार्यालय रहेका छन्।
बैंकले विश्वव्यापी सञ्जालमार्फत अत्याधुनिक मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआर बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। साथै, नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रमार्फत सेवा दिँदै आइरहेको छ।
एभरेष्ट बैंकले भारतको नयाँ दिल्लीसहित अन्य देशमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गरिरहेको छ।
वि.सं.२०८२ असार ४ बुधवार ०६:३३ मा प्रकाशित