
काठमाडौं : मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका करोडौं रकम ठगी गरी फरार रहेका मुख्य अभियुक्त ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) बाट खटिएको प्रहरी टोलीले उनलाई असार ४ गते नेपाल ल्याएर ब्यूरोको हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।
भण्डारीविरुद्ध सन् २०२४ अक्टोबर २९ (२०७८ कार्तिक १३) मा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इण्टरपोल) मार्फत रेड नोटिस जारी भएको थियो। उनी लामो समयदेखि थाईल्याण्ड र कम्बोडियामा लुकीछिपी बसेर सहकारीका सदस्यहरूसँग ठगी गर्दै आएको प्रहरीले जनाएको छ।
मितेरी सहकारीका १४४ जना बचतकर्ता र सञ्चालकहरूको समेत गरी १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा भण्डारीविरुद्ध अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा भण्डारीले मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरुङमार्फत सहकारीका पदाधिकारीहरूसँग सम्पर्क गरी आफूले सहकारीको रकम थाईल्याण्डबाट फिर्ता गराइदिने आश्वासन दिएको खुलेको छ। उनले WhatsApp मार्फत सहकारीका सचिव कृष्ण बहादुर रानालाई रु. ३३ करोड ११ लाख रकम पठाएको भन्दै नक्कली टोकनको फोटो समेत पठाएका थिए।
यसै क्रममा भण्डारीले रकम फिर्ता गराउन कमिसन तिर्नुपर्ने भन्दै सहकारीका पदाधिकारीहरूसँग व्यक्तिगत रुपमा थप रु. ३ करोड ४४ लाख ७४ हजार ३२० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
भण्डारीको नाममा दुई वटा राहदानी फेला परेका छन् जसमा फरक फरक नागरिकता नम्बर र फरक जन्मस्थान उल्लेख छन्। उनले अन्य व्यक्तिहरूको नागरिकता तथा राहदानी कीर्ते गरी सो विवरण दुरुपयोग गरेको पनि खुलेको छ।
प्रहरीका अनुसार भण्डारीले विभिन्न नक्कली नामबाट फेसबुक र WhatsApp खाताहरू सञ्चालन गरी ठगी गतिविधि गरिरहेको र उनीमाथि जिल्ला प्रहरी परिसर, काठमाडौँमा ठगीसम्बन्धी तीन वटा छुट्टाछुट्टै मुद्दा समेत दर्ता भएका छन्।
नेपाल प्रहरीले भण्डारीबाट ठगीमा परेका अन्य पीडितहरूलाई सम्पर्क गरी उजुरी दिन समेत आग्रह गरेको छ।
वि.सं.२०८२ असार ५ बिहीवार १२:५५ मा प्रकाशित