
वीरगञ्ज (पर्सा) : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै नेपालले ५ खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात गरेको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यो १४.४४ प्रतिशतले वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ। अघिल्लो वर्षको ११ महिनामा यो नाका हुँदै ४ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
भन्सार कार्यालयका अनुसार चालु आवको ११ महिनामा सबैभन्दा बढी आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेका छन्। पाँच प्रकारका पेट्रोलियम पदार्थमध्ये मात्रै १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ बराबरको इन्धन वीरगञ्ज नाका हुँदै नेपाल भित्रिएको छ। त्यसपछि दोस्रो ठूलो आयात भटमासको कच्चा तेल हो, जसको आयात मूल्य ५२ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, सो अवधिमा ३३ अर्ब १९ करोड रुपैयाँ बराबरका मेसिनरी र पार्टपुर्जा, ३१ अर्ब ३९ करोड रुपैयाँ बराबरका फलाम तथा फलामजन्य सामग्री र २६ अर्ब २३ लाख रुपैयाँ बराबरका एलोपेथिक औषधिहरू वीरगञ्ज नाका हुँदै भित्रिएको भन्सार कार्यालयले जनाएको छ।
आयात मात्र होइन, चालु आवको ११ महिनामा वीरगञ्ज नाका हुँदै नेपालले ९१ अर्ब ५१ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान निर्यात समेत गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मात्र २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। यसअनुसार चालु आवमा निर्यात २२१.७७ प्रतिशतले वृद्धि भई ६३ अर्ब ७ करोड रुपैयाँले बढेको देखिन्छ।
भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा आयात र निर्यात दुवै सन्तोषजनक छन्। “बजेटका कारण व्यापारमा उत्साह देखिएको छ,” उनले भने।
निर्याततर्फ सबैभन्दा बढी भटमासको प्रशोधित तेल पठाइएको छ। चालु आवको ११ महिनामा ५५ अर्ब ३ करोड रुपैयाँ बराबरका २५ करोड ८८ लाख लिटर भटमासको प्रशोधित तेल विदेश निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा मात्र ८ करोड ८३ लाख रुपैयाँ बराबरका ४ लाख ६४ हजार लिटर तेल निर्यात भएको थियो।
त्यस्तै, चालु आवको ११ महिनामा ८ अर्ब ४० करोड रुपैयाँ बराबरका ३ करोड ८८ लाख लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। गत वर्ष सोही अवधिमा भने मात्र ९ करोड ९४ लाख रुपैयाँ बराबरका ५ लाख २७ हजार लिटर सूर्यमुखीको तेल विदेश पठाइएको थियो।
वि.सं.२०८२ असार ८ आइतवार ११:३७ मा प्रकाशित