
काठमाडौं। नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
काठमाडौंमा आयोजित एक समारोहमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दीप प्रज्वलन गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। त्यस्तै, चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिबन काटेर संस्थाको औपचारिक उद्घाटन गरिन्। उद्घाटन कार्यक्रममा बोल्दै संग्रौलाले, “इन्भेष्टमेन्ट गुरुले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउनेछ,” भन्ने विश्वास व्यक्त गरिन्।
इन्भेष्टमेन्ट गुरुका प्रमुख कार्यकारी अधिकृत अमित झाका अनुसार, संस्था आम नागरिकलाई वित्तीय साक्षरता प्रदान गर्ने र सशक्त लगानीकर्ता उत्पादन गर्ने लक्ष्यसहित स्थापना गरिएको हो। “विशेषगरी नयाँ लगानीकर्ता र शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरी कक्षा सञ्चालन गरिनेछ,” झाले बताए।
संस्थाले अनलाइन र भौतिक दुवै माध्यमबाट शिक्षा दिने व्यवस्था मिलाएको छ। सुविधा सम्पन्न कक्षा कोठा तयार गरिएको छ, जहाँ एकसाथ भौतिक र अनलाइन कक्षा सञ्चालन गर्न सकिनेछ।
इन्भेष्टमेन्ट गुरुले शेयर बजारका आधारभूत सिद्धान्त, लगानीका तरिका, जोखिम व्यवस्थापन, बजार विश्लेषण, प्रतिफल मूल्यांकन लगायतका विषयमा प्रशिक्षण, सेमिनार र परामर्श सेवा प्रदान गर्ने जनाएको छ।
संस्थापक झा स्वयं विगत पाँच वर्षदेखि शेयर सम्बन्धी प्रशिक्षण र परामर्श क्षेत्रमा सक्रिय छन्। उनका अनुसार, ‘इन्भेष्टमेन्ट गुरु’ मार्फत आधारभूतदेखि उन्नत स्तरसम्मको शेयर शिक्षा प्रदान गरिनेछ।
निकट भविष्यमा देशका विभिन्न भागहरूमा शेयर शिक्षा विस्तार गर्ने योजना पनि संस्थाले अघि सारेको छ।
वि.सं.२०८२ असार ८ आइतवार १२:०० मा प्रकाशित