
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आज असार ९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी शेयर निष्काशन गरेको हो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३ करोड ५ लाख रुपैयाँ जारी पूँजीमध्ये ३८.३३ प्रतिशत बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति दिएको छ। यसमध्ये १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका, बागलुङ जिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाउँपालिकाका बासिन्दाले यसमा आवेदन दिन सक्नेछन्।
कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये २९ लाख १९ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गर्न लागेको छ। यसबाहेक कम्पनीका कर्मचारीका लागि ५८ हजार ३९० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता शेयर छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ५० हजार कित्तासम्म माग गर्न पाइनेछ। आयोजनामा स्थानीय बासिन्दाका लागि आवेदन दिने अन्तिम मिति छिटोमा असार २३ गते र ढिलोमा साउन ६ गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने असार २३ गतेभित्र आवेदन दिनुपर्नेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। आवेदनका लागि स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको वामी शाखा, लक्ष्मी सनराइज बैंकको गल्कोट शाखा, प्रभु बैंकको गल्कोट शाखा र दरम खोला पावरहाउसमा दरखास्त फाराम बुझाउन सक्नेछन्। फाराम प्राप्त गर्न दुई रुपैयाँ शुल्क तिर्नु पर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
वि.सं.२०८२ असार ९ सोमवार ११:०० मा प्रकाशित