Logo

निर्माण व्यवसायी महासंघमा कार्कीको जीत सुनिश्चित, यस्ता छन् कारण

निर्माणमैत्री कानुन निर्माण मेरो प्रमुख एजेन्डा हो

यक्ष ध्वज कार्की, अध्यक्षका उम्मेदवार

नेपाल निर्माण व्यवसायी महासंघको संस्थापक सदस्य हुँदै सचिव, महासचिव, प्रथम उपाध्यक्ष र अध्यक्ष समेत भइसकेका यक्ष ध्वज कार्की दोस्रो पटक महासंघको नेतृत्वका लागि मैदानमा हुनुहुन्छ । २०१२ साल पुस २० गते दोलखाको साबिक खारे गाउँ विकास समिति वडा नम्बर २ मा जन्मिएका कार्कीसँग निर्माण व्यवसायको लामो अनुभव छ । महासंघको नीतिगत र संस्थागत सुधारमा समेत उल्लेख्य भूमिका निर्वाह गरेका कार्की स्वच्छ र इमानदार व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । काठमाडौँमा जारी महासंघको २० औँ साधारणसभामा अध्यक्ष पदका प्रत्यासी कार्की आफ्नो विजय सुनिश्चित रहेको बताउनुहुन्छ । महासंघको अध्यक्षमा जित्ने आधार र भावी कार्ययोजनाका विषयमा उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

पहिले पनि एक कार्यकाल नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष भइसकेको मान्छे फेरि अध्यक्षका लागि मैदानमा हुनुहुन्छ, किन ?

सर्वप्रथम म यहाँलाई के निवेदन गर्छु भने म महासंघको संस्थापक सदस्य पनि हुँ । मैले २८ वर्षअघि यो महासंघ बनाउन ठुलो भूमिका खेलेको थिएँ । मैले दुई कार्यकाल सचिव, एक कार्यकाल महासचिव, प्रमथ उपाध्यक्ष, सल्लाहकार हुँदै अध्यक्ष भएँ । मैले अध्यक्ष र महासचिव भएको कार्यकालमा धेरै उपलब्धिहरू गरेँ । उदाहरणका लागि २०५४ सालमा महासचिव थिएँ, त्यति बेला नेपाल निर्माण व्यवसायी संघलाई महासंघ बनाएर देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन बनाउने काम गरेँ । यसमा भेरो अहम् भूमिका रह्यो । त्यसले गर्दा साथीहरूले मलाई विश्वास गर्नुभएको छ र उहाँहरूको चाहाना अनुसार पनि म पुनः अध्यक्षका लागि खडा भएको हुँ ।
दोस्रो कुरा जब म २०६५ सालदेखि ०६८ सालसम्म अध्यक्ष भएँ त्यति बेला मैले सांगठनिक सुधारका थुप्रै काम गरेँ । नेपाल निर्माण व्यवसायी महासंघको विधानमा आमूल संशोधन गरेर सानो वर्ग, पिछडिएको वर्ग, जनजाति, मधेस, दुर्गम, अञ्चल अनुसार भूगोलको प्रतिनिधित्व, तत्कालीन क्षेत्रीय संघको अवधारणा अनुसार उनीहरूको नेतृत्व क्षमता विकास गरेर नेपाल निर्माण व्यवसायी महासंघलाई सबै तह र तप्काको छाता संगठन बनाउने काम गरेँ ।
त्यसपछि आएर सबैभन्दा महत्त्वपूर्ण काम के भने नीतिगत सुधार गरेँ मैले । नीतिगत सुधार के भने बोलपत्र पुस्तिकामा भएका क्राइट एरियाहरू (सीमाहरू) कति कडा थिए कि निर्माण व्यवसायमा भाग लिन जो पायो त्यसले सक्ने अवस्था थिएन । त्यो अवस्थालाई चाहिँ बोलपत्रको टर्न ओभर घटाएँ, सर्टिफिकेट घटाएँ, ८० प्रतिशतमा सर्टिफिकेट मागे,तीवटा सर्टि्फिकेट माग्ने चलन थियो त्यसलाई एउटा सर्टिफिकेटमा झारेँ, कामको अढाई गुण टर्न ओभर माग्ने चलन थियो, लागत अनुमान अंकको डेढ गुणासम्म मात्रै टर्न ओभर मागेँ यसले गर्दा धेरै साथीहरूले यो पेसामा छिर्ने मौका पाउनु भो । यसले केही साथीहरूलाई माथिल्लो तहमा जान सहयोग पुग्यो ।

व्यवसायीहरू असुरक्षित हुने, बोलपत्र हाल्न नपाउने जस्तो समस्याहरू थिए, केही हदसम्म आजका दिनमा पनि छन, त्यसमा तपाईँको भूमिका के रह्यो ?

–तपाईँले भनेको कुरा ठिक हो । हाम्रा साथीहरूले बोलपत्र हाल्न नसक्ने, ठाउँ ठाउँमा हाम्रा साथीहरू हाइ ज्याक भएको अवस्था थियो मैले सरकारसँग सहकार्य गरेर ती साथीहरूको, फर्महरूको शान्ति सुरक्षा कायम गरेँ । र, सानो वर्गले पनि काम पाउने वातावरणमा पनि काम दिलाइदिने अवस्था सिर्जना भयो । त्यो सबै कारणले गर्दाखेरि साथीहरूको मप्रति विश्वास बढेपछि तिमी फेरि एक पटक महासंघको नेतृत्वमा आउनुर्पयो । अहिले हामी समस्या छौँ, सरकारले हामीलाई विश्वास गरेको अवस्था छैन, जनता समक्ष हाम्रो विश्वास घटेको छ । सरकारी संयन्त्रले मनपरी हिसाबले ठेक्का बन्दोवस्त गरेको छ, सीमित संस्थाहरूलाई मात्र काम दिने गरेको अवस्था छ, सानो वर्ग, छिटडिएको वर्गले काम नपाएको अवस्था छ, शान्ति सुरक्षा कमजोर भएको अवस्था छ, त्यसैले यी सबै कुराहरूले गर्दा तिमी फेरि एक पटक नेतृत्वमा जानुर्पयो, महासंघको तिमीले संगठन त बनायौ पहिले नीतिगत सुधार त र्गयौ, त्यो अहिले ह्रास भएर गयो त्यसलाई जोगाउन आवश्यक छ, परिमार्जन गर्न आवश्यक छ, त्यस कारण तिमीले नेतृत्वमा जानुपर्छ भनेर देशैभरीका साथीहरूको आग्रह बमोजिम म उम्मेदवार भएको हुँ । र, भावी दिनमा पनि साथीहरूको व्यावसायिक र सबै किसिमको सुरक्षाका लागि मेरो भूमिका अझ सशक्त रहनेछ ।

जसरी निर्माण व्यवसायीहरूलाई अफ्ठ्यारो पर्नेगरि मुलुकी अपराध संहिता बनेको छ भनेर यहाँहरूले भनिरहनु भएको छ, अब त्यसलाई सच्याउन लागि, निर्माण व्यवसायीलाई परेको अन्यायलाई सम्बोधन गर्नका लागि तपाईँको भूमिका के रहन्छ ?

अहिलेको सरकार दुई तिहाइको बनेको छ । एउटै पार्टी नै झन्डै दुई तिहाइ बहुत प्राप्त भएको स्थितिमा छ भनेपछि यो सरकार दिगो सरकारका रूपमा खडा भएको छ । यो ऐन अहिलेको सरकारले ल्याएको त होइन तर, लागू चाहिँ अहिलेको सरकारले गरेको हो । यो ऐन विगतको सरकारले बनाएको कुरा स्पष्ट छ । तर, हालसालै लागू भएको अवस्था छ । यसले गर्दा सरकार र हामीमा अलिकति ग्याप चाहिँ रह्यो । तर, अहिले यो ग्याप हटेर गइरहेको अवस्था छ । हिजो मात्रै सम्माननीय प्रधानमन्त्री ज्यूले त्यस्तो छ भने आउनुहोस् सहकार्य गरेर जानुपर्छ, यसमा के नमिलेको छ त्यसलाई तपाइहरूसँग छलफल गरी निराकरण गर्न हामी तयार छौँ भन्नुभएको छ । मेरो जित भयो भने मैले सरकारलाई विश्वासमा लिन सक्छु, साथीभाइको विश्वास छ मलाई । त्यो ऐन परिमार्जन, संशोधन वा खारेज गर्न म सक्छु भन्ने दृढ विश्वास छ ।

हामीलाई बाँध्ने, कारबाही गर्ने ऐन त निर्माण व्यवसायी ऐन २०५५ छ, त्यो अन्र्तगत बनेको निर्माण व्यवसायी नियमावली २०५६ छ । त्यो भन्दा निठेक्का बन्दोबस्त गर्ने सार्वजनिक खरिद ऐन २०६३ पहिलो संशोधन छ, त्यस्तै गरेर सार्वजनिक खरिद नियमावली २०६४ पाँचौँ संशोधन छ । यी दुईवटा ऐन हामीलाई यति धेरै कारबाही गर्ने यथेष्ट आधारहरू छन् कि सात आठ वटा आधारहरू छन् । त्यसले गर्दा हामीलाई कारबाही गर्न जतिखेर पनि सरकारको हात माथि रहन्छ । अहिले पनि ४५ बढी कम्पनीहरू कारबाहीमा परेर कालोसूचीमा छन् ।

पहिलो कुरा त सरकारले हाम्रो ठेक्का तोड्नु नै सजाय हो । दोस्रो, ठेक्का तोडिसकेपछि सुरुमा राखेको धरौटी पनि सरकारले जफत गर्छ । तेस्रो, ठेक्का बन्दोबस्त भइसकेपछि काम गर्दै गरेको रनिङ बिलको धरौटी पनि जफत हुन्छ । चौथो, एक वर्षदेखि तीन वर्ष कालो सूचीमा राख्छ । कालो सूचीमा राखेको बखत कुनै पनि टेन्डरमा भाग लिन पाइँदैन, काम लिन पाइँदैन । पाँचौँ, त्यो ठेक्का तोडिसकेपछि अर्को संस्था, कम्पनीहरूलाई दिएको लाग्ने थप खर्च चाहिँ हामीलाई राजश्व असुली सरह भराउन पाउने सार्वजनिक खरिद ऐनर नियमावलीमा व्यवस्था छ । भनेपछि त्यो नै काफी छ नि । यो चाहिँ सामाजिक अपराधजस्तो ऐनमा हामीलाई राख्न जरुरी छैन । त्यस कारण यो ऐनको दफा २५० छ, यसलाई खारेजै गर्न पर्छ भन्ने मेरो दृढ धारणा हो, किनभने त्यो मुलुकी संहिता ऐनमा राख्न जरुरी छैन । बरु त्यस्तो कुनै छन् भने सरकासँग सहकार्य गरेर हामी गुणस्तरयुक्त काम गर्न, समयमा काम गर्न तयार छौँ ।

तपाईँले यसो भनिरहँदा निर्माण व्यवसायीहरू काम लिन्छन् तर, काम समयमा पुरा गर्दैनन्, गुणस्तरीय काम गर्दैनन् भन्ने गुनासो सुन्नमा आउँछ । आक्षेपहरू लाग्ने गर्छन् । यो आक्षेपबाट निर्माण व्यवसायीलाई मुक्त गराउन र सरकारको सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई सघाउन तपाईका योजनाहरू के के छन् ?

पहिलो कुरा त सकरसँग सहकार्य नगरेर कुनै पनि उद्योग फस्टाउँदैन । यो उद्योग भनेको उद्योगहरूको पनि उद्योग यानिकी माउ उद्योग हो । यो उद्योगबिना कुनै पनि उद्योग अघि बढ्न सक्दैनन् । न शिक्षा अघि बढ्छ हामीले नबाढाइकन, न पर्यटन व्यवसाय अघि बढ्छ, न कृषि उद्योग । कलकारखाना खोल्नुर्पयो भने पनि हामी नभई हुँदैन, त्यस कारण मैले भन्ने गरेको छु निर्माण व्यवसाय उद्योग भनेको माउ उद्योग हो । यहाँ हाम्रा पनि कमीकमजोरी भए, हाम्रा कुरा सरकारलाई बुझाउन सकेनौँ । अर्को कुरा देशमा अस्थिर सरकार बन्दै गयो, छिटो छिटो सरकार ढल्ने, छिटो छिटो संसद विघटन हुने जस्ता कारणले पनि हामी हाम्रो उद्देश्य अनुसार अघि जान सकेनौँ । त्यसो भएको हुनाले सरकारलाई बुझाउन जरुरी छ ।

पहिले के हुन्थ्यो भने एउटा सरकारलाई बुझायो, अर्को सरकार फेरिन्छ त्यसलाई बुझाउन समय लाग्ने हुन्थ्यो । अहिले त्यो अवस्था छैन । मैले अघि पनि भने सरकारसँग सहकार्य गर्न पर्छ । मूल समस्या के हो भने यी ऐन, नियम, कानुनहरू, टेन्डरका सर्तनामाहरु निर्माणमैत्री छैनन्, एकतर्फी छ । त्यो कर्मचारी वर्ग, शासक वर्ग वा राज्यपक्षको तर्फबाट मात्र छ । त्यसलाई परिमार्जन गरेर सबैको विश्वासयोग्य, सबैको जिम्मेवारी बनाउन र्पयो । दोहोरो बनाउनुर्पयो ।

हामीलाई मात्र धकेपछि त कसले काम गर्छ, विदेशी आएर गर्दिने हो र ?नेपालीले नै बनाउने हो । विदेशीको काम हेर्नुस् न, मेलम्ची आयोजनाको हालत के भयो ? मैले सुनेको त्यहाँ एक खर्ब ३७ अर्बको दाबी परिरहेको छ भन्ने छ । दाबी त आयो नि आखिर । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको ठेक्का तोड्यो सरकारले, कुलेखानी हेर्नुस् कति वर्ष भयो, त्यसको लागत कहाँ पुग्यो ? त्यसैले गर्दा एउटा कुरा चाहिँ के ध्रुव सत्य हो भने हामी नेपालीहरू जो सक्षम साथीहरू हुनुहुन्छ, अग्रज साथीहरू हुनुहुन्छ उहाँहरूले गर्न नसक्ने काम चाहिँ विदेशीलाई दिने हो, दिनुपर्छ, त्यसमा दुई मत छैन, अन्यथा ती अग्रज साथीहरूले गर्न सक्ने काम विदेशीलाई दिन हुन्न, हामीले गर्ने काम विदेशीलाई दिन हुन्न । तर, हाम्रो एउटा ठुलो जमात काम नपाएर बसिरहेको अवस्था छ । त्यसलाई समाधान गर्न ऐन संशोधन गर्न र्पयो त्यसका लागि सरकासँग सहकार्य गर्न आवश्यक छ, एकतर्फी टेन्डर डकुमेन्ट संशोधन गर्न आवश्यक छ । मान्छे हेरेर, कम्पनी हेरेर सर्तनामा राखिन्छ, त्यसलाई पारदर्शी बनाएर स्वच्छ वातावरणमा टेन्डर हाल्न सक्ने, ऐन, नियम र कानुनहरू बनाउन आवश्यक छ ।

अब सरकारलाई हामीले विश्वास जोगाउँदै जानुपर्छ, अबको निर्वाचनपछि महासंघको नेतृत्व लिएँ भने म त्यो गर्न सक्छु भन्ने मलाई विगतको लामो अनुभवले पनि सिकाएको छ । जस्तो तपाईँलाई अर्को कुरा निवेदन गरिहालूँ, गृहप्रशानले नेपाली निर्माण व्यवसायीलाई काम गरेनन् भनेर धरपकड गर्ने, चिठीपत्र पठाउने यावत् कुराहरू भए, नेपाल निर्माण व्यवसायी महासंघ डेलिगेशनमा गयो, हामीले आफ्ना कुरा भन्यौँ, तर पनि कम भएन । पछि मेरै पहलमा नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यो कुरा बुझायौँ ।

ढिलो हुनुमा हाम्रो मात्र दोष छैन । हामी बामे सर्दै गरेको उद्योग हौँ, अविकसित देशका निर्माण व्यवसायी भएको हुनाले क्रमिक रूपले हामी पनि विकसित हुँदै छौँ । हाम्रो कमजोर अवस्था छ, हामी दोषी छौँ तर, ७५ प्रतिशत दोषी त सरकार पक्ष र समाज पक्ष छ । त्यसका लागि हामीले जचेतना जगाउनु छ, सरकासँग यो कुरा बुझाउन सक्नुपर्छ, ठेक्का भनेको के हो?ठेक्काको स्कोप, ठेक्काका आधारहरू, सर्तनामाहरु के के हुन, हामीले के के गर्नुपर्छ भन्ने सम्झाउनुपर्छ । मैले अघि पनि भनेँ, मैले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीलाई भेटेर बुझाएपछि उहाँहरू कन्भिन्स हुनुभयो, निर्देशन दिनुभयो । हामीलाई कारबाही गर्ने नियम हुँदा हुँदै यस्तो नगर्नुस, निर्माण उद्योग थला पर्छ, यसरी गर्न हुन्न भनेर समस्या सुनाएपछि कन्भिन्स हुनु भो, यो कुरा सरकारले बुझ्यो र अहिले एक किमसिले निर्माण व्यवसायीमाथिको धरपकड कम भएको अवस्था छ ।

तपाईँले आफूले गरेको नीतिगत सुधारदेखि संस्थागत सुधारका धेरै कुरा त सुनाउनुभयो । यति मात्रै भन्दा पनि यो निर्वाचनमा तपाईँ विजयी हुने थप आधारहरू चाहिँ के के हुन् ?

पहिलो कुरा त मैले लामो समय निर्माण व्यवसायी महासंघमा संगालेको अनुभव नै हो । सफल नेतृत्व नै हो । दोस्रो कुरा के हो भने मैले विगतमा संस्थाभित्र रहेर होस् वा बाहिर रहेर गरेको योगदान हो । म क्रमशः सचिवदेखि अध्यक्ष भएको हुँ । २२ वर्षपछि म अध्यक्ष भएको हुँ, त्यत्रो समय मैले अग्रज साथीहरूलाई साथ दिँदै आएँ, मेरो त्याग र बलिदान महासंघका देखियो । महासंघ बनाउनुमा मेरो योगदान देखियो, त्यो आधार र विगतमा जुन नीति नियम संशोधन गरियो त्यो हिसाबले यसले यो काम गर्न सक्छ भन्ने आम निर्माण व्यसायीहरुको विश्वास छ । र, त्यो विश्वास नै मेरो जित्ने आधार हो । मेरो हिजोको त्याग, बलिदान, समर्पण, महासंघमा गरेको योगदान, निष्कलंक अध्यक्ष भएर बाहिरिएको मान्छे, अहिले साथीहरूले सल्लाहकारका रूपमा राख्नुभएको छ । सल्लाहकार हुँदा पनि मैले सकेको काम गरिराखेको छु, आफ्नो ठाउँबाट जति दिन सकिन्छ दिइराख्या छ । तर, साथीहरूको आग्रह के रह्यो भने बदल्दो परिस्थितिमा अझ फड्को मार्नुपर्छ भन्ने भयो, पुरानो ढर्रामा चलेर हुँदैन, कछुवा गतिको महासंघले हुँदैन, यसलाई अघि बढाउने भनेको यक्ष ध्वज कार्की नै हो भन्ने उहाँहरूको विश्वास रह्यो, उहाँहरूको प्रेरणा, उहाँहरूकै सल्लाह, सुझाव बमोजिम म उम्मेदवार भएको हुँ । मैले चुनाव जित्नेमा कुनै शंका छैन ।

मेरो अर्को आधार के हो भने मैले ५१ बुँदे प्रतिबद्धता जाहेर गरेको छु, त्यहाँ मैले अल्पकालीन, मध्यकालीन, दीर्घकालीन कार्य योजना, नीतिगत कार्ययोजनाहरु बनाएको छु । दृढसंकल्पित भएर लागू गर्ने मेरो प्रतिबद्धता छ । तसर्थ, मलाई भारी मत दिएर निर्वा्चित गराउनुहुनेछ भन्ने सम्पूर्ण मतदाता साथीहरूप्रति विश्वास छ । पर्यवेक्षक साथीहरूलाई त्यसमा सरिक भइदिन पनि अनुरोध गर्दछु । यहाँहरूको सदिक्षा, भरोसा अनुसार म दृढसंकल्पित भएर नेतृत्व सम्हाल्नेछु । त्यो अर्जुन दृष्टि मसँग छ, त्यो यहाँहरूले देख्नु भएकै छ । र, दृढसंकल्पित योजनाबद्ध ढंगले काम गर्ने मेरो योजना रहेकाले साथीहरूलाई त्यही अनुसार विश्वास दिलाउन चाहन्छु ।

नेतृत्वमा पुगिसकेपछि तपाईँको भावी योजना के छ ?

मैले गर्ने धेरै कामहरू घोषणापत्रमा पनि उल्लेख गरिसकेको छु । मैले आफू काम गर्न सक्छु भन्ने विगतबाट प्रमाणित गरिसकेको छु । म महासंघको नेतृत्वमा पुगे भनेँ सर्वप्रथम सार्वजनिक खरिद ऐन र नियमावलीमा भएका अव्यवहारिक र अमिल्दा प्रावधानलाई संशोधन गराउनेछु । १५ प्रतिशत भन्दा बढी घटी बोलपत्रमा थप धरौटीको व्यवस्थालाई खारेज गर्न सरकार समक्ष पहल गर्नेछु । मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५० लाई खारेज गर्न पहल गर्ने, १२ महिनाभन्दा कम अवधि र साना निर्माण कार्यमा मूल्यवृद्धि पाउने व्यवस्थाका लागि पहल गर्नेछु ।

यसै गरी, नेपालस्थित सबै अन्तर्रा्ष्ट्रिय संघ संघसंस्थाहरु सम्बन्ध बिस्तार गर्ने, राष्ट्रिय विकास परिषदमा महासंघको प्रतिनिधित्व गराउन पहल गर्नुका साथै अन्य यस्तै संघ संस्थाहरूसित सम्बन्ध कामय गरी प्रतिनिधित्व गराउने काममा पनि म अग्रसर हुनेछु ।

निर्माण व्यवसायी कल्याण कोष प्रभावकारी बनाउने, भवितव्य तथा दैवी प्रकोप कोषको व्यवस्था गर्ने, निम्नस्तरका निर्माण व्यवसायिकता छोरा–छोरीहरूलाई छात्रवृत्तिको लागि कोषको पनि सुरुवात गर्ने योजना बनाएको छु । म निर्वा्चित हुने बित्तिकै यी कामको सुरुवात गर्नेछु । अरू थुप्रै कामहरू छन्, जसलाई मैले अल्पकालीन, मध्यकालीन, दीर्घकालीन कार्ययोजनामा समेटेको छु ।

२०७५ असोज ५ गते प्रकाशित 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com