काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले कात्तिक १५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।
आईपिओ बिक्री गर्न सेयर विक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गर्ने भएका छन् । यस आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था रहेको छ । आईपिओमा कात्तिक १९ गतेसम्म आवेदन दिन सकिनेछ। धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन सक्नेछन् ।
यसअघि माथिल्लो तामाकोशीले साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि चुक्ता पुँजीको १० प्रतिशत अर्थात १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरिसकेको छ । यस शेयरको बाँडफाँड पश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो ।
दोलखाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजनाको अनुमानित लागत भने दोब्बर पुग्ने भएको छ । आयोजनाले २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि यसअघि नै निष्काशन गरिसकेको छ ।
यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको कम्पनीको भनाई छ ।
२०७५ असोज २९ गते प्रकाशित
वि.सं.२०७५ असोज २९ सोमवार १५:०५ मा प्रकाशित