२ अर्बले घट्यो जडिबुटीजन्य उद्योगमा लगानी, यस्तो छ कारण
काठमाडौं । पछिल्लो सात वर्षमा जडिबुटी उद्योगमा निजी क्षेत्रको लगानी २ अर्बले घटेको छ । लगानीमैत्री वातावरण नहुनु तथा निजी लगानीको प्रतिफल सुनिश्चतता अभावका कारण जडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको लगानी घटेको हो ।

७ वर्षअघि जडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको ७ अर्ब लगानी रहेको थियो । तर, हाल ५ अर्बमात्रै लगानी रहेको जडिबुटी उत्पादक तथा व्यवसायी संघले बताएको छ ।
संघका अनुसार सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तयार नगर्नु, झन्झटिलो सरकारी नीति, श्रमिकको अभाव, लगानीको प्रतिफल सुनिश्चत नहुनु, बिमा सुविधा नहुनु, उत्पादन घट्नु, अनुदानको व्यवस्था नहुनुलगायतका समस्याका कारण जुडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको आकर्षण घट्दै गइरहेको कारोवार दैनिकमा समाचार छ ।
निजी क्षेत्रलाई लगानीमैत्री वातावरण तयार गर्न सरकार तयार नरहेको र उल्टै झन्झटिलो नीति तर्जुमा गरिरहेको भन्दै उद्यमीहरूले आपत्ती बताइरहेका छन् ।
जडिबुटीमा निजी क्षेत्रको लगानी घट्दै जाने हो भने जडिबुटीबाट मुलुकलाई आर्थिक समृद्धि गर्ने सरकारी नीति पनि सफल नहुने उनीहरूको भनाइ छ । सरकारले समयमा नै लगानीमैत्री वातावरण तय नगरे अझै जडिबुटीजन्य उद्योगमा निजी क्षेत्रको लागनी घट्दै जाने उनीहरूको तर्क छ ।
वन तथा वातावरण मन्त्रालयले भने जडिबुटी खेती तथा वनजन्य उद्योगमा निजी क्षेत्रको लगानीमा आकर्षण गरिने बताएको छ ।
२०७६ साउन २८ गते प्रकाशित