काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीले असोज २४ गते साधारण सभा डाकेको छ । सभामा कम्पनीले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन लगायतका प्रस्ताव पनि पेश गरिनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा हुनेछ । सभा अकामा होटल, सुकेधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
यता, इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीले १०० रुपैयाँ दरको ३३ लाख ९८ हजार ४६ कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन पनि दिइसकेको छ ।
यो आइपीओमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँको आइपीओले ‘ग्रेड ४’ रेटिङ पाएको छ ।
केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । एनआरएन इन्फ्रास्टक्चरले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो ।
एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । जलविद्युत क्षेत्रका माध्यमबाट नेपालको राष्ट्रिय विकासमा योगदान पुर्याउने यस कम्पनीको उद्देश्य रहेको जनाइएको छ ।
२०७६ असोज ०१ गते प्रकाशित
वि.सं.२०७६ असोज १ बुधवार १३:३१ मा प्रकाशित