Logo

सम्बन्ध: प्रेम र पैसा

एकाबिहानै बजेको मोबाइलको घण्टि र घण्टिसँगैको आवाजले मन गह्रौं बनाएको छ । फोनमा एकजना दिदी भन्दै हुनुहुन्थ्यो , “बहिनी मेरा श्रीमान् भन्नुहुन्छ म उहाँको दिदी र छोराछोरी भान्जाभान्जि बनिदिनुपर्यो रे के मैले यसो गर्नु उचित हुन्छ त ?” मैले कुरा बुझिन र भने के भन्नुभएको दिदी ? मैले त कुरै बुझिन ।

उहाँले विस्तार लगाउनुभयो । “मेरा श्रीमान एकजना क्यानडामा बस्ने महिलासँग नक्कली बिहे गरेर डिपेन्डेन्ट भिसामा उता जानको लागि योजना बनाइरहनु भएको छ , भन्नुहुन्छ उता गएर सेटल नभइन्जेल सम्मलाई मैलै अविवाहित हँु भनेर ढाँटेको छु । तिमी र छोराछोरीको पालनपोषण गर्नका लागि म एकल दिदी र उहाँको छोराछोरी (भान्जाभान्जी) लाई मैले हेर्नुपछ भनेको छु केहि गरी उनले तिम्रो बारेमा सोधखोज गरिन् भने तिमिले आफु दिदि नै भएको बताउनु भन्नुभएको छ । मैले यस्तो किन गर्ने भन्दा भविष्य सुखी बनाउनको लागि अरु केहि गर्न सक्दिनस् भने मैले भनेको मान् नत्र म तिमीहरुसँग कहिलै भेट्दीन भन्नुहुन्छ , म के गरौं ?”  म अक्क न बक्क भएँ , भनेँ- दिदी दिउँसो भेटौं अनि बसेरै कुरा गरौंन है ।  ।।१।।

यस भन्दा अगाडीको अर्काे घटना पनि झट्ट मनमा आयो , सँगै हुँदा रातदिनको झगडा सहन नसकि कामको खोजिमा युएई गएकी रुपा (नाम परिवर्तन) लाई श्रीमानले बिरामी अवस्थामा समेत वास्ता गरेनन् । उता गएपछि पार्लरको काम सिकि आफ्नै बलबुताले काम गर्दै गइन् , अहिले उनको व्यापार अपार भएको छ । त्यति मात्र होइन उनका श्रीमान पनि तिमि बिना बाँच्न सक्दिन भन्दै उतै हानिएछन् र पहिले कहिलै नदेखाएको माया गर्छन् रे रुपालाई । ।।२।।

मायाले नै जीवन फुलाउँला भन्ने सोचेर बिबाह बन्धनमा बाँधिएका रमेश र सरिताको प्रेम कहानी सम्झन्छु , ८ वर्ष अगाडि अन्तर्जातिय बिबाह गरेका उनीहरुलाई न घरले स्विकारे न त माइति ले नै , बाहुनकी छोरी सार्कीसँग बिहे गरेर नाक काटि भन्दै समाजले कुरा काटेर उस्तै उछितो काटे । त्यो सब सहनु भन्दा समाजै त्यागेर जाने भन्दै काठमाण्डौं छिरेका उनीहरु दुबै जना रोजगार भै सकेका थिए । दिन राम्रै चल्दै थियो । छोरी पनि जन्मिएकि थिई । सानी छोरीको लालनपालनमा कुनै कमि हुन दिएका थिएनन् । तर एकदिन सरीताले आफ्नी साथीलाई रुँदै फोन गरिछन् “मेरो रमेशले मलाई धोका दियो ।”  अस्टेलिया बस्ने केटिसँग चिनजान भएको थियो भन्ने सुनाउने गरेको रहेछ । एकमहिना अघि सरीतालाई थाहै नदिई अस्टेलिया गएछ । साथिभाईको मुखबाट विभिन्न हल्लाहरु सुने पनि विश्वास नगरेकी उसलाई हिजो रमेशले नै फोन गरेर भनेछ- ” मेरो भर नपर्नु , सके आफ्नो सुर गर्नु ।”  यसमा पैसाका लागिे प्रेमलाई लत्याउने रमेशलाई के भन्ने ? ।।३।।

हिजो मात्रै एउटा समाचार आयो ५० वर्षिय पुरुषद्धारा आफ्नै घाँटि रेटि आत्महत्याको प्रयास । आमा र श्रीमति दुबै जनाको लामो समयदेखि उपचार गराउँदै आएको नीजलाई पछिल्लो समय उपचारमा आर्थिक समस्या आएपछि रिन खोज्दा कसैले नपत्याएपछि घर फर्केर आफ्नै घाँटि रेटेछन् । धारिलो हतियारले घाँटिको अगाडी पट्टी रेटेर ढलेपछि गाउँलेले देखेर उठाएछन् । पानि खुवाउँदा काटेको नलिबाट बाहिरै निस्किएछ । उपचारका लागि लाँदै गर्दा बाटैमा उनको मृत्यू भयो । यो समाचारमा मानिसहरुको कमेन्ट हेरे , लाछि हुतिहारा , यस्ताले मरेकै ठिक भन्नेहरु पनि देखियो । आखिर उसलाई मर्न बाध्य के ले पारेको हो त ? यस्तो अवस्था हाम्रो समाजमा अरुको पनि छ कि छैन ? र समस्या समाधानका लागि आत्महत्याको विकल्पहरु के के थिए त ? यसको उत्तर हरेकले सोच्नुपर्दछ । ।।४।।

अर्काे घटना , खाइनखाई गरेर साउदीमा पसिना बगाएर श्रीमतिको नाममा पैसा पठाएका पल्लो गाउँका श्रीलोचन घर फर्कदा न श्रीमति भेटे न त आफ्नो कमाइ नै । पठाएको सबै सम्पति लिएर उनि अन्तै गइछन् , कहाँ गइन कता गइन् भन्ने कुरा एक वर्ष बित्दा पनि उनले थाहा पाउन सकेका छैनन् । ।।५।।

बालाजु नजिकै म्हैपी बस्दा भेटिएका घरबेटि काठमाण्डौंका पुराना बासिन्दा हुन् । उनी बाउबाजे देखि कै सम्पति भएका धनाढ्य । उनीहरुको दुइभाई छोरा मात्रै थिए । दुबै छोराहरु पढेलेखेका । जेठा छोरा बुहारी दुबै डक्टर, अमेरीका गए , उतै सेटल भए । कान्छा छोरा पनि यु,के.को पठाई सकेर नेपालमै कार्यरत् थिए । सोहि समयमा उनले अन्तर्जातिय बिबाह गरे, मेडिकल लाइनकै केटिसँग । आफ्रनो विवाहमा दाजुको विवाहमा जस्तै गरि खर्च नगरेको र श्रीमतिलाई पनि भाउजुलाई भन्दा कम महत्व दिएको भन्दै झगडा गरिरहने उनी , एकदिन आफुलाई भनेजति अंश नदिए मुद्धामामिला नै गर्छु भन्दै बुढाबुढि आमाबाबुलाई धम्क्याउँदै घर र सामान तोडफोड गर्न थालेपछि बाबुले अंश दिए । सो अंश पाएर काठमाण्डौंकै अर्काे ठाउँतिर गई घर बनाई बसेका उनीहरु बाबुआमालाई भेट्नु त परै जावस् मरेबाँचेको समेत वास्ता नगर्ने गरेका छन् ।

”जेठाको परिवार अमेरीका , कान्छाको परिवार नेपालमै भएर पनि कहाँ के छ अत्तोपत्तो छैन । मेरा श्रीमान काम नै नहँुदा पनि घर बाहिरै मात्र समय बिताउँछन् । बिहे गरेर ल्याएदेखि अहिले सम्म माया के हो मलाई थाहा छैन । माइतिको भरमा छोराहरु हुर्काएँ । दोस्रो छोरा पेटमा आउँदा छोरी पाउँने लक्षण देखियो भन्दै आमाजु र श्रीमानले घरबाटै निकालेको सम्झिँदै उनी भन्छिन् धन्न छोरा जन्मियो , छोरी जन्माएको भए त उहिलै मार्थे मलाई । २०३६ सालमा आइ.ए. पास गरेकि उनलाई तैलै काम गर्ने होइन भन्दै कतै नपठाएको कारण कतै जाँदा अलमलिन्छु , केहि आफन्तको घर र माइतिघर भन्दा अन्त एक्लै जान ठाउँ नै चिन्दिन उनी भन्छिन् , सबैकुरा सहेर यो उमेरसम्म आउँदा मैले जीवनमा घर परिवारले गर्ने माया के हो अनुभव गर्न पाएकि छैन । मलाई के को लागि बाँच्नु भन्ने लाग्छ त्यसैले खाना खान पनि मन लाग्दैन नानी ” , उनी सुनाउँछिन् । ” पैसा नभए दुख हुन्छ भन्थे होइन रहेछ नानी माया नभए दुख हुने रहेछ” भन्छिन् उनी । ।।६।।

यि प्रतिनिधिमुलक घटनाहरुलाई हेर्दा सम्बन्धहरुमा मायाप्रेमको सट्टा पैसा हाबी भएको सजिलै देख्न सकिन्छ । पैसा भन्दा निकै माथिल्लो स्तरमा राखिनुपर्ने सम्बन्धहरु पैसासँग तुलना गर्दा त्यो सुखानुभति गर्न नपाइकनै जीन्दगिहरु तुहीरहेका छन् । अहिले आफ्नो वरिपरिका मानिसहरु र तिनिहरुको व्यवहार हेर्छु अनि मनमा लाग्छ । पहिले एक अर्का बिना बाँच्न गारो मान्ने मित्रता भएकाहरु पैसाका कारण टाढिएका छन् । र, पहिले मनमुटाव र शत्रुता भएकाहरु पैसा कै लागी जोडिएका छन् । घरघरमा प्रेम भन्दा माथि पैसाले राज गरिरहेको घटनाक्रमहरुलाई पनि नजिकबाट नियालिरहेकी छु । आखिर किन यति धेरै पैसा केन्द्रित हुँदै छ त समाज ? मुनामदनको जस्तो जोडि बन्ने सपना सजाएर दाम्पत्य जीवन बाँध्ने जोडिको बिचमा माया होइन नाफाघाटाको होडबाजी चलेको देखिन्छ ।

हाम्रो समाज यति धेरै पैसामुखी किन बन्दैछ । अझ भन्दा मायाप्रेमको सट्टा धोका र जालसाँझिले छपक्कै छोपेको छ । मायाप्रेम मा रहनु पर्ने श्रीमान श्रीमतिको बिचमा नाफा नोक्सानको हिसाब हेर्ने प्रवृत्ति मौलाउँदै जाँदा हाम्रो समाजका हरेक परिवारहरु भित्र वेचैनीका कथाहरु भेटिने गरेका छन् । मानिसहरु भित्र कुण्ठा , पिडा र बैमनस्यताहरु बढि भेट्ने गरिन्छ । यसको जड खोतल्ने हो भने त्यो पैसाकै कुरामा आएर जोडिएको हुन्छ । पैसालाई प्रमुख र पारिवारीक माया ममता लगायतलाई गौण मानिएको कारणले गर्दा हाम्रो समाजमा यस्ता घटनाहरु बढ्दै गइरहेका छन् । धन सम्पतिले मात्रै जीवनमा खुसि र सुख मिल्छ भन्ने चिन्तनको कारण परिवारभित्र एकले अर्काेलाई गर्ने मान मर्यादा, आदर सत्कारका कुराहरु सकिँदै गएका छन् । पैसाकै पछि लाग्ने कारणले गर्दा मानिसले आफुले लिन सक्ने जति खुसि लिएर जिउन सकिरहेको छैन ।

स्रोत र शक्तिको लालसामा मानिसहरुले आफ्नो मर्यादा बिर्सिरहेका छन् । जसका कारण मानिसले सम्पति त जोड्ला, कमाउला तर त्यो सम्पति उसले के को आशामा जम्मा गरेको हो त ? त्यसको उत्तर बेलैमा सोच्न नसक्दा मानिसले जीन्दगीमा वास्तविक सन्तुष्टि लिन नपाइकनै मृत्यूवरण गर्नु परेको छ । कतिपयले भन्लान् पैसा, धनसम्पति भएपछि त्यस्ता माया त जति पाइन्छ । तर, धन हेरेर जाडिने सम्बन्ध धन मै मात्र सिमित रहन्छ । अभाव र दुखमा जोडिएका सम्बन्धमा मायाप्रेम र भावनाहरु मिलेका हुन्छन् तर धनको लालसाले जोडिएको सम्बन्धबाट प्रेमको प्यास र आत्मिएता कहिल्यै पनि मेटिन सक्दैन । भनाई छ पैसा अस्पतालको शैया सम्म सात्र हो तर आफन्तहरु अन्तेष्टिसम्म । वा भनौं साँचो माया भएका सम्बन्धहरुमा आफन्त आर्यघाट सम्म मात्रै होइन मरिसकेपछि आफ्नो मानस्पटलमा सम्झना बोकिरहेका हुन्छन् । त्यो सम्झनामा व्यक्ति अमर रहिरहन्छ । आफुसँग भएका सम्बन्धलाई साँचो अर्थले बुझौं , एकअर्कालाई प्रेम गरौं र सम्बन्धहरुलाई नाफाघाटाको तुलोमा जोख्ने काम बन्द गरौं । जीन्दगीको बास्तविक आनन्द यहिं भेटिन्छ ।

 

२०७६ असोज २९ गते प्रकाशित

लेखक : सुनिता सिंखडा

           

 

Sunita Simkhada

feedback on:  [email protected]

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com