
जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै अवैध रुपमा लुकाईछिपाई राखेको अवस्थामा ३ थान हतियार र हतियार राख्ने पूर्व एमाओवादीका एसिएम ४५ वर्षिया रामप्रकाश डगौरा थारुलाई सार्वजनिक गरेको छ।
असोज ११ गते कैलाली जिल्लाको गदरिया गाविस वार्ड नं. ८ बनकन्द्री भन्ने स्थानबाट प्रकाश चौधरी उपनामले चिनिने रामप्रकाश डगौरा थारुलाई विषेश सूचनाको आधारमा अवैध हातहतियार राखेको भन्ने जानकारीको आधारमा सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समुह सेती र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको टोलीले निज रामप्रकाश डगौरा थारुको घर नजिकै प्लाष्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा दुईनाल बाह्वोर र एउटा ईटालियम पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले बताए।
नाताले मामाको छोरा पर्ने आफ्नै भाई रमेश चौधरीलाई भदौ २१ गते भएको थरुहटको आमसभामा जानका लागि टेक्टर नदिएको निहूमा कुटपिट गरेको र निज रमेशले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको आधारमा रामप्रकाश डगौरा थारुलाई पक्राउ गरि अनुसन्धान गर्दै जाँदा निजसंग अबैध हातहतियार रहेको तथ्य फेला पारेको प्रहरी नायब उपरिक्षक खड्काले बताए।
रामप्रकाश डगौरा थारुले गाउँमा वेलाबेलामा हातहतियार देखाई तर्साउने गरेको बताउँदै उनलाई सार्वजनिक अपराध तथा अवैध हातहतियार अन्तर्गत मुद्दा चलाईने प्रहरी नायब उपरीक्षक खड्काले बताए।
वि.सं.२०७२ असोज १४ बिहीवार १५:४९ मा प्रकाशित