
काठमाण्डौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण समितिले वैशाख १ गते प्रधानमन्त्रीबाट विमानस्थलको शिलान्यास गराउने निर्णय गरेको छ।
पोखरामा निर्माण हुने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास २०७३ वैशाख १ गते हुने भएको छ। विमानस्थल निर्माणका लागि चीनसँग ऋण सम्झौता भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १ गते विमानस्थलको शिलान्यास गर्न लागेका हुन्। नेपालले आगामी पाँच वर्षमा विमानस्थल निर्माणको काम सक्ने लक्ष्य राखेको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कर्जा सम्झौता भएको थियो। सम्झौताअनुसार क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ कर्जा उपलब्ध हुनेछ। कर्जा रकमको २५ प्रतिशत अर्थात सवा पाँच अर्ब रुपैयाँ नेपालले अनुदानस्वरुप पाउने छ। चिनियाँ बैंकले १।७ प्रतिशत ब्याजदरमा नेपाललाई ऋण दिन लागेको हो।
१८ चैत २०७२, १.००
वि.सं.२०७२ चैत १८ बिहीवार १४:०८ मा प्रकाशित