
काठमाडौँ । छिमेकी देशको सीमानामा टुरिजम बोर्डले भन्यो ‘चलिए पोखरा’ पश्चिमाञ्चल होटल एसोसियसन पोखराले टुरिजम बोर्डको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि चलिए पोखरा नामक कार्यक्रमको आयोजना गरेकोछ ।
तालहरुको शहर पोखरामा भारतीय पर्यटकहरुलाई भित्र्याउने उद्देश्यले भारतका चार शहरहरु कानपुर, लखनउ, बनारस र सुनौलीमा यो कार्यक्रम गरेको हो । गर्मी मौसमको सुरुवातसँगै भारतको तापक्रममा बृद्धि हुने हुँदा नजिकैको ठाउँ घुम्न चाहनेका लागि पोखरा अत्यन्त सुहाउने भएकाले र यात्राका लागि नजिक एवं सजिलो समेत भएकाले ती शहरहरुका पर्यटकलाई ध्यानमा राखेर यस्तो कार्यक्रम गरिएको बताइएकोछ ।
नेपाल टुरिजम बोर्डका उदय भट्टराई सहित २७ जनाका टोलीले मार्च २७ का दिन कानपुरबाट पाँच दिने सो अभियानको थालनी गरेको थियो । त्यस्तै भोलिपल्ट आयोजित लखनउको कार्यक्रममा उत्तर प्रदेशका तीन मन्त्रीहरुको पनि सहभागिता रहेको थियो जसले पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
सो क्रममा भारतका मिडिया एवं पयर्टक र स्थानीयहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको भ्रमण टोलीले जानकारी दिएकोछ । बैशाखमा गएको भूकम्पपछि थलिएको पर्यटन प्रवद्र्धन कार्यक्रममा उत्साहजनक सहभागिता रहेको र यसले भारतीय पर्यटक भित्र्याउन थप टेवा पुगेको पनि भ्रमणमा गएका व्यवसायीहरुले बताएका छन् ।
२२ चैत २०७२ / ५:२५
वि.सं.२०७२ चैत २२ सोमवार १७:४३ मा प्रकाशित