
काठमाडौ । जम्मु–काश्मिरको सीमा क्षेत्रको नियन्त्रण रेखामा भएको गोली हानाहानमा कम्तिमा १४ जनाको ज्यान गएको छ । भारत र पाकिस्तानले एकअर्कामाथि नियन्त्रण रेखामा गोली चलाएको आरोप लगाएका छन् । सीमा जोडिएको दुई क्षेत्रमा पाकिस्तानको तर्फबाट हानिएको गोली लागेर ८ जना नागरिकको ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
ज्यान जानेमा दुई बालबालिका पनि छन् । सांबाको रामगढ सेक्टरमा ६ जनाको ज्यान गएको तथा ९ जना घाइते भएको बताइएको छ । यस्तै पुंछ जिल्लाको नौशेरा सेक्टरमा दुई महिलाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन् ।
यस्तै पाकिस्तानले भारतको तर्फबाट भएको गोली प्रहारबाट आफ्ना ६ नागरिकको ज्यान गएको बताएको छ ।
अहिले पनि नियन्त्रण रेखा क्षेत्रमा दुवै तर्फबाट गोली हानाहान भइरहेको छ ।
काश्मिरको विषयलाई लिएर गएको तीन महिनादेखि भारत र पाकिस्तानबिचको तनाव उत्कर्षमा छ । गएको शुक्रबारदेखि अहिलेसम्म काश्मिरमा दुवै देशका गरी कम्तिमा २४ जनाको ज्यान गइसकेको छ । लगातारको संघर्षका कारण सीमा क्षेत्रका दुवै देशका नागरिक विस्थापित हुने क्रम पनि बढ्दै गएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १७
वि.सं.२०७३ कात्तिक १७ बुधवार ०६:४२ मा प्रकाशित