back
NMB ad

राजा हुन नसके पनि राज्यमन्त्री त भएँ नि !

Kumari bank ad

घरबाट बिद्रोह सुरु गरेर कम्युनिष्ट राजनीतिमा होमिएका बलबहादुर महतको जन्म २०१३ साल साउन ८ गते जुम्ला जिल्ला चन्दननाथ नगरपालिका (पहिलेको महत गाविस) वडा नं–८ महत गाउँमा भएको हो । उनको बुबा ६८ वर्षको हुँदा महतको जन्म भएको थियो । सम्पन्न परिवारमा जन्मिएका कारण जुम्लामा जन्मिए पनि उनीलाई बाल्यकालमा खान लगाउनको कुनै समस्या परेन ।

त्यतिखेर प्रायः जुम्लाबासीलाई खान पुग्दैनथ्यो

जतिबेला म जन्मिएको थिएं त्यतिखेर जुम्लामा खाद्यान्नको धेरै समस्या थियो । सरकारी खाद्यान्न आउँदैनथ्यो । सबै आफैं उत्पादन गरेर खानुपर्दथ्यो । उत्पादन गरेको खाद्यान्नबाट प्रायःजसो मानिसलाई खान पुग्दैनथ्यो । एकाध मानिसलाई मात्र खान पुग्दथ्यो । म खानपुग्ने परिवारको मानिस थिएँ । खान लाउन समस्या थिएन । मैले आईएसम्मको अध्ययन सकेको छु । कक्षा ८ र ९ काठमाडौको शान्ति बिद्या हाईस्कूल लैनचौरबाट गरेको गरेको हुँ । जुम्लाको चन्दननाथ माध्यमिक बिद्यालयबाट २०३१ सालमा एसएलसी उत्तीर्ण गरेको थिएं । आईए प्राईभेट दिएर उत्तीर्ण गरेको हुँ । त्यसपछि एचए (स्वास्थ्य सहायक) पढ्दै गर्दा आमा, बुबा बुबाको निधन भयो । एचएको पढाई छुट्यो ।

२०२६/२७ सालमा जुम्लामा भोकमरीहुँदा मानिसहरु कैंयौं छाक भोकै बस्थे, रुँदै आउँथे

२०२६/२७ सालमा जुम्लामा साह्रै भोकमरी पर्यो । मेरो घरमा खाद्यान्न प्रशस्त हुन्थ्यो । त्यतिखेर मानिससँग पैसा कम हुन्थ्यो । जिन्सी जिन्सीमा सामान खरिद बिक्री हुन्थ्यो । भाँडा, गलैंचा लिएर खाद्यान्न सँग साट्ने हुन्थ्यो ।

त्यो समयमा कतिपय घरमा खान नपुग्ने मानिसहरुसँग पैसा पनि हुँदैनथ्यो । राम्रो खालको भाँडा हुँदैनथ्यो । गलैंचा हुँदैनथ्यो । कपडाहरु केहि पनि हुँदैनथ्यो । त्यस्ता मानिसहरु कैंयौं छाक भोको बस्नुपर्ने अवस्था हुन्थ्यो । त्यस्ता मानिसहरु रुदै आउँथे । मेरो आमा साह्रै दयालु हुनुहुन्थ्यो । त्यस्ता गरिबलाई निशुल्करुपमा खाद्यान्न दिनुहुन्थ्यो । कैयौंलाई उधारो पनि दिनुहुन्थ्यो । मैले त्यो सबै देखेको थिएँ ।

आफुले खान लागेको रोटी दिदी बहिनीलाई….

कोहि दिदी बहिनी वा खान नपाएको महिला आए भने मेरो आमाले आफुले खान लागेको रोटीपनि उनीहरुको हातमा पारिदिनुहुन्थ्यो । त्यसपछि पानी दिएर, पानी पिउ नानी यसले केहि समय काम गर्छ । अहिले फेरी रोटी पकाउँछु । त्यसपछि खाउँला भनेर भन्नुहुन्थ्यो ।

१३ वर्षको कलिलो उमेरमै विवाह

आमाले गरिबप्रति दया गर्नुहुन्थ्यो । म १३ वर्षको हुँदा पढाई पनि विग्रियो । दाजुभाईको छुट्टाभिन्ना सँगै १३ वर्षेको उमेरमा मेरो विवाह भयो । खेतीपाती धेरै थियो । प्रत्येक खेतमा पानी लगाउन जानुपर्ने हुन्थ्यो । म कक्षामा पढ्न पनि जान्ने थिए । क कक्षामा सँधै प्रथम हुन्थे. । जब विवाह भयो, म सात कक्षामा सातौं स्थानमा आएँ । घरको खेतीपातीमा लाग्नुपर्ने त्यो काराणले पढाई कमजोर बन्यो ।

विवाह र घरको कामले पढाई बिगे्रपछि भागेर काठमाडौ

पढाई बिग्रेपछि म भागेर काठमाडौ जानुुपर्छ भन्ने भयो । म भागेर काठमाडौ गएपछि कक्षा ८ मा भर्ना गरें ।

२०२९ सालमा कम्युनिष्ट पार्टीको सदस्यता

एकजना नातेदार प्रेम कैदी हुनुहुन्थ्यो । काठमाडौमा उहाँसँगै ट्यूसन पढ्ने गर्थें । माक्र्सवादी शिक्षा लिन्थ्यौं । २०२९ साल असार २३ गते मन्जुश्रीको डाँडा उतापट्टि मन्दिर छ । त्यो मन्दिरमा निरञ्जन गोविन्द बैद्य सहितको एउटा भेला भयो । प्रेम कैदीले त्यहाँ पुर्याउनुभयो र त्यो दिन मलाई नेपाल कम्युनिष्ट पार्टीको सदस्यता दिलाउनुभयो ।

गरिबलाई मुक्ति गर्ने आमाको सपना साकार पार्न कम्युनिष्ट पार्टीको सदस्यता

अनि मैले कम्युनिजम बारेका किताबहरु प्रेम कैदीमार्फत प्राप्त गर्थें । कम्युनिष्ट सिद्धान्तका किताब अध्ययन गर्दै गएँ । मेरो आमाले घरमा गरिबलाई दया गर्नुहुन्थ्यो । कम्युनिष्टका किताब पढ्दै जाँदा गरिब मानिसलाई मुक्ति गर्ने सिद्धान्त भनेको कम्युनिष्ट सिद्धान्त रहेछ भन्ने लाग्यो । त्यसैले मैले मेरो आमाको सपना साकार पार्नुपर्छ भन्ने हिसाबले २०२९ साल असार २३ गते कम्युनिष्ट पार्टीको सदस्यता लिएँ ।

बुढी औंला काटेर रगत झिकेर छाप लगाएपछि कम्युनिष्ट पार्टीको सदस्यता

पहिले कम्युनिष्ट पार्टीको सदस्यता लिन आवेदन (एप्लिकेसन) दिनुपर्दथ्यो । त्यो एप्लिकेसनमा बुढी औंला काटेर रगत झिकेर त्यहाँ छाप लगाउनुपर्दथ्यो । त्यो रेकर्डअनुसार सदस्य भएको प्रमाणित हुन्थ्यो ।

कम्युनिष्टलाई पढाउन जुम्ला फर्किएँ

त्यसपछि ठमेलमा एउटा मिटिङ भयो । त्यो मिटिङपछि १० कक्षा पढ्न काठमाडौ नफर्कने जुम्लामै बस्ने निर्णय भयो । काठमाडौबाट मानिस पठाउने र जुम्लामा माक्र्सवादी अध्ययन गराई राख्ने कुरा भयो । पढाईका कोर्सका किताब माथि राखेर माक्र्सवादी किताब तल राखेर करिब १०÷१५ केजी किताबहरु लिएर म जुम्ला गएँ । जुम्ला गइसकेपछि मैले भक्तबहादुर रोकाय, कृष्णप्रसाद देवकोटा, तोयानाथ योगीलाई अध्ययन गराई राखेको थिएँ । त्यतिकैमा विश्वेश्वर प्रसाद हरामी, माधवप्रसाद शर्मा लगायत जुम्ला आई चन्दननाथ माध्यमिक बिद्यालयमा शिक्षक भईसक्नुभएछ । उहाँहरु नौं कक्षासम्म पढाउने म दश कक्षाको बिद्यार्थी थिएँ ।

कम्युनिष्ट भनेपछि सिधै गोली हानेर मारिदिन्थे

एकदिन भलिवल खेलेर सकिसकेपछि विश्वेश्वर प्रसाद हरामी सर म सँगै निस्कनुभयो । सँगै मेरो घरसम्म आईयो । उहाँले काठमाडौ मन्जुश्रीे, ठमेलको सबै कुरा गर्नुभयो । म पनि संगठन बनाउन आएको हुँ भन्नुभयो । त्यतिखेर कैंयौं सिआईडी हुन्थे । कम्युनिष्ट भन्ने बित्तिकै गोली हानेर मारिदिन्थे । कैंयौं यातना दिन्थे । मैले आफ्नो कुरा खोलिन । र कुनै ठमेल बैठक, मन्जुश्रीको डाँडा मलाई थाहा छैन भनिदिएँ । उहाँले विस्तृतमा सबै कुरा बताएपछि मैले ३ जना साथीहरुलाई अध्ययन गराईरहेको छु भन्ने जानकारी गराएँ । पछि उहाँलाई ट्यूसन पढाउने नाउँमा सम्पर्क गराईयो । समयक्रम सँगै एप्लिकेसन लिएर २०३० सालमा ४ जना भएर जुम्ला जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरियो । म त्यहाँको संस्थापक सचिव भएँ ।

पार्टीको वडा अध्यक्ष देखि मन्त्री सम्म

२०३५ सालसम्म नेपाल कम्युनिष्ट पार्टीमा रह्यौं । २०३५ सालमा नेपालगञ्ज पढ्न गएका डिल्ली महत घर आउनुभयो । उहाँ क्याम्पस पढ्दा प्रेम बहादुर सिंहसँग भेटघाट भएछ । रोहित दाईसँग पनि भेटघाट भएछ । मजदुर किसान संगठन बनाउने त्यसको विस्तार गर्न डिल्ली महत जुम्ला आईपुग्नुभयो । पुसको महिनामा २० जना साथीहरु कम्युनिष्ट पार्टीमा भईसकेका थियौं । सबैजना मिलेर नेपाल कम्युनिष्ट पार्टी नराख्ने भनेर मजदुर किसान संगठन नाम राख्ने र सबैसँग एप्लिकेशन लिने कुरा भयो । यो एप्लिकेसन कोहिले ३०, ३१ सालमा त मैले २९ सालमा लिइसके अब किन लिने भनें । मैले यसको अहिले आवश्यकता छैन भनें । उहाँहरुले विश्वेश्वरप्रसाद हरामी सर दाङमा थुनिनुभएपछि सबै जलाईदिनुभयो । रेकर्ड राख्न फेरी लिनुपर्यो भनेर फेरी एप्लिकेसन लिने काम भयो । मेरो एप्लिकेसन बनारस गईसककेको छ भनेर मैले एप्लिकेसन भरिन । । २०३५ बाट २०४७ सम्म मजदुर किसान संघमा काम गर्दै आयौं । २०४७ मा बिद्रोह गरेर नेकपा माले पार्टीलाई जुम्ला जिल्लामा स्थापना गर्यौं । २०४७ भदौ १२ गते संस्थापक सचिव बने । संगठन बनाउँदै गईयो । पार्टी एकिकृत भयो र एमालेमा काम गर्दै गए । एमालेबाट वडा अध्यक्ष गाविस अध्यक्ष हुँदै पार्टीको जिल्ला सचिव, अध्यक्ष, सभासद, साँसद र मन्त्री सम्म भएँ ।

घरमै बुबाको ऋणीको ३ भारी तमसुक र खाद्यान्नको रजिष्टरी पोलेर घरबाटै कम्युनिष्ट आन्दोलन छेडें

२०३० सालमा पार्टीको निर्णयअनुसार घर फर्कने कुरा भयो । म भर्खरकै सानै बच्चै थिएँ । प्रेम कैदी मेरो फुपुको नाति पर्छन् । २०२६ सालमा उनी एसएलसी दिन जुम्ला सेन्टर परेर मेरो घरमा आउनुभएको थियो । मेरो घरमा बसेर एसएलसी दिनुभयो । मेरो घरको बारेमा उहाँलाई सबै कुरा थाहा थियो । मेरो बुबा सम्पन्न व्यक्ति हुनुहुन्थ्यो । कैदीले बुबाको कैयौं ऋणीहरु छन् । कैंयौंलाई खाद्यान्न्न सापटी दिएकोे रजिष्टरी छ । कैंयौंको तमसुकहरु छ । त्यो सबै पोलिदिनुपर्छ । घरबाटै आन्दोलन सुरु गर्नुपर्छ अंकल ल तपाई जुम्ला गएर बाजेका सम्पूर्ण तमसुक र खाद्यान्नका रजिष्टरीहरु पोलिदिनुहोला । तपाई पनि कहलाउनुहुनेछ भनेर त्यहि सिकाएर पठाईदिए । अनि घर फर्केपछि बुबाले भन्नुभयो, ʽकाठमाडौ गएर पढेर आईस्, तँ २ वर्ष बसिस् छोरा । २ वर्षसम्म हामीले घरको जो जसलाई ऋण दिएको छ । ऋण असुली पनि भएको छैन । ब्याज पनि असुली छैन । एउटा भोटे घोडा ३७ सयमा किनेको छ, त्यो घोडा चढेर सबै ठाउँको ऋण असुल गरेर लेराईजो भन्नुभयो । ʼ। करिब ३ भारी जति तमसुक थिए होलान् । म सम्झन्छु करिब–करिब कर्णाली अञ्चल र जाजरकोट जिल्लासम्म ऋणिहरु र उनीहरुका तमसुक थिए । अहिले कुरा गर्ने हो भने अरबौंको हिसाब आउँछ । अनि मैले पनि कैदिले सिकाएअनुसार आन्दोलन घरबाट छेडेँ । ती सबै तमसुक बलिरहेको चुल्होमा हालिदिए । आगो दन्कीएर घरमै आगो लाग्ला जस्तो भयो । रजिस्टरहरु पनि च्यातेर पोलिदिएँ ।

बुबाले अगुल्टाले हानेको कालो दाग अझै छ

डाली भन्ने दाउरा हुन्थ्यो, बुबाले डाली दाउराको अगुल्टोले हान्नुभयो । त्यो अगुल्टोको दाग कालो दाग मेरो आँखाको एक साईडमा देख्न सकिन्छ । युवा अवस्थामा देखिन्थेन । अहिले बुढो अवस्था भएपछि यो देखिन्छ । कालो चिन्ह छ । त्यहि चिन्ह हो ।

बुबा बिरोधी हुनुभयो, म सँग नबोलेरै बित्नुभयो

मेरो घरमा चाँदीका सिक्काहरु सात गाग्री छ भनेर बुबाले भन्नुभएको थियो । त्यो पैसा राम्रोसँग चलाईस भने तँलाई जागीर खानुपर्दैन । तेरो नाति पलातीसम्म हुन्छ भनेर बुबाले भन्नुभएको थियो । तमसुक पोलेको दिनबाट बुबा म बिरोधी हुनुभयो । धुन्धुकारी छोरो जन्मियो भनेर म सँग राम्रो कुरा नगरेरै, ति चाँदीको सिक्का नदिएरै उहाँ बित्नुभयो । बाबुको अचल सम्पति खेतबारी त पाईयो । चल सम्पति बुबाले भन्नुभएको कुरा पनि पाईएन ।

बुबाको पैतृक सम्पति नपाउँदा अहिले पिडा हुन्छ

अहिले भने बुबाको पैतृक सम्पति नपाउँदा अलि पिडा हुन्छ । किनभने निर्वाचनमा लड्नुपर्ने बेला पैसाको आवश्यकता हुनेभयो । म संग पैसा छैन । सर्वहाराकराण हुँदै जाने भएपछि घरको सम्पति पनि फ्याँक्दै गाईयो । जम्मा गर्नेतिर त जाँदै गईएन । त्यतिखेर बुर्जुवा शिक्षा पढ्न पनि हुँदैन भनेर शिक्षा दिईयो । पढ्नमा पनि त्यति ध्यान दिईएन । जागीर पनि राजीनामा गरेर २०३६ सालको जनमत संग्रह भाषणमा लागियो । पार्टीको निर्णअनुसार जागीर पनि गयो ।

१६ वर्षमा १३ जागिर गरे

सरकारी वकिल कार्यालय राजीनिमा गरियो र जनमत संग्रहमा लागियो । १६ वर्षमा १३ जागिर गरेको छु । ३ दिने शिक्षक पनि बनेको छु, आठदिने लेखापाल पनि बनेको छु । एक महिने, २ महिने, ७ वर्षे पनि खाईयो । अन्य अस्थाई जागीर पनि खाईयो ।

म भन्दा जुनियर केटाको झोला बेकेर पार्टी निर्माणमा जुटीरहें

मलाई पार्टीमा ठिकै छ । ढिलै भएपनि पार्टीले हेरेकै हो भन्ने लाग्छ । मैले त २०७० प्रत्यक्षबाट उम्मेदवार बन्न खोजेको हो । पैसाकै कारण प्रत्यक्ष उम्मेदवार बन्न सकिन । २०४८ सालमा पनि टिकट पाएर त्याग गरेको हो । मैले पार्टीका लागि धेरै त्याग गरेको छु । मैले पद भनेर आफुले टाउको थापिन । र म भन्दा जुनियर केटाको झोला बेकेर पार्टी निर्माणकोक्रममा जुटीरहें । जहिले पनि पार्टी बनाउनुपर्छ । पदभन्दा पनि समाजवाद कसरी ल्याउने, कम्युनिष्टहरुको सत्ता कसरी ल्याउने, कम्युनिष्ट व्यवस्था कसरी ल्याउने ? कसरी कायम गर्ने । नेकपा एमालेले सत्ता कसरी लिने र गरिब जनतालाई कसरी मुक्ति दिलाउने ? गरिब जनतालाई सुबिधा कसरी उपलब्ध गराउने ? भन्ने सोचमा मात्रै रह्यो पदतिर मेरो ध्यान रहेन । म भन्दा जुनियर केटाको मैले जहिलेपनि झोला बोकिरहें ।

पार्टीले मूल्याङ्कन गर्यो राजा हुन नसकेपनि राज्य मन्त्री त भएँ

हामी गाउँ घरमा सानोमा खेल्दा राजा मन्त्री बनेर खेल्थ्यौं । अरु साथिहरु मन्त्री, सिपाहीको भुमिकामा हुन्थे, म जहिले पनि राजाको भमिकामा हुन्थेँ । त्यो बाल्यअवस्था थियो । पछि राजनीतिमा लागियो । यता पनि नेतृत्व तहमै रहेर काम गरियो । धेरैपटक त्याग तपस्या गरेर कम्युनिष्ट बनेर काम गरिरह्यो, सानातिना लोभमा फसेन भनेर पार्टीले मलाई समानुपातिकमा सभासद÷साँसद बनायो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिईयो । पार्टीप्रति सन्तुष्ट छु । म यो मानेमा ढुक्क छु कि इमान्दार, लगनशील, अनुशासित कार्यकर्ता भएपछि पार्टीले मूल्याङकन गर्दाेरहेछ भन्ने लागेको छ । जव मन्त्री भएँ तव ति दिन सम्झिएँ आखिर राजा हुन नसके पनि राज्यमन्त्री त भएँ नि !

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतसँग जुम्ला भ्रमणकाक्रममा गरिएको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ कार्तिक २०

वि.सं.२०७३ कात्तिक २० शनिवार १०:३४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...