
काठमाडौ । अमेरिकी राष्ट्रपति निर्वाचन परिणामले डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा विरासत जमाएपछि अन्तर्राष्ट्रिय सेयर बजार प्रभावित हुन थालेको छ ।
निर्वाचण परिणमसँगै एसियाली बजार राताम्य भएका छन् भने युरोपेली बजारमा मिश्रित प्रभाव परेको छ ।
छिमेकी भारतको सेयर बजार भने बजार खुलेदेखि नै ओरालो लागेको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार सेन्सेक्स र निफ्टीमा तीन प्रतिशत हाराहारीमा गिरावट आएको छ ।
भारतको सेयर बजार विदेशीलाई पनि खुला भएकाले ट्रम्पले ह्वाइट हाउसमा कब्जा जमाएपछि लगानीकर्ता निरुत्साही भएको अनुमान गरिएको छ ।
ट्रम्पको अन्तर्राष्ट्रिय नीति, अर्थतन्त्रसम्बन्धी भावी रणनीति अनि विदेशी लगानीकर्ताप्रतिको रवैया सकारात्मक नहुने धेरैको विश्लेषण रहेको छ । कारण लगानीकर्तामा निराशा छाएको बताईन्छ ।
जापानको सेयर बजार निक्की चार प्रतिशतभन्दा बढीले तल झरेको छ । यसैगरी, दक्षिण कोरिया, हङकङ, अष्ट्रेलियालगायतका सेयर बजार पनि बेस्सरी प्रभावित भएका छन् । यसको अलवा कतिपय युरोपेली मुलुकको सेयर, कमोडिटी बजारले भने ट्रम्पलाई स्वागत गरेका छन् ।
यसअघि सञ्चारमाध्यमहरूले हिलारीले चुनाव जित्ने पक्का भइसकेका समाचार सम्प्रेषण गर्दा कतिपय लगानीकर्ता यसअघि उत्साहित देखिन्थे ।
प्रकाशित मितिः २०७३ कार्तिक २४
वि.सं.२०७३ कात्तिक २४ बुधवार १४:१३ मा प्रकाशित