
म्याग्दी । म्याग्दीको नारच्याङ गाविस– १ मा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण कार्य सुरु भएको छ । रु पाँच अर्ब ६४ करोडको लागतमा रोवस्ट इनर्जी कम्पनीले निर्माण सुरु गरेको उक्त आयोजना आगामी सन् २०१८ को डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
एक सय ८० मिटर पहुँच मार्ग निर्माण सकेर मुख्य सुरुङको काम सुरु गरेको आयोजनाका प्रमुख इन्जिनियर दामोदर श्रेष्ठले जानकारी दिए । “छिट्टै बाँध र विद्युत्गृहको पूर्वाधार निर्माणको काम सुरु गर्ने तयारी भएको छ,” उनले भने ।
नारच्याङ बेसीदेखि निलगिरि र घलेम्दी खोलाको दोभानमा रहने बाँधसम्म नौ किलोमिटर सडक र तीन वटा बेलीब्रिज निर्माण भइसकेको छ । दुई हजार ३०० मिटर सुरुङबाट ल्याइने पानी तीन सय चार मिटरको हेडबाट नारच्याङ बेसीमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिनेछ ।
आयोजनाको लागि लगानी जुटिसकेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताए । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग रु ७० करोड, जलविद्युत् विकास कम्पनीसँग रु एक अर्ब र नेपाल बैंकसँग रु ५० करोड ऋण सम्झौता भइसकेको छ । यसैगरी नविल बैंकबाट रु एक अर्ब, लक्ष्मी बैंकबाट रु ४० करोड, सिद्धार्थ बैंकबाट रु ३० करोड र एस डेभलभमेन्ट बैंकबाट रु ३० करोड ऋण लगानीका लागि सम्झौता भएको बताइएको छ ।
मिस्त्रीखोलाले विसं २०६४ मा निर्माणका लागि अनुमति पाएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सव स्टेसन निर्माणमा ढिलाइ गर्दा सो आयोजना नौ वर्षपछि धकेलिएको हो ।
प्रकाशित मितिः २०७३ मंसिर १५
वि.सं.२०७३ मंसिर १५ बुधवार १७:२८ मा प्रकाशित