
ललितपुर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरानै संरचनामा आधारित भएर स्थानीय निकायको निर्वाचन गराउन तीन ठूला राजनीतिक दलबीच सहमति भएको बताएका छन् ।
नेपाल तरुण दल केन्द्रीय समितिद्वारा काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित तरुण दलका पदाधिकारीका लागि राखिएको प्रतिज्ञासभालाई सम्बोधन गर्दैै उनले संविधान कार्यान्वयनको सिलसिलामा पुरानै संरचनामा भए पनि स्थानीय निकायको निर्वाचन गराउन बाध्यता रहेको बताए । देश सङ्घीयतामा गइसकेकाले २०७४ माघ महिनासम्म स्थानीय, प्रान्तीय तथा केन्द्रीय तहको निर्वाचन गराउन आवश्यक रहेको उनको धारणा थियो ।
“संविधानको कार्यान्वयन गराउन काँग्रेसको काँधमा जिम्मेवारी आएको छ”– उनले भने । यसका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको उनले बताए । उनले मधेस र पहाडकाबीचमा खाडल नहोस् भनेर संविधान संशोधन प्रस्ताव ल्याएको बताए ।
प्रकाशित मितिः २०७३ मंसिर २८
वि.सं.२०७३ मंसिर २९ बुधवार ०१:३० मा प्रकाशित