
काठमाण्डौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि चलचित्र बन्ने भएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले पनि नायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने उक्त चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका छन् ।
४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने भएका छन् । त्यसवापत् ओलीलाई पारिश्रमिक समेत दिइने निर्देशक दाहालले बताए ।
दाहाल र शर्माले बिगत पाँच वर्षदेखि ओलीको रहन सहन, लवजवारे अध्ययन गरेको बताए । ‘हामीले पाँच वर्षदेखि उहाँको वारेमा अध्ययन गरिरहेका छौं ४५ वर्षको उमेरसम्मको अभिनय अनुपमजीले गर्नुहुन्छ,’ दाहालले भने ।
निर्देशक दाहालको भनाई अनुसार ओलीले १० दिन सुटिङ गर्नुपर्ने छ । उनको सबै सुटिङ काठमाडौंमै हुने छ । १० दिन सुटिङको लागि ओलीसँग समय मागेको जानकारी दिँदै दाहालले ओलीले सकारात्मक प्रतिक्रिया दिएको बताए ।
२९ मंसिर २०७३, अनलाईखबर, १२।००
वि.सं.२०७३ मंसिर २९ बुधवार १७:३९ मा प्रकाशित