
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले थानकोटदेखि चन्द्रागिरिको डाँडासम्म निर्माण गरेको चन्द्रागिरि केवलकारको औपचारिक शुभारम्भ भएको छ । गत साउन २४ गतेदेखि सञ्चालनमा आएको चन्द्रागिरि केवलकारको बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केवलकारको ताम्रपत्र अनावरण गरेर उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने प्रकृतिले हामीलाई धेरै चिज दिएको छ, सोच र इच्छाशक्तिका साथै त्यसमा विज्ञान, प्रविधि र पूँजी भयो भने नेपालमा छिट्टै चामत्कारिक विकास हुने भन्दै ‘चन्द्रागिरि हिल्स’ त्यसैको उदाहरण भएको बताए ।
कार्यक्रममा बन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले निजि क्षेत्रलाई सहयोग गर्न सरकार सदैव तयार रहेको बताए । अहिले विकास प्रति सकरात्मक चिन्तन हुनुपर्ने मन्त्री भण्डारीको भनाइ थियो ।
कार्यक्रमलाई सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी र विज्ञान तथा वातावरण मन्त्री जयदेव जोशीले सम्बोधन गरेका थिए ।
नेपालउ द्योग बाणिज्य महासंघकी कार्यबहाक अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्षडा.राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष शतिसकुमार मोरले पनि कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गरेका थिए । चन्द्रागिरि केवलकार निर्माता कम्पनी डोपलमेयरका प्रतिनिधि पिटर भोजलम्यानले चन्द्रागिरिको व्यावस्थापनले व्यवसायिक महत्व बुझेकै कारण समयमा काम सम्पन्न भएको धारणा राखेका थिए ।
कार्यक्रमका सभापति तथा चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा आउने विदेशी पर्यटकहरुको बसाई एक दिन लम्बाउन चन्द्रागिरि हिल्स सफलहँुदै गएकोले निजि क्षेत्रबाट संचालित यस्ता परियोजनाहरुमा सरकारको पूर्ण सहयोग प्राप्त भएमा नेपालको पर्यटन क्षेत्रलाई राष्ट्रको क्षमताअनुसार विस्तार गर्न त्यति कठिन नरहेको धारणा व्यक्त गरे ।
चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराज ढकालले चन्द्रागिरि केबलकार परियोजनाको परिचय प्रस्तुत गर्दै स्वागत गरेका थिए । संचालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरि डाँडाको धार्मिक महत्वको विषयमा प्रकाश पारेका थिए । संचालक मिनबहादुर गरुङले सफलताका लागि मेहनत आवश्यक पर्ने बताउँदै ठुलो मेहनतले चन्द्रागिरि परियोजना यो अवस्थासम्म आइपुगेको बताए ।
चन्द्रागिरि केवलकार निर्माण कम्पनी डोपलमेयरले कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई मायाको चिनो प्रदान गरेको थियो ।
चन्द्रागिरि केबलकारको प्राविधिकपक्ष
केबुलकार निर्माणमा विश्वविख्यात मानिने अष्ट्रियन ‘डोब्बलमेयर’ कम्पनीले चन्द्रागिरि केबलकार निर्माण गरेको हो । कूल २,४६० मिटर लम्बाई भएको यस केबलकारको मार्गमा ११ वटा टावर छन् । ५ देखि ३८ मिटरसम्मको उचाईंमा गाडिएका यी टावरहरु एक अर्कामा ३.३६ देखि ९२६.२७ मिटरदुरीको फरकमा छन् । यी लठामा कुद्ने कारलाई प्राविधिक भाषामा ‘गोण्डला’ भनिन्छ । यात्रु बोक्ने ३८ र समान बोक्ने ३ गरी कूल ४१ वटा यस्ता गोण्डलाले हरियाली चन्द्रागिरि पहाडको शोभा बढाएका छन् । एउटा केबुलकारले ८ जनासम्म यात्रु बोक्न सक्छ । प्रतिघण्टा एक हजार यात्रु क्षमता भएका केबुलकार चढेको ९ देखि १४ मिनेटको अवधिमा माथिल्लो स्टेशनमा पुग्छन् ।
३० मंसिर २०७३
वि.सं.२०७३ पुस १ शुक्रवार ०१:१७ मा प्रकाशित