
जर्मनको राजधानी बर्लिनमा क्रिसमसको बजार लागेको एक इलाकामा सोमबार अबेर राति भएको ट्रक आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । बर्लिनको मुटु मानिने यस स्थानमा भएको आक्रमणमा परी अन्य ५० जना घाइते भएका छन् ।
बर्लिनका आन्तरिक मामिला राज्यमन्त्रीले यो सुनियोजित आक्रमण भएको कैयौ आधार भेटिएको बताएका छन् । उक्त ट्रक आक्रमण कैसेर विल्हेल्म मेमोरिएल चर्चको बाहिरी इलाकामा रहेको प्रख्यात् क्रिसमस बजारमा भएको थियो ।
क्रिसमसको पूर्व सन्ध्यामा बनाइने परम्परागत मनोरञ्जनको रुपमा पर्यटक र स्थानीय बासिन्दाहरुले आनन्द लिइरहको बेला सो आक्रमण भएको हो । बर्लिनको प्रहरीले पोलिस नम्बर प्लेट भएको उक्त ट्रक पोल्यान्डबाट चोरेर ल्याएको हुन सक्ने अनुमान गरिएको र यसको अनुसन्धान जारी रहेको बताएको छ ।
यस आक्रमणको हालसम्म कुनै समूहले जिम्मा लिएको छैन् । तर यसअघि समूहलक्षित ट्रक आक्रमण इस्लामिक स्टेट (आइएस) र अल कायदा आतङककारी समूहले गराउँदै आएका छन् ।
प्रकाशित मितिः २०७३ पुस ५
वि.सं.२०७३ पुस ५ मंगलवार १५:२६ मा प्रकाशित