
काठमाडौ। मन्त्री, सांसद र सरकारी कर्मचारीहरुले नीजि कम्पनीका बिमान चढ्न नपाउने भएका छन् । बुधबार बसेको व्यवस्थापिका(संसद सार्वजनिक लेखा समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको छ ।
समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउन त्यस्तो व्यवस्था गर्न लागिएको समितिले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवको प्रस्तावमा समितिले यस्तो निर्णय गरेको हो । मन्त्री देवले भारतमा पनि सरकारी कर्मचारीलाई इण्डियन एयरलायन्स मात्रै प्रयोग गर्ने अनुमति रहेको बताउँदै नेपालमा पनि त्यस्तै व्यवस्थाका लागि समितिले निर्देशन दिनुपर्ने धारणा राखेका थिए । यो व्यवस्था कार्यान्वयनमा आएपछि मन्त्री सांसद र कर्मचारीले नेपाल वायु सेवा निगमको जहाज उड्ने गन्तव्यहरुमा नीजि कम्पनीका जहाज चढ्ने पाउने छैनन् ।
प्रकाशित मितिः२०७४ साउन २५
वि.सं.२०७४ साउन २५ बुधवार १४:१० मा प्रकाशित