
काठमाडौं । नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइनमा पहिलो पटक पठाइएको डिजेल अमलेखगन्जमा खसाइएको छ । शुक्रबार बिहान ९ बजे अमलेखगन्ज डिपोमा एक हजार लिटर डिजेल खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले जानकारी दिए ।
बुधबार भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो । इन्जिनियर पौडेलका आनुसार आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आईपुगेको थियो । पाइपलाइनबाट पानी खसिसकेपछि अहिले डिपोमा रहेको चार वटा ट्याङ्कीमा एक हजार लिटर डिजेल भरिदै गरिएको पौडेलले बताए ।‘एक हजार लिटर डिजेल ट्याङ्कीमा खसिसके पछि अहिलेलाई पाइप बन्द गरिन्छ,’ उनले भने, ‘पाइपलाइनको औपचारीक उद्घाटनपछि मात्रै व्यवसायिकरुपमा तेल आउन सुरु हुन्छ ।’
पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन । उद्घाटन नभएसम्मका लागि पाइपमा तेल भरीराख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली पनि यतिबेला अमलेखगन्जमा छ । नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल(भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो ।
तत्काल पाइपलाइन निर्माणका लागि तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच काठमाडौंमा सम्झौता भएको थियो । सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाईन निर्माण थाल्यो । निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो ।
पूर्वनिर्धारित समयभन्दा १५ महिना अगावै पाइपलाइन निर्माण सम्पन्न भएको छ । कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । उक्त पाइपलाइनमा ३६ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट तत्काल प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिने अमलेखगन्ज डिपो प्रमुख यादव बताउँछन् ।अमलेखगन्ज डिपोमा पेट्रोल राख्नका लागि ‘भर्टिकल’ नबनेका कारण तत्कालका लागि पाइपलाइनबाट डिजल मात्रै आयात गरिने आयल निगमले जनाएको छ ।
भारतको बरौनी डिपोबाट गुणस्तर प्रमाणित भएर पाइपमार्फत आएको तेलको अमलेखगन्जमा पुनः गुणस्तर परीक्षण गरेर मात्रै निगमले वितरण गर्ने यादवले जानकारी दिए । अनलाइनखबर
२०७६ साउन ३ गते प्रकाशित
वि.सं.२०७६ साउन ३ शुक्रवार १४:०३ मा प्रकाशित