back
NMB ad

भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा देवीप्रसाद ज्ञवाली चयन

Kumari bank ad

काठमाडौं । सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई घरघडेरी र खेतीपातीका लागि जग्गा उपलब्ध गराउन चितवनका नेता देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ मा जगत देउजा (सिन्धुपाल्चोक), भीमबहादुर कार्की (कास्की), मञ्जली शाक्य (ललितपुर) र दिनेशचन्द्र यादव (बाँके) सदस्य रहनुभएको छ । आयोगमा सात प्रदेश सरकारले तोकेका एक एक जना सदस्य रहने व्यवस्था छ ।

प्रदेश सरकारले तोकेको व्यक्ति भने सम्बन्धित प्रदेशका लागि मात्र सदस्य रहने व्यवस्था गठन आदेशमा छ । प्रदेश सरकारहरूले सदस्य तोक्न बाँकी छ । गठन आदेशमा आयोगमा केन्द्र सरकारले तोकेको सहसचिव सदस्यसचिव रहने व्यवस्था छ । सरकारले आयोगको सदस्यसचिव तोकिसकेको छैन ।

अध्यक्ष ज्ञवाली भरतपुर महानगरपालिकामा मेयर पदमा रेणु दाहालसित पराजित तत्कालीन एमालेका उम्मेदवार तथा नेकपा केन्द्रीय सदस्य हुनुहुन्छ । देउजा यसअघि अतिक्रमित जग्गा छानबिन आयोग र सुकुम्वासी आयोगको सदस्य रहिसकेका भूमि मामिलाका जानकार हुनुहुन्छ भने यादव पूर्वमन्त्री तथा नेकपाका नेता हुनुहुन्छ ।

कार्की र शाक्य सत्तारूढ नेकपाका जिल्लास्तरीय नेता हुन् । सरकारले आयोगलाई देशभर जग्गा खोजेर भूमिहीन र अव्यवस्थितलाई उपलब्ध गराउन तीन वर्षको समय दिएको छ । भूमिसम्बन्धी ऐन (आठौं संशोधन) २०७६ अनुसार गठन आदेश जारी गरी आयोग बनाइएको हो ।

गठन आदेशमा आयोगले भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोवासीलाई जग्गा बाँड्नेसम्बन्धी कामको टीओआर (कार्य सर्त) तोकिएको छ । सरकारले मंगलबार राजपत्रमा भूमि समस्यासम्बन्धी गठन आदेश जारी गरेको छ । व्यक्ति र कम्पनीका नाममा रहेको हदबन्दीभन्दा बढी जग्गासमेत आयोगले भूमि ऐनबमोजिम सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई बाँड्न सक्ने व्यवस्था गठन आदेशमा छ ।

आयोगले सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि बाँड्न सकिने देशभरको जग्गाको लगत संकलन तथा वितरण स्थानीय तहहरूमार्फत गर्ने र स्थानीय विशिष्टताका आधारमा सहरी क्षेत्रमा सामूहिक आवासको विकास गर्न सक्नेसमेत गठन आदेशमा उल्लेख छ ।

मुलुकमा १४ देखि १६ लाख परिवार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी रहेको अनुमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको छ ।भूमिसम्बन्धी ऐन (आठौं संशोधन) २०७६ बमोजिम सरकारले आयोगको मातहतमा ७७ वटै जिल्लामा जिल्ला समिति गठन गर्नेछ । सरकारले सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न गठन गरेको यो पन्ध्रौं आयोग हो ।

यसअघि १४ वटा आयोग गठन हुँदा पनि समाधान हुन नसकेको समस्या यस पटक टुंग्याउने सरकारको योजना छ । मन्त्रालयका अनुसार केन्द्रमा आयोगको अध्यक्षलाई राज्यमन्त्री र सदस्यलाई विशिष्ट श्रेणी (सचिव) को तलब भत्ता, गाडी, इन्धनलगायतको सुविधा दिइने छ ।

जिल्लामा एक जना संयोजक र ६ सदस्य रहेको समिति गठन हुनेछ । आयोगको सिफरिसमा सरकारले ७७ जिल्ला समितिमा संयोजक र दुई सदस्य मनोनयन गर्नेछ भने बाँकी तीन सदस्य जिल्ला भूमिसुधार, नापी र वन कार्यालयका प्रमुख तथा र सदस्यसचिव भने जिल्ला समन्वय समितिका सचिव रहने व्यवस्थासमेत गठन आदेशमा गरिएको छ ।

७७ जिल्ला संयोजकले सहसचिव र सदस्यले शाखा अधिकृतसरहको तलब सुविधा पाउनेछन । जिल्ला संयोजकलाई गाडी, इन्धनलगायतको सुविधासमेत दिइनेछ । आयोगको केन्द्रीय र जिल्ला समितिमा काम गर्ने कर्मचारीहरूलाई मासिक तलबको ५० प्रतिशत अतिरिक्त सुविधा दिइनेसमेत गठन आदेशमा उल्लेख छ ।

आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्रतिपरिवार घरघडेरीका लागि सहरी क्षेत्रमा ६ आना, तराईमा १ कट्ठा, पहाडमा १० आना, हिमाली क्षेत्रमा एक रोपनीमा नबढ्ने गरी जग्गा दिने तयारी गरेको जानकारी स्रोतले दिएको छ ।

स्रोतका अनुसार भूमिहीन सुकुम्बासीलाई खेतीपातीका लागि प्रतिपरिवार तराईमा ६ कट्ठा, पहाडमा पाँच रोपनी र हिमाली क्षेत्रमा सात रोपनीमा नबढ्ने गरी जग्गा दिइनेछ ।

ऐलानी (सार्वजनिक) जग्गामा बसोवास गर्दै आएका अव्यवस्थित बसोवासीले घरघडेरीका लागि सहरी क्षेत्र, तराई, पहाड र हिमालमा भूमिहीन सुकुम्बासीसरह तोकिएको जग्गा निःशुल्क पाउनेछन ।

ऐलानी जग्गामा खेतीपातीसमेत गर्दै आएका अव्यवस्थित बसोवासीले भने बढीमा डेढ बिघासम्म जग्गा दिने तयारी मन्त्रालयले गरेको छ । तर त्यस्ता अव्यवस्थित बसोवासीले पाउने डेढ बिघासम्मको जग्गाको मूल्य भने सरकारले तोकेअनुसार तिर्नुपर्नेछ ।

आयोगले मुलुकभर रहेका सार्वजनिक जग्गा र बुट्यान जंगलको क्षेत्र भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बाँड्ने व्यवस्था गठन आदेशमा गरिएको छ । गठन आदेशमा जग्गा बाँडफाँटमा स्थानीय तहलाई समेत सीमित अधिकार दिइएको छ ।

हरेक स्थानीय तहले आयोग र जिल्ला समितिसितको समन्वयमा आफ्नो पालिकाभित्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी पहिचान गर्न सहयोग र्पुयाउने र तिनलाई जग्गाको लालपुर्जासमेत बाँड्ने अधिकार गठन आदेशले दिएको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार ११:४९ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...