काठमाडौं । नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार गरेसँगै नेपाल–चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ ।
दुई देश बीचको लामो सम्बन्ध पाँचौँ शताब्दीदेखि विकसित हुँदै अगाडि बढेको हो । दुई देश बीचको सम्बन्ध मित्रता, समझदारी, आपसी समर्थनसँगै शान्ति सह–अस्तित्वका सिद्धान्तको आदर्शमा अटल विश्वास राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जस अनुसार नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ ।
चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले नेपाल–चीन सम्बन्ध मात्र ६५ वर्षको होइन कूटनीतिक सम्बन्धको हिसाबले करिब १४ सय वर्षअघि देखिको हाम्रो सम्बन्ध हो भने।
चिनियाँ भिक्षु फा सियानकोे यात्राले जनस्तरको सम्बन्ध त्यतिबेलै थियो भन्ने पुष्टि गर्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनी भ्रमण गरेको क्षण अझै अभूतपूर्व मानिन्छ ।
१३औँ शताब्दीमा नेपालका कलाकार अरनिको सहितको टोलीले चीनमा नेपालको कला संस्कृतिको प्रचार गरे । नेपाल तथा चीनबीच ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास रहेको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई बताउँछन् ।
नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर सिमाना जोडिएको छ । व्यापारिक सम्बन्धतर्फ सन् १८५६ को थापाथली सन्धिअघि ल्हासामा नेपालका वकिल बस्थे । पछि तिब्बत चीनको स्वशासित क्षेत्र भएपछि सन् १९५६ मा तिब्बत सन्धि नेपालसँग भयो । त्यस पश्चात् तिब्बतमा नेपालको महावाणिज्य दूत रहन थालेको हो ।
आधुनिक सम्बन्ध भूराजनीतिले दर्शाएको सम्बन्ध रहेको पूर्वराजदूत कार्कीको धारणा छ । नेपाल र चीनको सम्बन्धलाई इतिहासको एउटा सुखद र असल पक्षका रूपमा लिइन्छ ।
चीनसँग रोटीबेटीको पुरानो सम्बन्ध छ । सातौं शताब्दीमा लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसँग हुनु एउटा उदाहरण मानिन्छ ।
गएका ६५ वर्षको सम्बन्ध पञ्चशीलको सिद्धान्तका आधारमा रह्यो । अहिले सबैसँग मित्रता, कसैसँग पनि शत्रुता नराख्ने थप नीति तय गरिएको छ । त्यो सिद्धान्तको अक्षर र भावनामा दुवै मुलुक खरो उत्रिएको पूर्वराजदूत कार्की टिप्पणी गर्छन् । यस अवधिमा नेपालले चीनलाई सक्दो मद्दत गरेको र चीनले पनि नेपालको हितमा मद्दत गर्दै आएको छ । द्विपक्षीय कूटनीतिक सम्बन्धमा मैत्रीभावसँगै समान हैसियतलाई मुख्य रूपमा प्राथमिकता दिन थालिएको पूर्वराजदूत कार्की बताउँछन् ।
सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले चीन भ्रमण गरेपछि दुई देशको सम्बन्धलाई पुनर्परिभाषित गरिएको दाबी कार्कीको छ । सन् २०१५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि जे–जति सन्धि, सम्झौता र समझदारी चीनसँग गरियो त्यसले नेपाल–चीन सम्बन्धलाई नयाँ युगमा रूपान्तरण गरेको उनको ठम्याइ छ ।
दुई देशबीच भएका दुई सम्झौताले नेपाल र चीन बीचको रणनीतिक सम्बन्धमा विशेष महत्व राख्ने उनको धारणा छ । पहिलो यातायात तथा पारवहन सन्धि र अर्को ट्रान्स हिमालयन परियोजना अन्तर्गत नेपालमा रेल्वे सेवा प्रसारण गर्ने सम्झौता हो । अर्कोतर्फ सन् २०१० पछि आएको ठूलो परिवर्तन भनेको चीनले नेपाललाई हेर्ने नयाँ दृष्टिकोण हो । चीन दोस्रो विश्वशक्ति भएको हैसियतले अबको सहयोग हिजोको सीमाभन्दा माथि पुगेको छ ।
नेपालको भावी आर्थिक, सामाजिक विकासका लागि यो सुखद पक्ष हो । नेपाल–चीन बीचको सुमधुर र असल छिमेकी सम्बन्धमा एक अर्काबीच भएका प्रतिबद्धता कार्यान्वयनबाट नै देशव्यापी सम्बन्धको प्रतिफल हासिल हुने विश्वास उनको छ ।
सन् १९५२ मा चीनको कुल ग्रार्हस्थ्य उत्पादन करिब ३० अर्ब अमेरिकी डलर मात्र थियो । सन् २०१८ मा अत्यधिक वृद्धि हासिल गर्दै १३६ खर्ब १० अर्ब ग्रार्हस्थ्य उत्पादन पुग्यो । यो बीचमा करिब ७७ करोड जनसङ्ख्या गरिबीको रेखा मुनिबाट निकाल्न सफल बन्यो । विदेशी मुद्रा सञ्चिति, सञ्चार सञ्जाल, आधुनिक आणविक शक्ति, क्वान्टम साइन्स तथा सुपर कम्प्युटर निर्माणमा चीन अघि छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा राष्ट्रपति सी चिनफिङको समन्यायिक आर्थिक विकासको महत्व बढेको छ । नेपाल र चीनका राष्ट्रपति, प्रधानमन्त्रीको उच्च स्तरीय भ्रमणपछि सम्बन्धको पुनर्ताजगीसँगै हिमालयन सीमापार, बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) लगायतका परियोजना अन्तर्गत व्यापार बन्दरगाह, बहुपक्षीय सम्पर्क सञ्जालमा सहकार्य अगाडि बढेको छ ।
चीन नेपालको दोस्रो ठूलो साझेदार हो । त्यसैले प्राथमिकता तोकेर आर्थिक तथा सामाजिक विकासमा सहकार्य गर्नुपर्नेमा पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई जोड दिनुहुन्छ । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छिन् ।
वि.सं.२०७७ साउन १७ शनिवार ०८:०० मा प्रकाशित